नेभिगेशन
राजनीति

प्रधानमन्त्रीले सम्बोधन गर्नेमा पूर्वराष्ट्रपतिको विश्वास

काठमाडौं । प्रथम राष्ट्रपति डा.रामवरण यादवले जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजना हुने समारोहमा प्रधानमन्त्री बालेन शाहले सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन् । नेपाल प्रेस युनियनको विधान सम्मेलनलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै यादवले प्रधानमन्त्रीले गणतन्त्र दिवसमा सम्बोधन गर्ने विश्वास गरेका हुन् । 
उनले भने, ‘संसदीय व्यवस्थामा प्रधानमन्त्री नै कार्यकारी हो, प्रधानमन्त्री भएको दुई महिना भइसक्यो, प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने, म पूर्वराष्ट्रपति, अहिले नागरिक छु, म आशा गरिरहेको छु कि हाम्रो देशको प्रधानमन्त्रीले गणतन्त्र दिवसमा सम्बोधन गर्नुहुन्छ ।’ संघर्षका उपलब्धिबारे र मुलुकलाई कता लैजाने भन्नेबारे प्रधानमन्त्रीले सम्बोधन गर्न आवश्यक रहेको उनले बताए । 
प्रधानमन्त्री शाहले गणतन्त्र दिवसमा दिन सम्बोधन नगर्ने भन्दै राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधनका लागि प्रधानमन्त्री कार्यालयले राष्ट्रपतिसमक्ष आग्रह गरिसकेको छ । मन्त्रिपरिषदबाट निर्णय गरेर गणतन्त्र दिवसमा सम्बोधन गरिदिन राष्ट्रपति रामचन्द्र पौडेललाई पत्रसमेत पठाइसकिएका बेला डा. यादवको यस्तो भनाइ आएको हो । 
प्रथम राष्ट्रपति यादवले प्रधानमन्त्रीको दृष्टिकोण सुन्नका लागि सम्पूर्ण नेपाली जनता आतुर रहेको भन्दै गणतन्त्र संस्थागत हुँदै जाने विश्वास व्यक्त गरे । 
उनले भने, ‘युवा संसद् र सरकारमा आएका छन्, यो नेपाली जनताको १ सय वर्षको योगदानको उपलब्धि हो । यसलाई संस्थागत गरेर कसरी अघि बढाउने उहाँहरूले राम्रोसँग सोच्नुहोस् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्