नेभिगेशन
राजनीति

प्रधानमन्त्रीको अभिव्यक्तिमा कांग्रेस/एमालेको आपत्ति

भारतको भूमि नेपालले मिचेको प्रमाण सार्वजनिक गर्न माग

काठमाडौं । नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले आपत्ति जनाउँदै त्यसको आधार र प्रमाण सार्वजनिक गर्न माग गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्री बनेपछि भारतले मात्र होइन, नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको जानकारी पाएको बताएका थिए। प्रधानमन्त्रीको उक्त भनाइपछि सदनमा तीव्र प्रतिक्रिया देखिएको छ।
कांग्रेसकी सचेतक बासना थापाले प्रधानमन्त्रीले अत्यन्त गम्भीर र संवेदनशील विषयमा प्रमाणबिनाको अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाइन्।
उनले भनिन्, “भारतको भूमि नेपालले मिचेको भन्नुभयो। कहाँनेर मिचियो, हामीलाई पनि जानकारी दिनुपर्‍यो। दुई देशको सीमाजस्तो गम्भीर विषयमा प्रधानमन्त्रीले यस्तो कुरा कसरी भन्नुभयो ? यदि सीमा मिचिएको हो भने प्रमाण देखाइयोस्, होइन भने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्।”
यस्तै, नेकपा एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले प्रधानमन्त्रीको भनाइले नेपाल–भारत सीमा विवादबारे गम्भीर अन्योल सिर्जना गरेको बताइन्।
उनले प्रधानमन्त्रीको अभिव्यक्ति सरकारको आधिकारिक धारणा हो वा व्यक्तिगत विचार हो भन्ने स्पष्ट पार्न माग गर्दै भनिन्, “प्रधानमन्त्रीले भारतीय भूमि नेपालले मिचेको भन्नुभएको छ। यो सरकारको आधिकारिक धारणा हो कि उहाँको व्यक्तिगत विचार ?”
सांसद सुब्बाले कुन स्थान, क्षेत्र वा सीमाखण्डमा नेपालले भारतको भूमि अतिक्रमण गरेको भनिएको हो, त्यसको तथ्य, आधार र प्रमाण सार्वजनिक गर्न सरकारसँग माग गरिन्।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सदनमा प्रश्न उठेपछि सीमा सम्बन्धी विषय थप राजनीतिक बहसको केन्द्रमा पुगेको छ। विपक्षी दलहरूले सरकारसँग स्पष्ट धारणा र प्रमाणसहितको जवाफ दिन आग्रह गरेका छन्।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्