नेभिगेशन
अर्थतन्त्र

५० लाखमुनिका ईभीको मूल्य घट्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) लाई लिएर अनावश्यक रूपमा ‘आकाश खसेजस्तो’ प्रचार गरिएको टिप्पणी गरेका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयोजना गरेको बजेटसम्बन्धी अन्तक्र्रियामा अर्थमन्त्री वाग्लेले सरकारले कठिन निर्णय गर्ने आँट गरेको बताए । उनले १५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले तिर्नुपर्ने अतिरिक्त कर अत्यन्त न्यून रहेको उल्लेख गर्दै त्यसलाई अतिरञ्जित ढंगले प्रस्तुत गरिएको गुनासो गरे ।
अर्थमन्त्री वाग्लेले ५० लाख रुपैयाँभन्दा कम मूल्यका विद्युतीय सवारीसाधन (इभी) मा कर घट्ने व्यवस्था गरिएको जानकारी दिँदै बजेट वक्तव्यमा एउटा सानो नोट छुटेको पनि स्वीकार गरे ।
उनले भने, ‘कसैले गर्न नसकेको आँट यो सरकारले ग¥यो भनेर पनि लख्दिनुप¥यो । १५० युनिटको बिजुलीमा कति तिर्नुहुन्छ, ५ प्रतिशत पनि होइन । ५० युनिट निःशुल्क छ । त्यसमा ट्याक्स जम्मा ३ प्रतिशत हो । बिल ८–९ सय उठ्दा जम्मा २४ रुपैयाँ तिर्ने हो । यहाँ आकाश नै खसेको जस्तो गरेर प्रचार गरेको देख्छु । ऊर्जा मन्त्रालयको बजेट ८५ अर्ब छ । तीन हजार तिर्दा जम्मा १०२ रुपैयाँ हो । आकाश खस्दैन । ठूलो लगानी गर्दैछौं । ५० लाखभन्दा मुनिको ईभीमा मूल्य घट्दै छ, बजेटमा सानो नोट छुटेको रहेछ ।’
उनले यस वर्षको बजेट निर्माणमा समय र स्रोत दुवै चुनौतीका रूपमा रहेको बताए । चैत महिनाको बीचमा सरकारमा आएर जेठमा बजेट ल्याउनुपरेकाले पर्याप्त समय नपाएको उनको भनाइ थियो । बजेटमा समावेश नभएका धेरै विषयमा समेत छलफल भएको तर पर्याप्त अध्ययन आवश्यक ठहरिएका विषयलाई आगामी वर्षका लागि राखिएको उनले बताए ।
उनले भने, ‘यसपालिको बजेटमा चुनौती भनेको समय कम थियो र अर्को स्रोतको चुनौती थियो । चैतमा आइयो जेठमा बजेट ल्याउनुप¥यो, समय धेरै पाइएन । बजेट नपरेको कतिपय क्षेत्रहरुमा पनि छलफल नभएको होइन । कतिपय कुरामा राम्रोसँग अध्ययन नगरी नजाउँ भनेर अर्को वर्षलाई राखिएको छ । पाँच वर्षसम्म के के गर्ने भन्ने छ, अहिले हामीले जग बसाल्ने कुरालाई बढी प्राथमिकता दिएका छौं ।’
अर्थमन्त्री वाग्लेले दुई तिहाइ बहुमतको सरकार भएकाले जनअपेक्षा उच्च रहेको स्वीकार गर्दै स्रोत र क्षमताअनुसार सन्तुलित बजेट ल्याइएको बताए ।
‘कतिपयले बजेट महत्वकांक्षी छ पनि भन्नुभएको छ । यो वर्ष दुई तिहाईको सरकार छ, अपेक्षाहरु चुलिएका छन् । ३५ प्रतिशत जीडीपी अनुपातमा २५–२६ खर्ब रुपैयाँको बजेट ल्याउन सकिन्थ्यो होला । तर, उपलब्ध स्रोत पनि हेर्नुपर्ने हुन्छ । त्यसैले सन्तुलित र तुलनात्मक रूपमा सानो बजेट ल्याएका छौं,’ उनले भने । उनले सरकारले ऋणमा आधारित बजेट नल्याएको दाबी गर्दै आन्तरिक स्रोत परिचालनलाई प्राथमिकता दिएको बताए ।
अर्थमन्त्री वाग्लेले विगतका सरकारबाट सिर्जित खर्बौं रुपैयाँका दायित्व अहिलेको सरकारले पनि वहन गर्नुपरेको उल्लेख गर्दै पुराना योजनालाई बेवास्ता गरेर नयाँ कार्यक्रम मात्र ल्याउन नसकिने स्पष्ट पारे । यद्यपि, सीमित स्रोत र दायित्वबीच पनि सरकारले धेरै रूपान्तरणकारी आयोजना र कार्यक्रम बजेटमा समेट्न सफल भएको उनको दाबी छ ।
उनले भने, ‘यसपालि ऋणमा आश्रित होइन । हाम्रो आन्तरिक स्रोतमा महत्वकांक्षी ढंगले उठाउँछौं भनेका छौं । यो ऋण–ऋण भनेर जुन हाउगुजी सिर्जना गरिएको छ, त्यो भ्रमबाट निस्किनुपर्छ । पुराना दायित्वहरुले पनि हामीलाई थिचेको छ । खर्बौंको दायित्व बोकेका छौं । जनताकै पैसा हो पुरा गर्नुप¥यो । पुराना पार्टीले ल्याएको छाडेर नयाँ–नयाँ गर्दै हिँड्ने कुरा पनि भएन । तर पनि त्यो सीमाका बीच पनि धेरै रुपान्तरणकारी आयोजनाहरु ल्याएको छौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्