नेभिगेशन
राजनीति

प्रधानमन्त्री नजाने, लामिछाने दलबलसहित भारत जाने

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाह अहिले कुनै पनि देशको भ्रमणमा जाने तयारीमा नरहेको बताएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै प्रवक्ता पोखरेलले सञ्चारकर्मीको प्रश्नमा यस्तो बताएका हुन् । 
प्रधानमन्त्रीको अहिलेको मुख्य प्राथमिकता सरकारको कार्यसम्पादनमा केन्द्रित हुनु रहेको भन्दै प्रवक्ता पोखरेलले प्रधानमन्त्रीले अहिले कुनै पनि देशको भ्रमण गर्ने सोच नबनाएको बताए । ‘प्रधानमन्त्रीज्यू अहिले भारत मात्र होइन, अन्य कुनै पनि देशको भ्रमणमा जाने तयारीमा हुनुहुन्न । हामी अहिले सरकारको सुरूआती १०० दिनको कार्ययोजना र लक्ष्यमा बढी केन्द्रित छौं,’ उनले भने । 
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भ्रमण निजी वा पार्टीगत हुन सक्ने भन्दै उनले प्रधानमन्त्रीसँग कुनै सम्बन्ध नरहेको प्रष्ट पारे । 
जेठ १८ मा रवि भारत जाने 
सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने जेठ १८ गते  भारत भ्रमणमा जाँदै छन् । लामिछाने भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नवीनको औपचारिक निम्तोमा भारतको तीन दिने भ्रमणमा जान लागेका हुन् । लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा रहने रास्वपाले जनाएको छ । 
पार्टीको नेतृत्वमा सरकार बने पनि रास्वपा सभापति लामिछानेको पहिलो विदेश भ्रमणलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्