नेभिगेशन
स्वास्थ्य

लगातार थकान भइरहेको छ ? भिटामिनको अभाव हुनसक्छ

लन्डन, (एजेन्सी) । लगातार थकानको समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने मानिसको संख्या उल्लेखनीय रहेको बेला नयाँ अध्ययनले भिटामिन बी १२ र फोलेटको कमीलाई पनि सम्भावित कारणका रूपमा गम्भीरतापूर्वक लिनुपर्ने संकेत गरेको छ ।
जापानमा गरिएको एक अध्ययनले शरीरमा बी १२ वा फोलेटको कमीको सूचक मानिने होमोसिस्टिनको उच्च स्तर र थकानबीच सम्बन्ध रहेको देखाएको छ । अनुसन्धानकर्ताहरूका अनुसार शरीरमा यी भिटामिनहरूको कमी भएमा शारीरिक थकान मात्र होइन, मानसिक उत्साह र प्रेरणामा समेत असर पर्न सक्छ ।
बी १२ र फोलेट शरीरका विभिन्न चयापचय प्रक्रियाका लागि आवश्यक पोषक तत्त्व हुन् । यी डीएनए निर्माण, शरीरका कोषहरूको वृद्धि तथा मर्मत र मनोभाव तथा प्रेरणासँग सम्बन्धित रसायन उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।
ब्रिस्टल विश्वविद्यालयका शैक्षिक जीपी डा. ड्यान बाउमगाड्र्टका अनुसार थकानका सम्भावित कारणहरू धेरै हुन्छन् र चिकित्साशास्त्रमा प्रायः सबैजसो रोगले कुनै न कुनै रूपमा थकान निम्त्याउन सक्छन् । गर्भावस्था, डिप्रेसन, कार्बन मोनोअक्साइड विषाक्तता तथा दीर्घकालीन थकान सिन्ड्रोमजस्ता अवस्थाहरू पनि त्यसका कारण हुन सक्छन् ।
हाल प्रचलित स्वास्थ्य निर्देशिकाअनुसार बी १२ र फोलेटको रक्त परीक्षण गरिए पनि ती परीक्षणहरूलाई प्राथमिक जाँचका रूपमा लिइँदैन । वारविक मेडिकल स्कुलका जीपी तथा प्राध्यापक डा. जेम्स गिलका अनुसार रगतमा देखिने बी १२ वा फोलेटको स्तरले शरीरका ऊतकहरूमा रहेको वास्तविक अवस्थालाई सधैं सही रूपमा प्रतिबिम्बित नगर्न सक्छ ।
यसै कारण होमोसिस्टिन परीक्षणलाई केही विशेषज्ञहरूले बढी उपयोगी मान्छन् । यद्यपि यस्तो परीक्षण धेरै ठाउँमा सहज रूपमा उपलब्ध छैन र प्रायः अस्पतालका विशेषज्ञ चिकित्सकमार्फत मात्र गरिन्छ ।
न्युट्रिएन्ट्स नामक वैज्ञानिक पत्रिकामा प्रकाशित अध्ययनका क्रममा ६ सयभन्दा बढी व्यक्तिको शारीरिक तथा मानसिक थकानको मूल्याङ्कन गरिएको थियो । साथै उनीहरूको रगतमा बी १२, फोलेट र होमोसिस्टिनको स्तर मापन गरिएको थियो ।
अध्ययनले होमोसिस्टिनको स्तर उच्च भएका पुरुषहरूमा थकान बढी देखिएको जनाएको छ । महिलाहरूमा भने मानसिक प्रेरणा र उत्साह कम भएको पाइएको छ । तर बी १२ र फोलेटको साधारण रक्त परीक्षणले थकानसँग केवल कमजोर सम्बन्ध मात्र देखाएकाले ती परीक्षणहरूको सीमितता पनि अध्ययनले उजागर गरेको छ ।
ओसाका मेट्रोपोलिटन विश्वविद्यालयका प्राध्यापक हिरोआकि कानोउचीका अनुसार अध्ययनले भिटामिनको कमी नै थकानको प्रत्यक्ष कारण हो भनेर प्रमाणित नगरे पनि लगातार थकान भएका व्यक्तिहरूमा बी १२ वा फोलेट पूरक सेवनको प्रभावबारे थप अध्ययन आवश्यक रहेको संकेत गरेको छ ।
विशेषज्ञहरूका अनुसार बी १२ को कमी हुँदा मुखमा घाउ आउने, खुट्टामा झमझम हुने तथा सोचाइ स्पष्ट नहुने समस्या देखिन सक्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाहअनुसार उपचार वा पूरक सेवन गर्न सकिन्छ ।
बी १२ मुख्य रूपमा मासु तथा बी १२ मिसाइएका खाद्य पदार्थबाट प्राप्त हुन्छ भने फोलेट सिमी, गेडागुडी र हरियो पातदार तरकारीमा प्रशस्त पाइन्छ । भेगन आहार अपनाउने, क्रोन्स रोग भएका, मेटफोर्मिन सेवन गर्ने तथा पेटको अम्लता कम गर्ने औषधि प्रयोग गर्ने व्यक्तिहरूमा यी भिटामिनको कमी हुने जोखिम बढी रहने चिकित्सकहरूको भनाइ छ ।
स्वास्थ्य विज्ञहरूले लामो समयसम्म थकान महसुस भइरहेमा फलामको कमी वा मधुमेहको परीक्षणमा मात्र सीमित नरही बी १२ र फोलेटको अवस्थाबारे पनि चिकित्सकसँग परामर्श गर्न सुझाव दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्