काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानको मर्म र भावनाअनुरुप कायम गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस, केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुनसरीको लौकहीमा सम्पन्न कोशी प्रदेश भेलाले २८ बुँदे संकल्प गर्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
शुक्रबार र शनिबार कोशी प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि तथा पार्टीका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका नेतृत्वबीचमा विषयगत छलफल र विस्तृत अन्तरक्रियाकोे आधारमा कांग्रेसले २८ संकल्प गरेको छ । जसको ३ नं बुँदामा विधिको शासन शीर्षक अन्तर्गत कांग्रेसले भनेको छ, ‘विधिमा टेकेर मात्र निर्णयहरू गर्ने मान्यतामा दृढ रहँदै, संघीय सरकारलाई संविधानको मर्म र भावना, विधि प्रक्रिया, नागरिकको आत्मसम्मानलाई केन्द्रमा राखेर कार्य गर्न ध्यानाकर्षण गराउने ।’
त्यस्तै, कांग्रेसले प्रदेश सभाले प्रदेशको नामकरण गरे पश्चात् उत्पन्न प्रतिक्रिया र भावनालाई सर्वपक्षीय सहभागितामा खुला संवाद मार्फत सम्बोधन गरेर अघि बढ्नुपर्ने भन्दै त्यसका लागि आवश्यक पहल गर्ने संकल्प पनि गरेको छ । प्रदेश सभाको बहुमतले कोशी प्रदेश नामकरण गरेपनि उक्त नाम परिवर्तन हुनुपर्ने भन्दै कोशी प्रदेशका विशेषगरी आदिवासी जनजाती बहुमल पहाडी क्षेत्रमा विरोध भएको थियो । कांग्रेस कोशी प्रदेश भेलाले नामकरणको बहसलाई पुनः खुला गरेको छ ।
त्यस्तै, कांग्रेसले पार्टीको नेतृत्वमा रहेको प्रदेश र स्थानीय सरकार संविधानप्रदत्त नागरिक स्वतन्त्रता, हक र अधिकारलाई संरक्षण गर्दै नागरिकमुखी नीतिमार्फत उत्तरदायी र जवाफदेही सरकारको रूपमा थप प्रभावकारी ढंगले कार्य गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
कांग्रेसले भूमिहीन दलित र सुकुम्वासीलाई सामाजिक न्याय र समावेशीकरणको सिद्धान्त बमोजिम सुरक्षित स्थानमा सम्मानजनक पुनस्र्थापना गरी सुकुम्वासीमुक्त स्थानीय तह बनाउने पनि संकल्प गरेको छ ।
‘प्रदेश सरकारको संरचनात्मक रूपान्तरण र व्यवस्थापकीय सुधार गर्न अनावश्यक संरचना खारेज वा समायोजन गरी स्थानीय सरकारबाट गर्न सकिने कार्य स्थानीय सरकारसँगको साझेदारीमार्फत गर्ने,’ कांग्रेसको निर्णय छ । त्यस्तै, भेलाले पार्टी संगठनलाई सुदृढ गर्न र क्रियाशील सदस्यहरूको डिजिटल अभिलेख राख्न ‘जरा अभियान‘ लाई तीव्रता दिने पनि निर्णय गरेको छ ।
कृषि क्षेत्रमा रैथाने उत्पादनलाई बढावा दिन अलैंची, चिया, अदुवा, एभोकाडो, कागती र स्याउ जस्ता नगदे बालीका लागि एकीकृत कृषि जोन स्थापना गर्ने र किसानको उत्पादन बजारसम्म पु¥याउन कृषि एम्बुलेन्स सञ्चालन गर्ने योजना अघि सारिएको छ । पर्यटनतर्फ वराहक्षेत्र, पाथीभरा र हलेसी धामलाई जोडेर आध्यात्मिक पर्यटन पथको विकास गर्ने र कोशी नदीमा आन्तरिक जलमार्ग सञ्चालनको अध्ययन गरी पारवहनसँग जोड्ने संकल्प प्रस्तावमा उल्लेख छ ।
कोशी राजमार्ग जोगबनी–किमाथांकालाई तीव्र गतिमा सम्पन्न गर्न र विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्न संघीय सरकारसँग लबिइङ गर्ने कांग्रेसको योजना छ । पार्टी र सरकारबीचको दूरी कम गर्न पार्टी–सरकार समन्वय संयन्त्र तत्काल गठन गरी हरेक महिना नियमित संवाद गर्ने परिपाटी बसाल्ने र पार्टीले परिकल्पना गरेको समुन्नत नेपालको मुख्य आधार नै गाउँ र नगरको समुन्नति भएको भन्दै कांग्रेसले यो संकल्पमार्फत आफ्ना जनप्रतिनिधिहरूलाई नागरिकमैत्री, सुशासनयुक्त र परिणाममुखी बन्न निर्देशन समेत दिएको छ ।
‘भदौ २४ को घटना ढाकछोप स्वीकार्य हुँदैन’
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति गगन थापाले भदौं २४ गते भएको घटनाको ढाकछोप गर्ने सरकारको प्रयास कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् । कोशी प्रदेशमा आयोजित पार्टीको कोशी प्रदेश भेलामा पुगेका थापा शनिबार विराटनगरस्थित कोइराला निवास पुगेका थिए । कोइराला निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति थापाले भाद्र २४ गतेको विध्वंसको छानबिन नगर्ने र घटनाको ढाकछोप गर्ने सरकारको प्रयास स्वीकार्य नहुने बताएका छन् ।
उनले सरकारले आफंैले गरेको प्रतिबद्धता अनुसार भदौं २४ गतेको विध्वंसको छानबिन गर्न न्यायिक आयोग गठन गर्न माग समेत गरे । भाद्र २३ र २४ गतेको घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताउँदै थापाले प्रतिवेदन अनुसार दोषीलाई कारवाही हुनुपर्ने बताए । भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, संसद भवनसहितका महत्वपूर्ण संरचनाहरुमा आगजनी भएको थियो । जेनजी आन्दोलनबारे अध्ययन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन भदौ २३ मा बढी केन्द्रीत छ । भदौ २४ को घटनाबारे आयोगको प्रतिवेदन मौन रहेको भन्दै कांग्रेसले यसअघि नै प्रश्न उठाइसकेको छ ।