नेभिगेशन
अर्थतन्त्र

सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन जोड

धनगढी । सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन, अनौपचारिक क्षेत्रका श्रमिकको व्यापक आबद्धता तथा रोजगारदाता, श्रमिक र सरकारबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । सशक्त महिला समृद्ध नेपालसँगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौं तथा सुदूरपश्चिम प्रदेश उद्योग वाणिज्य महासंघको आयोजनामा सामाजिक सुरक्षा कोष (एसएसएफ) को सहकार्यमा धनगढीमा आयोजित ‘विद्यमान सामाजिक सुरक्षा योजनाहरू तथा अभ्याससम्बन्धी प्रदेशस्तरीय सरोकारवालासँग परामर्शात्मक कार्यशाला’का सहभागीले सामाजिक सुरक्षा कार्यक्रमलाई थप समावेशी, प्रभावकारी र दिगो बनाउन आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक कृष्ण अधिकारीले कोषको नीतिगत व्यवस्था, कानुनी आधार, विभिन्न सामाजिक सुरक्षा योजना, योगदान दर, दाबी भुक्तानी प्रणाली तथा औपचारिक, अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेट्ने रणनीतिबारे प्रस्तुति दिएका थिए । उनले सामाजिक सुरक्षा कोषले सर्वव्यापी स्वास्थ्य पहुँच, योगदानमा आधारित पेन्सन प्रणाली तथा आन्तरिक पुँजी निर्माणमार्फत अर्थतन्त्रलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सामाजिक सुरक्षा कार्यक्रमलाई श्रमिकको भविष्य सुरक्षित गर्ने, रोजगारदाताको दायित्वलाई व्यवस्थित बनाउने तथा दिगो आर्थिक विकासमा योगदान पु¥याउने महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्ने धारणा राखे ।
सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य निर्प सुनारले सामाजिक सुरक्षा प्रणालीलाई समावेशी विकास, सामाजिक न्याय तथा श्रम क्षेत्रको औपचारिकीकरणसँग जोडेर हेर्नुपर्ने बताए । सुदूरपश्चिम प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पुष्प कुँवरले कार्यशालाबाट प्राप्त सुझावहरूलाई नीतिगत तहसम्म पु¥याई सामाजिक सुरक्षा प्रणालीलाई अझ प्रभावकारी, समावेशी र दिगो बनाउन महासंघले पहल गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्