काठमाडौं । हिमालयन रि–इन्स्योरेन्ससहित पाँच ठुला कम्पनीको ३ अर्ब ७३ करोड रुपैयाँ दुरुपयोग गरी व्यक्तिगत लाभका लागि सेयर बजारमा चलखेल गरेको अभियोगमा हाई–प्रोफाइल व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाल दुई महिनादेखि प्रहरी हिरासतमा छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ४० जनाभन्दा बढीविरुद्ध मुद्दा चलाउन सिफारिस गरिसकेको छ ।
ब्युरोले भट्टलाई गत चैत १९ र त्यसको दुई दिनपछि व्यवसायी सुलभ अग्रवाललाई पक्राउ गरेको थियो । पक्राउपछि लगातार चुनाको म्याद थप हुँदै आएको छ । सम्पत्ति शुद्धीकरणको यो अनुसन्धानमा प्रहरीले सुलभअघि उनका बाबु शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई नियन्त्रणमा लिएको थियो । सुलभ पक्राउ पर्ने निश्चित भएपछि प्रहरीले उनलाई हाजिरी जमानीमा छाडेको थियो । सीआईबीले धितोपत्रमा चलखेल गरेको र दीपक भट्टसँग मिलेमतो गरेर कृत्रिमरुपमा मूल्य बढाउने, कृत्रिम कारोबार गर्ने लगायतका कार्यमा संलग्न रहेको अभियोगमा व्यवसायी शेखर गोल्छालाई समेत नियन्त्रणमा लिएको थियो । उनी अदालतको आदेशमा थुनामुक्त भए । उनको हकमा समेत अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताएको छ ।
विवादित व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल जोडिएको यो प्रकरणमा बीमा, पुनर्बीमा, धितोपत्र बजार, पब्लिक लिमिटेड कम्पनीको रकम दुरुपयोग, बैंकिङ ट्रेल र त्यसमा पुराना व्यापारिक घरानासम्म मुछिएका छन् । भट्ट र अग्रवालले सम्पत्ति शुद्धीकरणका लागि शंकास्पद वित्तीय कारोबार गरेको पब्लिक लिमिटेड कम्पनीको रकम दुरुपयोग गरी सेयर बजार तथा अन्य लगानीका क्षेत्रमा घुमाएर स्रोत लुकाउने वा शुद्धीकरण गर्ने प्रयास गरेको आरोप लागेको छ । हिमालयन रि–इन्स्योरेन्ससहित पाँच कम्पनीको ३ अर्ब ७३ करोड रुपैयाँ दुरुपयोग गरी व्यक्तिगत लाभका लागि सेयर खरिद गरेको प्रकरणमा सीआइबीले विवादास्पद व्यवसायी भट्ट र अग्रवालसहित ४० जनाभन्दा बढीलाई मुद्दा चलाउन सिफारिस गरेको छ । उनीहरुले सेयर बजारमा निश्चित कम्पनीको मूल्य बढाउने र घटाउने गरी सेयर खरिद–बिक्री गर्दै आएको प्रहरीको आरोप छ । जसमा सीआइबीले धितोपत्रसम्बन्धी कसुरमा छुट्टै अनुसन्धान गरिरहेको छ । तर, हिरासतको कोठाभित्र सीआईबीका अनुसन्धान अधिकृतहरू सामु यी दुई हाई प्रोफाइल व्यवसायीले के बयान दिए त ?
भट्टले बयानमा के के भने ?
बयानमा दीपक भट्टले सेयर बजारमा आफ्नो नामबाट भएको कारोबारमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । हिमालयन रिको रकम दुरुपयोग गरी व्यक्तिगत लाभ लिएर कम्पनीलाई हानि–नोक्सानी पु¥याएको आरोपमा सीआईबीले बीमा ऐनअन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको क्रममा बयान दिँदै उनले भृकुटी स्टक ब्रोकिङ कम्पनी अर्थात ब्रोकर नं. ५५ मार्फत भएको सेयर कारोबारमा आफू संलग्न नरहेको र ब्रोकरले नै आफ्नो खाताको दुरुपयोग गरेको दाबी गरेका छन् ।
बयानका क्रममा भट्टले आफ्ना विभिन्न व्यावसायिक लगानीहरूको विवरण खुलाएका छन् । उनको एकल स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ्स प्रालिको चुक्ता पुँजी ४८ करोड रुपैयाँ रहेको र उक्त कम्पनीमार्फत हिमालयन रि इन्स्योरेन्समा ४.५ प्रतिशत सेयर रहेको उनले बताएका छन्। साथै, दुईवटा माइक्रो इन्स्योरेन्समा १५÷१५ प्रतिशत र हिमालयन एसेट म्यानेजमेन्ट लगायतका कम्पनीमा आफ्नो लगानी रहेको उनले स्वीकार गरेका छन् । दोस्रो बजारमा हुने नियमित सेयर कारोबारमा भने उनले आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
सेयर कारोबारका लागि भृकुटी स्टक ब्रोकिङमा एउटा मात्र खाता खोलेको र सम्झौता गरेको तर उक्त सम्झौता कार्यान्वयनमा नआएको उनले बयानमा बताएको स्रोतले उल्लेख गरेको छ । भट्टले ब्रोकर कम्पनीले आफ्नो अनुमतिबिनै कारोबार गरेको आरोप लगाएका छन् । सेयर खरिदका लागि अनिवार्य हुनुपर्ने २५ प्रतिशत कोल्याट्रल अर्थात धरौटी समेत आफूले नदिएको अवस्थामा कारोबार हुनुले नै आफू वास्तविक धनी नभएको उनको तर्क छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बयान दिने क्रममा मात्र मेरो खाता प्रयोग गरी कारोबार भएको थाहा पाएँ । मेरो खातामा सेयरको मूल्यवृद्धि गरी डम्प गरिएको देखिन्छ । म यसको लाभग्राही होइन, उल्टै ममाथि जालसाजी भएको छ, भट्टले बयानमा भनेका छन् ।
अनुसन्धानका क्रममा उनको र अन्य केही कम्पनीहरूको सेयर कारोबार गर्दा प्रयोग भएको टीएमएसको आईपी एड्रेस एउटै कार्यालयबाट सञ्चालन भएको पाइएको थियो । यसले गर्दा अर्कै कुनै समूह वा कार्यालयबाट आफ्नो नाममा कारोबार भइरहेको हुनसक्ने तर्फ उनले संकेत गरेका छन् । खाता दुरुपयोग भएको थाहा पाएपछि भृकुटी स्टकका कार्यकारी प्रमुख सन्दीप चाचानसँग सोधपुछ गर्दा ब्रोकरले गल्ती स्वीकार गरेको बताएका छन् । सन्दीप चाचानले आफ्नै गल्ती स्वीकार गर्दै माफी मागेका थिए र समस्या समाधान गर्ने बचन दिएका थिए, भट्टले बयानमा भनेका छन् । सोही आश्वासनका कारण आफूले सुरुमा कानुनी उपचार नचलाएको उनले बताएका छन् । हाल हिरासतमा रहेका भट्टले आफू कुनै पनि कम्पनीको बोर्ड वा व्यवस्थापनमा नरहेको र सेयर बजारलाई प्रभाव पार्ने कुनै कार्य नगरेको भन्दै कसुरमा आफ्नो संलग्नता नरहेको बयानमा भनेका छन् । हिमालयन रि–इन्स्योरेन्सको रकम दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको आरोप खेपिरहेका भट्टले सम्पूर्ण दोष भृकुटी स्टक ब्रोकिङ अर्थात् ब्रोकर नम्बर ५५ को थाप्लोमा बयानका क्रममा थुपारिदिएका छन् ।
सुलभले के भनेका छन ?
हिमालयन लाइफ इन्स्योरेन्सका पूर्वअध्यक्ष सुलभ अग्रवालले बीमा कम्पनीको रकम दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको आरोप अस्वीकार गरेका छन् । हिमालयन रिसहितका कम्पनीहरूको रकम दुरुपयोग गरी सेयर किनेर व्यक्तिगत लाभ लिएको विषयमा बीमा ऐनसम्बन्धी कसुरमा सीआईबीको अनुसन्धानमा बयान दिँदै उनले आफूले ऐनविपरीत कुनै पनि कार्य नगरेको दाबी गरेका छन् । सुलभले दीपक भट्ट र उनका कर्मचारीहरु आफ्नो कार्यालयमा आइरहने हुनाले कार्यालयको फ्रि वाईफाई प्रयोग गरी सेयर किनबेच गरेको हुनाले भट्टको कारोबारमा आफ्नो कार्यालयको आइपी एड्रेस देखिएको हुनसक्ने बयान दिएका छन् ।
साढे दुई महिनाअघिसम्म हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्ष रहेको र उक्त कम्पनीमा आफ्नो व्यक्तिगत ३० करोड रुपैयाँ लगानी रहेको बयानमा उनले बताएका छन् । उनले कम्पनीको सेयर खरिद–बिक्रीसम्बन्धी निर्णय व्यवस्थापन र लगानी समितिले गर्ने भन्दै त्यसमा आफ्नो संलग्नता नरहने दाबी गरेका छन् ।
बयानका क्रममा अग्रवालले श्रीमती सुभी अग्रवालले ५५ नम्बर ब्रोकर भृकुटी स्टक ब्रोकिङमार्फत सेयर कारोबार गर्ने गरेको स्वीकार गरेका छन् । उनले भनेका छन्, श्रीमतीले ५५ नम्बर ब्रोकरसँग विगतदेखि नै कारोबार गर्दै आएकी छन् । हाल उनले उक्त ब्रोकरलाई करिब ६२ करोड रुपैयाँ तिर्न बाँकी छ । सीआईबीसँगको बयानमा अग्रवालले भनेका छन्, उक्त रकम श्रीमतीले उधारो वा सापटीका रूपमा लिएको र सो रकम उनैले प्रयोग गरेको हो । हिमालयन लाइफ इन्स्योरेन्सले सञ्चालन गरेको हिमालयन लार्ज क्याप फण्ड को रकम योजनाबद्ध रूपमा ५५ नम्बर ब्रोकरको खातामा पठाई व्यक्तिगत लाभ लिएको भन्ने आरोपलाई उनले अस्वीकार गरेका छन् ।
‘मैले अध्यक्षको हैसियतमा कुनै प्रभाव प्रयोग गरी म्युचुअल फण्डको रकम ब्रोकर कहाँ पठाएको छैन । म उक्त फण्डको कुनै पदमा पनि छैन र बीमा ऐन २०७९ को दफा १४० बमोजिमको कुनै कसुर गरेको छैन,’ उनले बयानमा भनेका छन् । अग्रवालले आफ्नो नक्सालस्थित कार्यालयको आईपी एड्रेस सेयर कारोबारमा प्रयोग भएको सम्बन्धमा कार्यालयमा फ्री वाईफाई रहेको र त्यहाँ आफ्ना कर्मचारीका साथै व्यवसायी दीपक भट्ट वा उनका कर्मचारीहरू आउने–जाने क्रममा उक्त नेटवर्क प्रयोग गरेको हुनसक्ने बताएका छन् ।
उनले भट्टसँग आफ्नो हाल कुनै लेनदेन नरहेको तर परिवारका अन्य सदस्यहरूको केही लेनदेन बाँकी रहेको बताएका छन् । हिमालयन रिको कुनै जिम्मेवारीमा नरहेको तर आफू सेयरधनी रहेको अम्बर प्रो–इन्भेष्टमेन्टमार्फत त्यहाँ लगानी मात्र रहेको उनले बताएका छन् । साथै, जगदम्बा स्टिल्स आफ्नो कम्पनी नभएको समेत उनले बयानमा उल्लेख गरेका छन् । उनले आफूले अरू कसैको टीएमएस युजरनेम र पासवर्ड प्रयोग नगरेको र श्रीमतीको सेयर कारोबारमा कहिलेकाहीँ गाइड गर्ने वा अनुमति लिएर कर्मचारीमार्फत काम गरिदिने गरेको स्वीकार गरेका छन् ।
एकातिर सरकारी अनुसन्धान निकाय सीआईबीले ३ अर्ब ७३ करोडको संगठित अपचलन र धितोपत्र बजारमा सेटिङ भएको बलियो प्रमाण दाबी गरिरहेको छ । अर्कोतिर, पक्राउ परेका दुई भीआईपी व्यवसायीहरू ब्रोकरले खाता दुरुपयोग गरेको र कार्यालयको वाईफाई अरूले प्रयोग गरेर फसाएको भन्दै पन्छिन खोजिरहेका छन।तर प्रश्न उठ्छ – अर्बौंको कारोबार हुँदा र आईपी एड्रेसहरू एउटै भेटिँदा के यो केवल संयोग मात्र हो त ? बीमा र सेयर बजार जस्तो संवेदनशील क्षेत्रमा सर्वसाधारणको रकममाथि भएको यो खेलबाडको फैसला अब अदालतले गर्नेछ ।