काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन कतै शान्तिपूर्ण त केही स्थानमा भने चर्को विवाद भएको छ । शनिबारका लागि ३६ जिल्लामा अधिवेशन तोकिएकोमा अधिकांश जिल्लामा शान्तिपूर्ण रुपमा अधिवेशन सम्पन्न भएपनि केही जिल्लामा भने विवाद हुँदा हात हालहालको अवस्था बनेको छ ।
रास्वपाले शनिबार ३६ जिल्ला र आइतबार २५ जिल्लाको अधिवेशनका लागि पार्टीका तल्लो समितिहरूलाई स्वीकृति दिएको रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए । रास्वपा निर्वाचन आयोगका अनुसार १६ जिल्लामा भने अर्को चरणमा अधिवेशन गर्ने तयारी छ । कतिपय जिल्लामा वडा र स्थानीय तहको अधिवेशन सम्पन्न नहुँदा निर्धारित समयमा हुन नसकेको र हिमाली लगायतका जिल्लामा विधानले तोकेबमोजिम जिल्ला अधवेशनको मापदण्ड नपुगेकोले अधिवेशन पछि गर्न लागिएको हो । जिल्ला अधिवेशन नभएका जिल्लाबाट पनि महाधिवेशनमा प्रतिनिधित्व भने सुनिश्चित हुने रास्वपा निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले बताए ।
महाधिवेशन अघि नै ७७ मध्ये ६७ जिल्लामा निर्वाचन सम्पन्न गर्ने रास्वपाको कार्यतालिका छ । जसअनुसार शनिबार सातवटै प्रदेशका गरी जम्मा ३८ जिल्लाहरूमा मतदान तथा नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ । आइतबार विभिन्न प्रदेशका थप २७ जिल्लाहरूमा निर्वाचन हुनेछ । विशेष सांगठनिक परिस्थितिका कारण थप एउटा जिल्लाको निर्वाचन जेठ २६ गते हुनेछ ।
सोही दिन बागमती प्रदेशबाट प्रादेशिक अधिवेशनको सुरुवात गरिने तालिका छ । कार्यतालिकामा समावेश नभएका देशका बाँकी १० जिल्लाहरूको अधिवेशन भने महाधिवेशन सम्पन्न भएपश्चात् क्रमशः गरिने रास्वपाको निर्वाचन आयोगले बताएको छ । आयोगले यस आन्तरिक लोकतान्त्रिक अभ्यासलाई स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्पूर्ण सरोकारवालाहरूसँग अनुरोध समेत गरेको छ ।
जेठ २६ गतेदेखि रास्वपाको प्रदेश अधिवेशन सुरु हुँदै छ । प्रदेश अधिवेशनहरू सञ्चालन गर्न ७ वटै प्रदेशमा ५ सदस्यीय प्रदेश निर्वाचन समिति गठन गरी कार्य प्रारम्भ भइसकेको रास्वपाले जनाएको छ ।
केही जिल्लामा विवाद र झगडा
रास्वपा पर्साको जिल्ला अधिवेशनअघि प्रतिनिधि छनोटलाई लिएर पार्टीभित्रको विवाद उग्र बन्दै जाँदा कार्यकर्ताबीच शनिबार कुटाकुट भएको छ । सो क्रममा रास्वपाका केही कार्यकर्ता घाइते भएका छन् । आइतबार हुने जिल्ला अधिवेशनको तयारीस्वरूप वीरगन्ज–९ स्थित जिल्ला प्रशासन कार्यालय नजिक रहेको गेटवे होटलमा शनिबार निर्वाचन प्रक्रिया चलिरहेका बेला दुई पक्षबीच विवाद चर्किएको थियो । जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोटको विषयमा असन्तुष्टि जनाउँदै एक पक्षले अधिवेशन स्थगित गर्न माग गरेको थियो । त्यसक्रममा भएको विवादले उग्र रूप लिएपछि कार्यकर्ताबीच कुटाकुट भएपछि मनोनयन दर्ताको कार्यक्रम स्थगित भएको छ ।
सुनसरी जिल्ला अधिवेशनमा पनि विवाद भएको छ । अधिवेशनमा प्रतिनिधिबाट हटाएको विरोधमा केही युवा धर्नामा बसेका थिए । उनीहरूलाई हटाएर चुनावी प्रक्रिया सुरु गरेपछि विवाद हुने क्रममा दुई पक्षबीच हात हालाहाल भएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले समान्य विवाद भएपनि विवाद मिलेपछि मतदान अघि बढेको बताए । सुनसरीको जिल्ला सभापतिमा सागर दाहाल, मोहन निरौला, चक्रबहादुर विष्ट र कृष्ण रौनियार दाबेदार छन् ।
कास्कीमा १ मत बढी ल्याउँदा अधिकारी सभापति
रास्वपा) कास्कीको प्रथम जिल्ला अधिवेशनबाट यदुनाथ अधिकारी सभापतिमा निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न अधिवेशनमा आफ्ना निकटतम प्रतिस्पर्धी एकराज न्यौपानेलाई १ अधिकारी विजयी भए । निर्वाचन समितिका अनुसार अधिकारीले ११५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी न्यौपानेले ११४ मत ल्याए । कुल २३३ मत खसेकोमा ४ जना मतदाताले कसैलाई पनि मत दिएनन् ।
‘योगदानको हिसाब खोज्ने प्रवृत्ति हितकर हुँदैन’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्थापनाकालमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’ को हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताएका छन् । पार्टी स्थापनाको चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएको भन्दै उनले यसलाई समयमै सच्याउनुपर्नेमा जोड दिएका छन् । रास्वपाको पहिलो महाधिवेशनको प्रक्रिया अन्तर्गत वडा र पालिका तहका अधिवेशनहरू सम्पन्न भई शनिबारदेखि जिल्ला अधिवेशनहरू सुरु भएको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
लामिछानेले पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति पनि कहिलेकाहीँ देखिएको उल्लेख गरेका छन् । ‘यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता हो,’ उनले भने,‘युगले दिएको अभिभारा पूरा गर्न अब ‘म’ बाट ‘हामी’ मा रूपान्तरण हुने बेला आएको छ ।’
पार्टी संगठन विस्तार हुँदा ‘म रहन्न कि’ भन्ने संकीर्ण चिन्तालाई त्याग्न आग्रह गर्दै उनले पार्टी ठूलो हुँदा सबैको भूमिका अझ अर्थपूर्ण हुने बताए । रास्वपा आज जहाँ छ, त्यो केवल केही व्यक्तिको योगदानले नभई सबैभन्दा माथि मतदाताको विवेक र पार्टीका सम्पूर्ण सदस्यहरूको समर्पणले सम्भव भएको उनको भनाइ छ ।
अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभएर पार्टीको अनन्तकालीन जीवन, विधि–पद्धति, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने ऐतिहासिक अवसर भएको सन्देशमा उल्लेख छ । संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिहरू अपनाएर नेतृत्व चयन गरिनु नै रास्वपाको संस्कार भएको भन्दै उनले यसै प्रक्रियाबाट पार्टी अझ बलियो र परिपक्व बन्दै जाने विश्वास व्यक्त गरेका छन् । ‘हामीले रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टी बनाउने लक्ष्य लिएका छौं । त्यसका लागि विचार मात्र होइन, हाम्रो शैली, व्यवहार र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्छ । पुरानै सोच, शैली र प्रवृत्ति बोकेर हामी नयाँ र परिस्कृत जनमैत्री शक्ति बन्न सक्दैनौं,’ लामिछानेले भनेका छन् ।
रास्वपाको लक्ष्य अब केवल वैकल्पिक शक्ति बन्ने मात्र नभई मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने रहेको बताए । पुराना साथीहरूले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले पार्टीको यात्रालाई यहाँसम्म ल्याएको भन्दै उनले राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन सबैलाई धैर्य, त्याग र समर्पण देखाउन पनि आग्रह गरेका छन् ।