नेभिगेशन
स्वास्थ्य

चुरोटको फिल्टर स्वास्थ्य र वातावरण दुवैका लागि संकट

एजेन्सी – धूमपान नियन्त्रणका प्रयासहरू विश्वव्यापीरूपमा चलिरहेका बेला चुरोटका फिल्टरहरूको भ्रमबारे महत्वपूर्ण विषय भने अझै ओझेलमा छ । सतहीरूपमा हेर्दा फिल्टरले धूमपानलाई सुरक्षित बनाउँछ जस्तो लाग्न सक्छ । वास्तविकता के हो भने फिल्टरहरू न स्वास्थ्यका लागि उपयोगी छन्, न वातावरणका लागि स्वीकार्य ।

१९५० को दशकमा चुरोटमा फिल्टरको प्रयोग व्यापकरूपमा सुरु गरियो । त्यो बेला फोक्सोको क्यान्सर र धूमपानजन्य रोगहरूबारे जनचेतना बढ्दै थियो । सुर्ती उद्योगले वैज्ञानिकरूपमा चुरोटलाई सुरक्षित बनाउने प्रयास गर्नुको सट्टा, ‘सुरक्षित देखिने’ प्रविधि अर्थात् फिल्टरको सहारा लियो । फिल्टरले धूमपानलाई नरम बनाउँछ । जसले गर्दा प्रयोगकर्ताले गहिरो सास तान्न सक्छन् ।

अनुसन्धानहरूले देखाएका छन् कि यसले फोक्सोको क्यान्सरको जोखिम अझै बढाउन सक्छ । अझ अचम्मको कुरा त के छ भने सुरुवाती दशकमा केही फिल्टरहरूमा क्यान्सरको कारक एस्बेस्टससमेत प्रयोग गरिएको थियो । आज पनि अधिकांश धूमपानकर्ताहरू फिल्टर भएको चुरोट ‘केही सुरक्षित’ हुन्छ भन्ने भ्रममा छन् ।

स्वास्थ्यभन्दा ठूलो समस्या — वातावरणीय संकट 

फिल्टरको अझै गम्भीर अर्को पक्ष वातावरणीय असर हो । चुरोटका फिल्टरहरू सेलुलोज एसीटेट नामक प्लास्टिकबाट बनेका हुन्छन् । ती बायोडिग्रेडेबल (जैवीकरूपमा नष्ट हुने) हुँदैनन् बरु वर्षौंसम्म वातावरणमा रहँदै माइक्रोप्लास्टिकमा परिणत हुन्छन् । जसले नदी, समुद्र, माछा, चराचुरुङ्गी र अन्य हाम्रो खाद्य शृंखला नै प्रदूषित पार्दछ ।

विश्वमा हरेक वर्ष झण्डै ४.५ ट्रिलियनभन्दा बढी चुरोटका ठुटा फालिन्छन् । तीमध्ये लाखौं टन प्लास्टिक फोहोरका रूपमा वातावरणमा मिसिन्छन् । चुरोटका ठुटाहरू आजसम्मका सबैभन्दा धेरै फालिने एकपटक मात्र प्रयोग गर्न सकिने फोहोर हुन् । प्लास्टिक झोला, बोतल, र स्ट्रेजस्ता उत्पादनहरूमा कडा नियमन लागु भइसकेको अवस्थामा चुरोट फिल्टरहरू भने अझै पनि कानूनी आँखा छल्दै बजारमा खुलेआम बिक्री भइरहेका छन् ।

‘इको–फिल्टर’ – झुटो समाधान

पछिल्ला वर्षहरूमा सुर्ती उद्योगले आफूप्रति सकारात्मक धारणा निर्माण गर्न ‘बायोडिग्रेडेबल’ वा वातावरण मैत्री फिल्टरहरू बजारमा ल्याएको छ । यी पनि मूल समस्याको समाधान होइनन् । न ती स्वास्थ्यका दृष्टिले सुरक्षित छन् न त वातावरणमैत्री नै । 

यिनीहरू केवल हरियालीको आवरणमा लुकाइएको अर्को व्यापारिक रणनीति हुन् । यसले भ्रम मात्र फैलाउँछ, समाधान दिँदैन । जिनेभामा विश्व नेताहरूबीच प्लास्टिक प्रदूषणविरुद्धको ऐतिहासिक सन्धि निर्माण प्रक्रियाको मस्यौदामा चुरोटका प्लास्टिक फिल्टरहरूलाई आंशिकरूपमा मात्र समावेश गरिएको छ । यसले फिल्टरको पूर्ण प्रतिबन्धको सम्भावना कमजोर बनाउँछ ।

स्वास्थ्यको भ्रम हटाउन, धूमपानलाई कम आकर्षक बनाउन, प्लास्टिक प्रदूषणको प्रमुख स्रोत बन्द गर्न र जनस्वास्थ्य र वातावरणीय सुरक्षालाई एकैपटक अघि बढाउन यी सबै प्रकारका फिल्टरहरूलाई पूर्णरूपमा प्रतिबन्ध गरेर नियामक तहमा ठोस निर्णय गर्न सम्भव हुनेछ ।

हामीले प्लास्टिक स्ट्र प्रतिबन्ध लगाएका छौं । थर्माकोल बन्द गरेका छौं । प्लास्टिकका झोलालाई नियन्त्रणमा ल्याएका छौ । त्यसैले चुरोट फिल्टर जस्तो अनावश्यक, हानिकारक र भ्रामक वस्तुमा पनि अब कडा नीति आवश्यक भइसकेको छ ।

चुरोटका फिल्टरहरू कुनै समाधान होइनन्, ती आफैंमा समस्या हुन् । स्वास्थ्यलाई सुरक्षित बनाउने नाममा फैलिएको यो भ्रम हटाउन, र वातावरणीय विनाशलाई रोक्न, अब यिनलाई पूर्णरूपमा प्रतिबन्ध लगाउने नीति ल्याउने समय आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्