नेभिगेशन
अर्थतन्त्र

बजेट कार्यान्वयनबाट ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३-०८४ को बजेट कार्यान्वयनबाट करिब ७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने लक्ष्य राखेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै सुधार र संरचनात्मक रूपान्तरणका प्रभावस्वरूप आर्थिक वृद्धि ७ प्रतिशत र मूल्यवृद्धि दर ६ प्रतिशतभित्र सीमित रहने अपेक्षा व्यक्त गरेका हुन् ।
सरकारले बजेटमा घोषणा गरिएका नीतिगत सुधार र कार्यक्रम कार्यान्वयनमा नेपाल राष्ट्र बैंकबाट जारी हुने मौद्रिक नीतिले पनि सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।
अर्थमन्त्रीका अनुसार बजेट सुशासन, सदाचार र समन्यायिक समृद्धिमा केन्द्रित छ । यसको प्रभावकारी कार्यान्वयनले आगामी पाँच वर्षभित्र नेपाललाई सुशासित, समुन्नत र स्वाभिमानी राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने लक्ष्य राखिएको छ ।
बजेटलाई “नागरिकसँग गरिएको राजनीतिक करारको कार्यान्वयनको प्रारम्भ बिन्दु” भन्दै अर्थमन्त्री वाग्लेले यसलाई आर्थिक रूपान्तरणको स्पष्ट मार्गचित्रका रूपमा व्याख्या गरेका छन् ।
सरकारले ऊर्जा, कृषि, वन, उद्योग, पर्यटन, सूचना प्रविधि र मानव पुँजीलाई आगामी दशकका प्रमुख आर्थिक संवाहक क्षेत्रका रूपमा अघि बढाउने घोषणा गरेको छ ।
साथै, राज्यलाई नियामक मात्र नभई अवसर सर्जक संस्थाका रूपमा पुनःपरिभाषित गर्दै उत्पादन, नवप्रवर्तन र उद्यमशीलतामा आधारित अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिइएको छ । कर प्रणालीलाई सरल, न्यायोचित र उत्पादनमुखी बनाइएको पनि बजेटमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्