नेभिगेशन
अर्थतन्त्र

पुनः श्रम स्वीकृति अब स्वचालित प्रणालीबाटै

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि पुनः श्रम स्वीकृति (रि–इन्ट्री) प्रक्रिया अब स्वचालित प्रणालीमार्फत प्रदान गरिने भएको छ । वैदेशिक रोजगार विभागले सरकारको सुशासन तथा प्रशासनिक सुधारसम्बन्धी कार्ययोजनाअनुसार पुनः श्रम स्वीकृतिको प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने निर्णय कार्यान्वयनमा ल्याइएको हो ।
विभागका अनुसार यसअघि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकले सोही देश तथा कम्पनीका लागि पुनः श्रम स्वीकृति लिन आवेदन दिएमा तोकिएका सर्त पूरा गरेको अवस्थामा वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मार्फत स्वचालित रूपमा पुनः श्रम स्वीकृति प्राप्त गर्न सक्नेछन् ।
स्वचालित पुनः श्रम स्वीकृति प्राप्त गर्न आवेदकले यसअघि श्रम स्वीकृति प्राप्त गरेको देश तथा कम्पनीकै लागि आवेदन दिएको हुनुपर्ने विभागले जनाएको छ । साथै, कम्तीमा तीन महिनाको वैध बसोबास अवधि बाँकी रहेको, वैध भिसा भएको, कम्पनीसँगको करार सम्झौता कायम रहेको तथा सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको हुनुपर्ने विभागले जनाएको छ ।
त्यसैगरी, आवेदकले वैदेशिक रोजगार अवधिको वार्षिक जीवन बीमा गरेको हुनुपर्ने र भिसा तथा करारसम्बन्धी विवरण एफईआईएमएस प्रणालीमा स्व–घोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ । विभागले आवेदनका क्रममा गलत विवरण वा अपूर्ण कागजात पेश गरेमा त्यसबाट उत्पन्न हुने जिम्मेवारी सम्बन्धित सेवाग्राही स्वयंले वहन गर्नुपर्ने स्पष्ट पारेको छ ।
स्वचालित प्रणाली लागू भएसँगै पुनः श्रम स्वीकृति प्रक्रियालाई थप सहज, छिटो, पारदर्शी तथा सेवाग्राहीमैत्री बनाउने अपेक्षा बढेको विभागले जानएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्