नेभिगेशन
मनोरञ्जन

दर्शक भेट्दै कलाकार

चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रका कलाकारले दर्शक भेटेर आफ्नो चलचित्रका बारेमा प्रतिक्रिया लिने क्रम बढेको छ । 
    पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित मोफसलका मुख्य सहरमा रहेका चलचित्र भवनमा पुगी दर्शकसँग भेट्दै चलचित्रको विषयमा प्रतिक्रिया लिने क्रम बढेको देखिन्छ । 
    यसले दर्शकको चाहनालाई प्रत्यक्ष रूपमा बुझ्न मद्दत गर्नुका साथै प्रचारप्रसारमा सहयोग हुने बुझाइ चलचित्रकर्मीको छ । सोही कारण काठमाडौं उपत्यकासँगै पोखरा, चितवन, नेपालगञ्ज, बुटवल, दमक, विर्तामोड, धरान, इटहरीलगायत प्रमुख सहरमा पुग्ने चलचित्रकर्मीको संख्या पछिल्लो समय बढ्दो छ । चलचित्र चल्नुमा कथावस्तु, पात्र र अभिनयजस्ता पक्षका साथ प्रचारप्रसारको महŒवपूर्ण भूमिका हुने भनाइ सम्बद्ध क्षेत्रबाट आएको छ ।  
    यसै सन्दर्भमा सम्मानित अदालतको आदेश, सम्बद्ध समुदायका अभियन्ताको विरोध समर्थन र प्रचारप्रसारका क्रममा अभिनेता तथा अभिनेत्रीहरूको देशव्यापी दौडधुपका कारण चलचित्र ‘लालीबजार’लाई दर्शकले मन पराएको देखिन्छ ।
    गत वैशाख २५ गतेदेखि प्रदर्शन भएको उक्त चलचित्रले घरेलुबजारमा रु आठ करोड बढीको कमाई गरिसकेको चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
    उक्त चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्काले नेपालभरका दर्शकसँग भेटघाट गरे । आफ्नो चलचित्रका बारेमा प्रत्यक्ष समीक्षा लिन र दर्शकलाई धन्यवाद दिन चलचित्र भवन पुग्ने गरेको अभिनेत्री खड्काले बताइन् ।
    उनले भनिन्, ‘हामीलाई दर्शकले दिनुभएको मायालाई प्रत्यक्ष भेटेर नै कृतज्ञता प्रकट गरिरहेका छौं । हामीले प्रत्यक्ष भेट्दा उनबाट पाउने प्रतिक्रिया र उनहरूको मुहारमा देखिने खुसीले थोरै भए पनि हाम्रो तर्फबाट धन्यवाद दिने मौका पाएँजस्तो लाग्छ । हामीलाई विश्वास गरेर आउनुभएका दर्शकलाई फर्किंदा पनि सोही विश्वास छ कि छैन भनेर पनि हामीले बुझ्ने मौका पाउँछौं ।’
    चलचित्र प्रदर्शन भएको चौथो सातामा पनि उनीसहित चलचित्रका कलाकार तथा निर्देशक दर्शकसँग भेटघाट गरिरहेका छन् । मोफसलका मुख्यसहरमा भेटघाट गरिसकेपछि अब काठमाडौं उपत्यकामै भेटघाट केन्द्रित हुने उनले बताए ।
    प्रायः चलचित्रको प्रचारमा सहभागी नहुने अभिनेता विपिन कार्की पनि यसपटक चलचित्र भवन पुगेर दर्शकसँग साक्षात्कार गरे । अभिनयमा अब्बल मानिने अभिनेता कार्की कलाकारको काम चलचित्र प्रचारभन्दा बढी निर्माणमा हुने मान्यता राख्छन् । यद्यपि, यसपटक उन गत जेठ ८ देखि प्रदर्शनरत चलचित्र ‘काजी’का लागि चलचित्र भवन पुगे ।
    ‘दर्शकसँग भेटघाट गरेर प्रतिक्रिया लिँदा हामीले गरिरहेको कामका बारेमा प्रत्यक्ष बुझ्ने मौका पाउछौं, यो प्रायः रंगमञ्चमा हुन्छ भने पछिल्लो समय चलचित्र प्रदर्शन भएपछि हुने गरेको छ । म पनि चलचित्र प्रदर्शन भएका बेला समय मिलेसम्म दर्शक भेट्ने गर्छु,’ अभिनेता कार्कीले भने ।
     हाल चलचित्र भवनमा प्रदर्शनरत चलचित्र ‘मितज्यू’का अभिनेता दयाहाङ राई पनि समय मिलाएर चलचित्र भवन पुगिरहेका छन् । यसका साथै, चलचित्र ‘रोल नम्बर १’ अभिनेता मुकुन भुसाल, सुशांक मैनालीलगायतले चलचित्र प्रदर्शन भएपछि काठमाडौं उपत्यका अगाडि मोफसल पुगेर दर्शक भेटे ।    
    पछिल्लो समय नेपाली चलचित्र प्रदर्शन भएको साता वा चलचित्र भवनमा राम्रो दर्शक हुँदा कलाकारसहित निर्माण समूह दर्शकलाई भेट्न पुग्ने गरेका छन् ।
    यसले चलचित्रको बारेमा प्रतिक्रिया पाउनुका साथै प्रचारप्रसार पनि हुने निर्माता तथा निर्देशकको भनाइ छ । चलचित्र भवन पुगेका कलाकारलाई भेट्ने, तस्बिर र श्रव्यदृश्य खिचेर दर्शकले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने भएकाले पनि त्यसले प्रचार हुने विश्वास चलचित्रकर्मीको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन