लण्डन । ब्रिटेनको सञ्चार नियामक संस्था अफकमले टिकटक र युट्युबको आलोचना गर्दै नयाँ प्रतिवेदनमा ती प्लेटफर्मका कन्टेन्ट फिडहरू बालबालिकाका लागि ‘पर्याप्त सुरक्षित नभएको’ जनाएको छ ।
यो निष्कर्ष बालबालिकाको अनलाइन सुरक्षाका लागि कडा कदम चाल्न अफकमले गरेको आग्रहपछि आएको हो । प्रतिवेदनअनुसार मेटा, स्न्याप र रोब्लक्सले भने बालबालिकामाथि हुने ‘ग्रुमिङ’ रोक्न थप सुरक्षा उपाय लागू गर्न सहमति जनाएका छन् ।
अफकमले न्यूनतम उमेरसम्बन्धी नियम प्रभावकारी रूपमा लागू नगरेको विषयमा आफ्ना चिन्ता सरकारसमक्ष राख्ने पनि जनाएको छ । हाल बेलायत सरकार १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विषयमा परामर्श प्रक्रियामा छ । यो चाँडै समाप्त हुँदैछ ।
युट्युबले आफूहरूले बाल सुरक्षा विज्ञहरूसँग मिलेर बालबालिकाका लागि ‘उद्योगकै अग्रणी र उमेरअनुकूल’ अनुभव प्रदान गरिरहेको जनाएको छ । टिकटकले भने अफकमले आफ्ना सुरक्षा सुविधाहरूलाई बेवास्ता गरेको भन्दै ‘अत्यन्त निराशाजनक’ प्रतिक्रिया दिएको छ ।
अफकमको आलोचना पाँच ठूला सामाजिक सञ्जाल तथा भिडियो प्लेटफर्महरूले बालबालिकाको सुरक्षासम्बन्धी निर्देशनप्रति कस्तो प्रतिक्रिया दिएका छन् भन्ने विषयमा तयार पारिएको नयाँ प्रतिवेदनको हिस्सा हो ।
प्रतिवेदनमा भनिएको छ, ‘विशेषगरी टिकटक र युट्युबले बालबालिकालाई हानिकारक सामग्री देखिन नदिने दिशामा कुनै महत्वपूर्ण परिवर्तन गर्ने प्रतिबद्धता जनाएनन् । उनीहरूले आफ्ना फिडहरू पहिले नै सुरक्षित रहेको दाबी गरिरहे ।’
‘तर आज सार्वजनिक गरिएका प्रमाणहरूले ती अझै पर्याप्त सुरक्षित नरहेको देखाउँछन्,’ अफकमले भनेको छ ।
यसको जवाफमा टिकटक र युट्युबले आफ्ना एपमा पहिलेदेखि रहेका सुरक्षा सुविधाहरूको चर्चा गरेका छन् । टिकटकले १६ वर्षमुनिका प्रयोगकर्ताका लागि प्रत्यक्ष सन्देश (डाइरेक्ट म्यासेजिङ) बन्द गरेको छ भने युट्युबले ‘शट्र्स’ स्क्रोलिङका लागि समय सीमा निर्धारण गर्न सकिने सुविधा दिएको जनाएको छ ।
सामाजिक सञ्जाल विश्लेषक म्याट नाभाराले यो आलोचनाले अनलाइन हानिलाई अब ‘उत्पादनको समस्या’का रूपमा हेरिन थालेको संकेत गरेको बताए ।
उनले भने, ‘पहिलेको बहस ‘प्लेटफर्मले हानिकारक सामग्री छिटो हटायो कि हटाएन?’ भन्ने थियो । अब प्रश्न बदलिएको छ — ‘त्यस्तो सामग्री सुरुमा बालबालिकालाई किन देखाइयो?’
अफकममाथि बेलायतका अनलाइन सुरक्षा नियम लागू गर्न अझ छिटो र कडा कदम चाल्नुपर्ने दबाब लगातार रहँदै आएको छ । केही आलोचकहरूले उसले पर्याप्त तीव्र गतिमा काम नगरेको आरोप लगाएका छन् ।
बीबीसीको ‘टुडे’ कार्यक्रममा बोल्दै अफकमकी प्रमुख कार्यकारी डेम मेलानी डजले आफ्नो संस्थाको कदमको बचाउ गरिन्, तर काम अझै पूरा नभएको स्वीकारिन् । उनले भनिन्, ‘हामी सिलिकन भ्यालीको २० वर्ष लामो यस्तो संस्कृतिबारे कुरा गर्दैछौं, जहाँ सुरक्षालाई गम्भीर रूपमा लिइएन । यो एकै रातमा बदल्न सकिँदैन ।’
यदि प्लेटफर्महरूले नियम पालना नगरे के हुन्छ भन्ने प्रश्नमा उनले अफकम ‘सबैभन्दा कडा कार्यान्वयन कदम चाल्न तयार’ रहेको बताइन् ।
‘आवश्यक परे हामी औपचारिक अनुसन्धान सुरु गर्न बिल्कुल तयार छौं,’ उनले थपिन् ।
प्रतिवेदन सार्वजनिक हुनुअघि जारी गरिएको अर्को वक्तव्यमा डजले कम्पनीहरूले उमेर नपुगेका बालबालिकालाई आफ्ना प्लेटफर्मबाट टाढा राख्न अझै आवश्यक कदम नचालेको भन्दै ‘गहिरो चिन्ता’ व्यक्त गरेकी थिइन् ।
नियामकको सर्वेक्षणअनुसार आठदेखि १२ वर्ष उमेरका ८४ प्रतिशत बालबालिकाले कम्तीमा एउटा यस्तो प्रमुख सेवा प्रयोग गरिरहेका छन्, जसको न्यूनतम उमेर सीमा १३ वर्ष छ । अफकमले यस विषयमा अझ कडा कानुन आवश्यक पर्न सक्ने चेतावनी पनि दिएको छ ।
अनलाइन सुरक्षा अनुसन्धानकर्ता प्राध्यापक भिक्टोरिया बेन्सले यो निष्कर्ष ‘अचम्मको नभएको’ बताइन् । उनका अनुसार अष्ट्रेलियामा लागू गरिएको सामाजिक सञ्जाल प्रतिबन्धपछि पनि १६ वर्षमुनिका खाताहरू हटाउने प्रयास सीमित रूपमा मात्र सफल भएका छन् ।
उनले भनिन्, ‘सायद केही प्लेटफर्महरूले प्रयोगकर्ताले के हेरिरहेका छन्, कस्तो सामग्रीसँग संलग्न छन्, र केबारे कुरा गरिरहेका छन् भन्ने व्यवहारगत तथ्यांक प्रयोग गरेर उनीहरू वास्तवमै न्यूनतम उमेरभन्दा माथि छन् कि छैनन् भन्ने पहिचान गर्नुपर्ने हुन सक्छ ।’
‘ग्रुमिङ’को जोखिम
अफकमको प्रतिवेदनले स्न्याप, रोब्लक्स र मेटाले लागू गरेका परिवर्तनहरू पनि उल्लेख गरेको छ, जसको उद्देश्य बालबालिकामाथि हुने ‘ग्रुमिङ’ जोखिम घटाउनु हो ।
अफकमका अनुसार स्न्यापच्याटको स्वामित्व रहेको स्न्यापले बेलायतमा अपरिचित वयस्कलाई बालबालिकासँग सम्पर्क गर्न नदिने, अपरिचित व्यक्तिलाई साथी बनाउन प्रोत्साहन नगर्ने र यो गर्मीयामदेखि ‘अत्यन्त प्रभावकारी’ उमेर परीक्षण लागू गर्ने सहमति जनाएको छ ।
स्न्यापच्याटका प्रवक्ताले यी उपाय लागू गरिने, तर प्रयोगकर्ताको गोपनीयता र वास्तविक साथी तथा परिवारसँग सम्पर्क कायम राख्ने क्षमता जोगाइने बताएका छन् ।
प्रतिवेदनअनुसार रोब्लक्सले १६ वर्षमुनिका प्रयोगकर्ताका लागि अभिभावकलाई प्रत्यक्ष च्याट पूर्ण रूपमा बन्द गर्न सकिने सुविधा दिनेछ । त्यस्तै मेटाले इन्स्टाग्राममा किशोरहरूको ‘कनेक्सन लिस्ट’ स्वतः लुकाउने र निजी सन्देशमा सम्भावित यौनजन्य संवाद पहिचान गर्न कृत्रिम बुद्धिमत्ता (एआई) उपकरण विकास गर्ने योजना बनाएको छ ।
बेलायतस्थित अनलाइन सुरक्षा संस्था ‘मोली रोज फाउन्डेसन’ का प्रमुख कार्यकारी एन्डी बरोउजले प्रतिवेदनको स्वागत गर्दै ठूला प्रविधि कम्पनीहरूलाई ‘बालबालिकालाई रोकथाम गर्न सकिने हानिबाट जोगाउने विषयमा लापरवाह र टार्ने प्रवृत्तिका’ भएको आरोप लगाए ।
उनले थपे, ‘अफकमको मूल्यांकन अब यसले अनलाइन हानिमा बालबालिकाको पहुँच कति छिटो घटाउन सक्छ भन्ने आधारमा हुनेछ । किशोरहरूलाई हानिकारक सामग्रीको सुनामीजस्तै धकेलिरहने व्यक्तिगत एल्गोरिदममाथि सशर्त प्रतिबन्ध आवश्यक छ ।’
अफकमले कम्पनीहरूले गरेका प्रतिबद्धता अब छिटो र प्रभावकारी रूपमा लागू हुनुपर्ने चेतावनी दिएको छ । यदि त्यसो नभए नियामकले कदम चाल्ने जनाएको छ ।
सामाजिक सञ्जाल प्रतिबन्धको बहस
बेलायती सरकारका प्रवक्ताले हानिकारक सामग्री हटाउन र रोक्न कम्पनीहरूलाई बाध्य पार्ने अफकमको प्रयासलाई सरकारको ‘पूर्ण समर्थन’ रहेको बताएका छन् ।
‘अहिले पनि अत्यधिक बालबालिका अनलाइन हानिको जोखिममा छन् र यो अवस्था जारी रहन सक्दैन,’ उनले भने, ‘त्यसैले हामी उमेर सीमा, एप प्रयोग समय नियन्त्रणदेखि पूर्ण प्रतिबन्धसम्मका सबै विकल्पबारे विचार गरिरहेका छौं । आगामी गर्मीयामसम्म यसबारे थप निर्णय सार्वजनिक गर्नेछौं ।’
१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विषयमा सरकारको परामर्श प्रक्रिया मे २६ मा समाप्त हुँदैछ, र सरकारले गर्मीयाममा आफ्नो धारणा सार्वजनिक गर्ने योजना बनाएको छ ।
यसैबीच शिक्षा समितिले पनि आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्धको माग गरेको छ ।
समितिले १८ वर्षमुनिका बालबालिकामा अत्यधिक स्क्रिन प्रयोग बढाउने उद्देश्यले डिजाइन गरिएका सुविधाहरू नियन्त्रण गर्न तत्काल कदम चाल्न पनि आग्रह गरेको छ ।
तर समितिले प्रतिबन्धलाई मात्र अन्तिम समाधान नभई ‘अनलाइन सुरक्षाको सुरुआती कदम’का रूपमा लिनुपर्ने बताएको छ ।
समितिकी अध्यक्ष तथा सांसद हेलेन हेयसले भनिन्, ‘शिक्षा समितिको पछिल्लो प्रतिवेदन स्पष्ट छ — सामाजिक सञ्जाल कम्पनीहरूलाई आत्मनियमनमा भरोसा गर्न सकिँदैन । जबसम्म बालबालिका र युवाको सुरक्षाभन्दा व्यापारिक लाभलाई प्राथमिकता दिइन्छ, उनीहरू सामाजिक सञ्जालका खराब प्रभाव र अनलाइन हानिको जोखिममा परिरहनेछन् । अब पूर्ण पुनर्संरचना आवश्यक छ ।’ (बीबीसी)