नेभिगेशन
अर्थतन्त्र

बजेटले अर्थतन्त्र चलायमान बनाउने आधार सिर्जना गरेको छः सिबिफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटको स्वागत गरेको छ । सिबिफिनले आइतबार विज्ञप्ती जारी गरी बजेटले देशको आर्थिक पुनरुत्थान, लगानी प्रवर्धन तथा निजी क्षेत्रको मनोबल अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दै स्वागत गरेको हो ।
सिबिफिनले सुस्त रहेको आर्थिक गतिविधि, निजी क्षेत्रको कमजोर आत्मविश्वास, लगानीकर्तामा देखिएको ‘पर्ख र हेर’को प्रवृत्ति, बैंकिङ क्षेत्रबाट अपेक्षित कर्जा विस्तार हुन नसकेको अवस्था तथा बढ्दो खराब कर्जाजस्ता चुनौतीका बीच प्रस्तुत बजेटले अर्थतन्त्रलाई पुनः चलायमान बनाउने आशा जगाएको जनाएको हो ।
सिबिफिनले विशेषगरी कर प्रणालीमा गरिएको सुधार, उद्योग व्यवसायलाई प्रदान गरिएका सहुलियत, डिजिटल अर्थतन्त्रको प्रवद्र्धन, प्रविधि तथा पूर्वाधार विकासमा प्राथमिकता, ऊर्जा क्षेत्रको विकास तथा लगानीमैत्री वातावरण निर्माणका कार्यक्रमलाई सकारात्मक कदमका रूपमा लिएको जनाएको छ । साथै, बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा र गैरबैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि विशेष अधिकारयुक्त राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने सरकारको घोषणा ऐतिहासिक, दूरदर्शी तथा समयसापेक्ष भएको सिबिफिनको धारणा छ ।
सरकारले निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख साझेदारका रूपमा स्वीकार गर्दै लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा वित्तीय पहुँच विस्तारलाई बजेटले प्राथमिकता दिएको विज्ञप्तीमा भनिएको छ । व्यक्तिगत आयकर छुटको सीमा वृद्धि, करका दरहरूको पुनरावलोकन, औद्योगिक कच्चा पदार्थमा भन्सार सहजीकरण तथा वैकल्पिक वित्तीय उपकरणमार्फत पुँजी परिचालनका व्यवस्थाले आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास सिबिफिनले व्यक्त गरेको छ ।
त्यसैगरी, बजेटले आन्तरिक तथा बाह्य लगानी विस्तार, उद्यमशीलताको विकास, रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा निजी क्षेत्रको पुनर्जागरणमार्फत अर्थतन्त्रमा उच्च आत्मविश्वास निर्माण गर्ने आधार तयार गरेको सिबिफिनको निष्कर्ष छ । 
सिबिफिनले बजेटमा समेटिएका जनमुखी तथा विकासमुखी नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत स्थायित्व र निजी क्षेत्रसँगको सहकार्यलाई सरकारले प्राथमिकतामा राख्ने अपेक्षा व्यक्त गरेको छ । साथै, आर्थिक पुनरुत्थान, वित्तीय क्षेत्रको स्थायित्व, लगानी विस्तार, दिगो तथा उच्च आर्थिक वृद्धिसहित आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारसँग सहकार्य गर्न आफूहरू पूर्णरूपमा प्रतिबद्ध रहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्