नेभिगेशन
राजनीति

मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३–२४ गतेको आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।
पार्टीका प्रवक्ता देवराज चालिसेले बिहीबार पार्टीको धारणा सार्वजनिक गर्दै तत्कालीन सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको कांग्रेसको धारणा मानव अधिकार आयोगको प्रतिवेदनले थप पुष्टि गरेको बताएका छन्।
कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगले कार्की आयोगकै अध्यक्षमाथि समेत सूक्ष्म अनुसन्धान आवश्यक रहेको उल्लेख गरेको भन्दै उक्त आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ। साथै, आम निर्वाचनअघि प्रतिवेदन सार्वजनिक नगरिनु नियोजित भएको हुनसक्ने आशंका समेत कांग्रेसले व्यक्त गरेको छ।
पार्टीले आन्दोलनको प्रारम्भिक चरण संविधानप्रदत्त अधिकारको प्रयोगसँग सम्बन्धित भए पनि पछि योजनाबद्ध हिंसा, आगजनी, हत्या, लुटपाट तथा सार्वजनिक र निजी सम्पत्तिमाथि आक्रमण भएको प्रतिवेदनले देखाएको उल्लेख गरेको छ। हिंसात्मक गतिविधिमा संलग्न जोसुकैलाई राजनीतिक संरक्षणबिना कानुनी कारबाही गर्नुपर्ने कांग्रेसको माग छ।
त्यस्तै, राज्य संयन्त्रको असफलता तथा सुरक्षा निकायद्वारा भएको अत्यधिक बल प्रयोगलाई पनि मानव अधिकार उल्लङ्घनका रूपमा आयोगले औँल्याएको भन्दै दोषीमाथि कानुनी कारबाही गर्नुपर्नेमा कांग्रेसले जोड दिएको छ।
कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसप्रति सरकार जवाफदेही बन्नुपर्ने उल्लेख गर्दै प्रतिवेदनबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्