नेभिगेशन
अर्थतन्त्र
बुटवल–पाल्पा सुरुङमार्ग

असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा आउने भएको छ । सुरुङमार्गको संरचना निर्माणको काम सम्पन्न गरी अबको साढे ४ महिनामा सञ्चालनमा ल्याउने गरी कामलाई गति दिइएको हो ।
तोकिएको तालिकाभित्रै सुरुङमार्ग सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिइएको  आयोजना प्रमुख राजेश पौडेलले बताए । उनका अनुसार आयोजनाले सुरुङमार्गभित्रका संरचना निर्माण, पहुँच सडक र सुरक्षा व्यवस्थासम्बन्धी कामलाई एकसाथ अघि बढाएको छ । 
सुरुङमार्गको अहिलेसम्म भौतिक प्रगति ६८ प्रतिशत पुगेको छ । वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ । निर्माण सम्पन्न भएपछि पाँच वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले सञ्चालन, मर्मतसम्भार तथा सुरक्षाको जिम्मेवारी बहन गर्ने पौडेलले बताए । त्यससपछिको थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ (डिएलपी) का रूपमा रहने व्यवस्था गरिएको छ ।     
पाँच वर्षे निर्माण अवधि तय गरिएको यो सुरुङमार्ग आयोजना ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (इपिसी) मोडलमा निर्माण भइरहेको छ । यस ‘मोडल’अन्तर्गत ‘डिजाइन’, स्वीकृति तथा निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीमै रहने व्यवस्था गरिएको छ ।     
आयोजनाको प्रारम्भिक चरणमा कानुनी तथा प्राविधिक जटिलताका कारण निर्माण कार्य प्रभावित भएको थियो । नेपालमा इपिसी मोडलको नयाँ अभ्यास भएकाले आवश्यक कागजात व्यवस्थापन, रुख कटान अनुमति तथा बजेट व्यवस्थापनमा देखिएका समस्याले केही समय ढिलाइ भएको आयोजनाले जनाएको छ । 
हाल ती समस्या समाधानतर्फ उन्मुख रहेको र म्याद थप तथा ‘माइलस्टोन’ समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेको पौडेलले बताए । सुरुङमार्गसँगै निर्माण भइरहेको पहुँच सडकमा ‘रिजिड पेभमेन्ट’ गर्ने स्वीकृति प्राप्त भइसकेको छ । सुरुङभित्रबाट यातायात सञ्चालन भएपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा ‘रकसेड’ तथा भिर संरक्षणसम्बन्धी काम गरिने योजना रहेको आयोजनाले जनाएको छ ।
पैदलयात्रीका लागि ‘रकसेड’भित्र सुरक्षित बाटो निर्माण गरिने तथा बाहिरी क्षेत्रमा खानेपानी व्यवस्थापनसमेत गरिनेछ । सुरुङमार्ग आयोजना निर्माण सम्पन्न गर्न १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको भएपनि प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब ७ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड पहिरो तथा भूक्षयका दृष्टिले जोखिमयुक्त मानिएकाले सुरक्षित यात्रा सुनिश्चित गर्नु तथा जनधनको क्षति न्यूनीकरण गर्न सुरुङमार्ग निर्माण भइरहेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र