नेभिगेशन
अर्थतन्त्र

८२८ मेगावाटको उत्तरगंगासहित पाँच ठूला जलविद्युत् आयोजनालाई बजेट व्यवस्थापन

बागलुङ । सरकारले बहुप्रतीक्षित बागलुङको उत्तरगंगा जलाशययुक्त परियोजनासहित पाँच जलविद्युत् आयोजनालाई ठेक्कामा लैजाने भएको छ । आगामी आर्थिक वर्ष २०८३÷८४ को लागि ल्याएको बजेट वक्तव्यमा सरकारले बागलुङको उत्तरगंगा जलाशययुक्त ८२८ मेगावाट परियोजना ठेक्कामा लैजाने उल्लेख गरेको हो ।
सरकारले २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्दै ऊर्जा उत्पादन, प्रसारण र वितरण लाइन निर्माणका लागि ८५ अर्ब ५४ करोड रकम विनियोजन गरिएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिए । उनले शुक्रबार सार्वजनिक गरेको बजेटमा मुलुकको सस्तो नमुना जलविद्युत् आयोजनाका रूपमा चर्चा कमाएको ८२८ मेगावाटको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजनासहित पाँचवटा ठूला जलविद्युत् आयोजनाको बजेट व्यवस्थापनसहित ठेक्कामा लैजाने उल्लेख छ ।
सरकारले ८२८ मेगावाटको उत्तरगंगा जलाशययुक्त आयोजनासहित एक हजार ६१ मेगावाटको माथिल्लो अरुण, २१० मेगावाटको चैनपुरसेती, ९९ मेगावाटको तामाकोशी–५ र ७७ मेगावाटको घुन्साखोला आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया सुरु गर्ने जनाएको छ । ४१७ मेगावाटको नलगाड, ४९० मेगावाटको अरुण–४ र २८१ मेगावाटको नौमुरै आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाउने अर्थमन्त्रीले बताए ।
कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लगानीमा ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गर्ने अर्थमन्त्री वाग्लेले जानकारी दिए । उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजनाको वातारणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन स्वीकृत भइसकेको छ । करिब २२ वर्ष अघिदेखि चर्चामा रहेको आयोजनाको ईआइए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले २०८० सालमा स्वीकृत गरेको हो ।
बागलुङमा निर्माण अघि बढेको आयोजना २०६१ देखि चर्चामा छ । यो आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक उत्तरगंगा हाइड्रोपावर कम्पनी लिमिटेडले अघि बढाउँदै आएको थियो । 
प्रतिमेगावाट लागतका दरले नेपालको सबभन्दा सस्तो उक्त जलाशय आयोजनाको इआइए स्वीकृत भएको आयोजना ठेक्कामा लाग्ने बागलुङ क्षेत्र नं २ बाट निर्वाचित संघीय सांसद सोम शर्माले जानकारी दिए । उनले बागलुङको २ नं क्षेत्रमा रहेको आयोजनामा रकम व्यवस्थापनसहित ठेक्कामा लैजाने गरी बजेट वक्तव्य आएको बताए ।
निर्माण सुरु भएको १० वर्षभित्र विद्युत् उत्पादन थाल्ने लक्ष्य लिइएको आयोजनामा ढोरपाटन उपत्यकामा उत्तरगंगाको पानी जम्मा गरेर निसीखोलामा झारेर बाह्रै महिना विद्युत् उत्पादन गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको थियो । ढोरपाटनको उत्तरगंगा नदीमा २०० मिटर अग्लो बाँध बाँधेर जम्मा गरेको पानीलाई ढोरपाटनबाट निसीखोलामा झार्ने सम्भाव्यता अध्ययनमा उल्लेख छ ।
आयोजनामा आठ हजार ५१० मिटर लामो हेडरेस पाइप निर्माण हुनेछ भने एक हजार ८७५ मिटर लामो पेनस्टक पाइप निर्माण हुनेछ । आयोजनामा दुई वटा भूमिगत विद्युतगृह निर्माण हुनेछन् । पहिलो विद्युत् गृहमा १०५ मेगावाट क्षमताका चारवटा युनिट रहनेछन् भने दोस्रो विद्युतगृहमा १०१ मेगावाट क्षमताका चारवटा युनिट निर्माण हुनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्