नेभिगेशन
स्वास्थ्य

मुस्ताङ अस्पतालमा बढ्न थाले बिरामी, शय्या अपुग हुँदा चुनौती

मुस्ताङ । प्रदेश अस्पताल जोमसोममा पछिल्लो समय बिरामीको सङ्ख्या दैनिक रूपमा वृद्धि हुन थालेको छ। जिल्लाकै एक मात्र २५ शय्याको अस्पतालमा आउने बिरामीको सङ्ख्या वृद्धिसँगै व्यवस्थापन पक्षमा समस्या र चुनौती थपिन थालेको छ।
गर्मीयाम सुरु भइसकेको र पर्यटकलाई मुस्ताङ भ्रमण गर्न अनुकूल भएकाले यहाँको प्रदेश अस्पताल जोमसोममा बिरामीको सङ्ख्या अपेक्षाकृत रूपमा ह्वात्तै बढेको प्रदेश अस्पताल जोमसोमका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले जानकारी दिइन्। गर्मीयाम भएकाले मुस्ताङका स्थानीय बेसी छोडेर जिल्ला फर्किएका र यहाँ आएका पर्यटक विभिन्न कारणले बिरामी पर्ने समस्याले अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि हुन पुगेको उनले बताइन‍्।
मुस्ताङ आएका कतिपय पर्यटकलाई लेक लाग्ने भएकाले यस्ता प्रकृतिका बिरामी सेवा लिन आउने गरेका डा कँडेलको भनाइ छ। गर्मीयामका कारण हुने बिरामी नभइ विभिन्न प्रकारका समस्याले पर्यटक, स्थानीय र ज्याला मजदुरी गर्ने सर्वसाधारण बिरामी हुने भएकाले अस्पतालमा बिरामीको सङ्ख्या बढेको उनी बताउँछन्।
प्रदेश अस्पताल २५ शय्याको भनिए पनि १५ शययाको मात्रै छ। नयाँ बन्दै गरेको अस्पताल भवन पनि १५ शय्यामै बनेको तर हस्तान्तरण हुन बाँकी छ। प्रदेश सरकारले शय्या‍ अपग्रेड गरेको भए पनि साविककै पूर्वाधारबाट सेवा प्रवाह हुँदा बिरामीको चाप व्यवस्थापनमा समस्या देखिन गरेको छ। पछिल्लो समय मुक्तिनाथ दर्शनार्थीको सङ्ख्या बढेसँगै अस्पतालको सेवा लिने पर्यटकको सङ्ख्या पनि बढ्दै जान थालेको अस्पतालले जनाएको छ।
हाल तीन कोठामा २५ शय्यामा बिरामीलाई वार्डमै राखेर इमरजेन्सी सेवा प्रवाह गर्ने गरिएको छ। अस्पतालमा प्रसूति सेवासँगै अन्य सेवा उपलब्ध भएकाले बिरामीले अस्पताल खचाखच हुन पुगेको हो। जोमसोमस्थित प्रदेश अस्पतालमा चालु आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म कुल आठ हजार ६६७ जनाले स्वास्थ्य सेवा लिएका अस्पतालले जनाएको छ।
प्रदेश अस्पतालमा ४२ जनाको जनशक्ति रहेको डा कँडेलले उल्लेख गरिन्। स्वास्थ्य सेवा प्रवाहतर्फ एक एमडीजीपी चिकित्सकसहित ६, अस्पताल नर्सिङ निरीक्षक दुई, स्टाप नर्स दुई, नर्सिङ अधिकृत दुई, स्वास्थ्य सहायक दुई र अनमी दुई जना छन्। अस्पतालअन्तर्गत मुक्तिनाथमा स्वास्थ्य सहायक तीन र कार्यालय सहयोगी एक जना रहेका अस्पतालले जनाएको छ। रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्