नेभिगेशन
राजनीति

‘नेपालले एक इञ्च भूमि मिचेको छैन’

काठमाडौं । एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री बालेन शाहले देशद्रोही कुरा गरेको भन्दै आपत्ति जनाएका छन् । काठमाडौंमा बुधबार आयोजित पार्टी कार्यक्रममा बोल्दै शाहले संसद्मा भनेजस्तो नेपालले भारतको जमिन कतै पनि नमिचेको ओलीले बताए । 
‘उहाँले देशद्रोही कुरा गर्नुभयो । नेपालले भारतको धेरै ठाउँमा सिमा मिचेको छ भनेर । धेरै ठाउँमा होइन, एक ठाउँमा पनि एक ठाउँमा पनि एक इञ्च पनि भारतको जमिन नेपालले मिचेको छैन,’ ओलीले भने ‘प्रधानमन्त्रीको शाहको अभिव्यक्ति सम्पूर्ण रुपमा झुट र राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट बोल्नुहुँदैनथ्यो तर त्यहाँ बोल्ने काम भयो ।’ उनले प्रधानमन्त्रीको उक्त विवादित अभिव्यक्ति कसको हित र पक्षमा बोलेको भन्ने प्रश्न गर्दै नेपालको अहित र विपक्षमा रहेको बताए । 
अध्यक्ष ओलीले छिमेकीहरूसँग केही परे द्विपक्षीय हिसाबले छलफल गरी समाधान गरिने पनि बताए । उनले भने, ‘छिमेकीहरूसँग कुनै वादविवाद प¥यो भने दुई पक्षीय हिसाबले बसेर समाधान गर्छौं, तेस्रो पक्षलाई त्यहाँ सामेल गर्दैनौं । यो नेपालको नीति हो, हामीले यो प्रक्रिया अघि बढाइसकेका छौं । नेपाल तपाईंको घरको सम्पत्ति होइन ।’ आइतबार प्रधानमन्त्री शाहले सांसदको प्रश्नमा जबाफ दिने क्रममा नेपाल–भारत सीमा विवादबारे बेलायतसँग पनि कुरा भइरहेको अभिव्यक्ति दिएका थिए ।
सरकारलाई उत्ताउलिएर धेरै अघि नबढ्न ओलीले चेतावनी पनि दिएका छन् ।  उनले सरकार पूर्वाग्रही ढंगले अघि बढेको आरोप लगाउँदै भने, ‘समय परिस्थिति सधैं एकैनासको हुँदैन, उत्ताउतिएर धेरै अघि नबढ्नुहोला । राणाशासन, पञ्चायती तानाशाही, राजतन्त्र ढले, अनेक तन्त्र ढले, यो अराजक तन्त्र कति समयको पाहुना हो । लामो समय चल्न सक्दैन ।’ उनले भदौ २३–२४ गतेको आक्रमण राष्ट्रियता र देशभक्तिविरुद्धको आन्दोलन भएको दाबी गरे । गत फागुनको निर्वाचन तमासामात्र भएको भन्दै ओलीले परिणाम पूर्वनिर्धारित भएको बताए ।
त्यस्तै, उनले सरकारले बनाएको सम्पत्ति छानबिन आयोगलाई बयान नदिने घोषणा पनि गरेका छन् । उनले माघ १९ को ‘कू’ पछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले विरोधी फसाउनका लागि गठन गरेको शाही आयोगकै संज्ञा दिँदै यस्तो आयोगलाई आफूले मान्यता नदिने बताए ।  ‘अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ । यो राज्य, राज्य होइन, पूर्वाग्रही पोको हो ।  कसैको अचाक्ली सम्पत्ति देखियो, अकुत सम्पत्ति देखियो भने छानबिन गरोस् । त्यो आयोग कि समिति के हो ? त्यो कुनै संवैधानिक आयोग, समिति केही पनि होइन, ’ ओलीले भने । उनले नयाँलाई छानबिन नगर्ने, सेनालाई छानबिन नगर्ने भन्दै पुरानालाई जसरी पनि फसाउनको लागि आयोग बनाइएको आरोप लगाए । 
‘यस्ता आयोगलाई हामी मान्यता दिँदैनौं । त्यसमा सम्पत्ति विवरण भरेर म पठाउन्नँ, जे जे गर्न सक्छ गरोस् । यो पूर्वाग्रह र प्रतिशोधको पोको हो, त्यो कुराहरू स्वीकार्य हुन सक्दैन । अकुत सम्पत्ति देखियो भने छानबिन गरोस् । आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण, खरानी भर्दिने मैले? सम्पत्ति विवरण फेरि चाहियो? आगो लगाएर पुगेन सम्पत्ति विवरण? खरानी छ उठाएर लैजा सरकार के को सम्पत्ति विवरण ?,’ ओलीले आक्रोस पोखे । 
सरकारले आयोगले पहिलो चरणमा २०६२÷६३ देखि २०८२ चैत ३० गतेसम्म राज्यका विभिन्न ओहोदामा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने बताएको थियो । तर, यस विपरीत वैशाख २ गते आयोगलाई दिइएको कार्यादेशमा भने अहिलेको मन्त्रिपरिषद् र संसद्मा पहिलो पटक नियुक्त भएका व्यक्तिहरूको सम्पत्ति छानबिन नगर्ने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाले स्वयं प्रधानमन्त्री बालेन शाहलगायत मन्त्रिपरिषद्का थुप्रै सदस्य र वर्तमान संसद्का धेरै सांसदलाई सम्पत्ति छानबिनबाट उन्मुक्ति दिएको भन्दै आलोचना भइरहेका बेला ओलीले पनि आपत्ति जनाएका हुन् ।
सभामुखको भूमिकामाथि प्रश्न  
स्वास्थ्यमा समस्या देखिएपछि केही समय यता सार्वजनिक मञ्चमा नदेखिएका ओली बुधबार निकै कडा सुनिए । प्रधानमन्त्री र सरकारविरुद्ध कडा रुपमा उभिएका ओलीले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि पनि प्रश्न उठाए । संसद्को रोस्ट्रमबाट ‘नेपालले भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री शाहलाई रूलिङ गर्न र चुप लगाउन नसकेका सभामुखले देशका पक्षमा बोल्ने सांसदहरूलाई कारबाही गर्न खोजेको ओलीको आरोप छ । 
‘गाई कि त्रिशूलजस्तो गर्दा भवितव्यले एकछिन कोही प्रधानमन्त्रीमा आइपुग्यो भन्दैमा देशको बारेमा जथाभावी गर्न मिल्दैन, दिइँदैन । यसबारे धेरै खेद गर्नुपर्ने कुराहरू छन् । म प्रतिपक्षी सांसदहरूलाई धन्यवाद दिन्छु, राष्ट्रियताका पक्षमा बोल्नुभएको छ । बोल्दा सुनिएन भनेर अलि माथि गएर बोल्नुभयो अरे, उनीहरूलाई कारबाही गर्ने अरे,’ उनले भने, ‘देशद्रोही कुरा गरेर अर्काको भूमि त्यो पनि भारतजस्तो विशाल देशको भूमि धेरै ठाउँमा नेपालले मिचेको छ भनेर कसलाई के सबुत दिन खोजेको ? यस्तो राष्ट्रघाती काम गर्दा प्रधानमन्त्रीका विरुद्ध कुनै रूलिङ नगर्ने, चुप लाग्नुस् भन्न नसक्ने सभामुखले देशका पक्षमा बोल्ने सांसदलाई कारबाही गर्न समिति बनाउने ? गर्नुस् गर्नुस् कारबाही, देशका पक्षमा बोल्ने यी नेपाली जनतालाई कारबाही गर्नुस्, तपाईं के के गर्न सक्नुहुन्छ ।’ संसद्मा अमर्यादित गतिविधि गरेका सांसदहरूमाथि छानबिन गर्न समिति गठन भएकोतर्फ ओलीको यो भनाइ लक्षित छ । 
नेतृत्व छाड्दिनँ
एमालेमा नेतृत्व परिवर्तनको बहस भइरहँदा ओलीले अध्यक्ष पद नछाड्ने पनि प्रष्ट पारेका छन् । पुस ३ गते अप्ठ्यारो अवस्थाको सामना गर्नका लागि महाधिवेशनले आफूलाई अध्यक्ष छानेको उनले बताए । 
‘अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री खान पाइने भो भने, कस्सिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर होइन । त्यसका निम्ति होइन,’ उनले भने, ‘जस्तोसुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको संघर्षको नेतृत्व गर्नु हो । संघर्षको नेतृत्व गर्नु, अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको हो ।’ उनले आफूले नेतृत्व छाड्छ भन्ने कुनै आशंका नराख्न पनि आग्रह गरे । ओलीले विधिसम्मत पार्टीका आफ्ना विधान, विधि, प्रक्रिया छन्, त्यसबमोजिम मात्रै विश्राम लिने पनि बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्