नेभिगेशन
राजनीति
कांग्रेसमा संवादहीनता

पूर्णबहादुर भन्छन् – गगनसँग कुरा नभएको ३१ दिन भयो

काठमाडौं । कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले पार्टी सभापति गगन कुमार थापाले पार्टी एकताका लागि प्रयास नगरेको टिप्पणी गर्दै ३१ दिनदेखि कुनै संवाद नभएको बताएका छन् । पार्टीभित्रको विवाद चर्किरहेका बेला संस्थापन पक्ष खड्कासँग सम्पर्कमा रहेको चर्चाका बीच खड्काले स्टाटस लेखेरै उक्त विषयको खण्डन गरेका हुन् । 
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्पत खड्काले सभापति थापासँग सम्पर्क÷संवाद नभएको आज ३१ दिन भएको बताए । उनले आफूले दुई महिनादेखि पार्टी एकताको लागि प्रयत्न गर्दा पनि कुनै प्रगति नभएको उनले बताएका छन् । ‘म अन्ततः यो स्टाटस लेख्न बाध्य भएको छु । विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएका विभिन्न भ्रमपूर्ण हल्लाबाट प्रभावित नहुन पार्टीका सबै तहका पदाधिकारीहरू, नेताहरू र क्रियाशील सदस्य साथीहरू सबैमा म प्रष्ट पार्न चाहन्छु,’ उनले लेखेका छन्, ‘सभापति गगनकुमार थापाजीसँग मेरो कुनै पनि प्रकृतिको सम्पर्क÷संवाद नभएको आज ३१ दिन भयो ।’
उनले केही दिनदेखि विकसित राजनीतिक घटनाक्रमबाट आफू चिन्तित भएको पनि बताएका छन् । पार्टीको १५औं महाधिवेशन र यसअघि नवीकरण गराएका तथा नयाँ क्रियाशीलहरूलाई अध्यावधिकको नाममा दबाब दिइएको भन्दै देशभरबाट आफूलाई फोन आइरहेको बताएका छन् । 
‘१५ औं महाधिवेनका लागि हामीले नवीकरण गराएका र नयाँ क्रियाशील सदस्य साथीहरूलाई अध्यावधिकको नाममा दिइएका दबाबका कुराहरू देशैभरिबाट फोनबाट ४÷५ दिनदेखि मलाई साथीहरुले जुन तरिकाले जानकारी गराइराख्नु भएको छ यो प्रवृत्ति पार्टी जीवनका लागि अत्यन्त घातक छ, म सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु,’ उनले भनेका छन्, ‘हामीले १५ औं महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यता लिएका साथीहरुलाई अध्यावधिक नगरेको निहुँमा कसैलाई १५औं महाधिवेशनमा भाग लिनबाट कसैले बञ्चित गर्न–गराउन सक्तैन ।’ उनले सबैलाई महाधिवेशनमा स्वतः भाग लिन पाउने व्यवस्था सुनिश्चित गर्नु नै जिम्मेवारी भएको भन्दै ढुक्क हुन पनि नेता कार्यकर्तालाई आह्वान गरेका छन् । 
‘नेताहरूको क्रियाशील सदस्यता अद्यावधिक स्वतः केन्द्रले गराइदिन्छ भन्ने दुई दिनदेखि फैलाइएका अफवाहहरू पार्टी पङ्तिमा भ्रम पार्न गराइएका हल्ला मात्र हुन्,’ उनले लेखेका छन् । कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको समय सकिएपछि शनिबार एक हप्ताका लागि समय बढाइएको छ । करिब ८ लाख क्रियाशील सदस्यता रहेको कांग्रेसका साढे ४ लाखले मात्रै हालसम्म अद्यावधिक गराएका छन् । खड्कासहितको संस्थापनइतर समूहले विशेष महाधिवेशन अघि नै क्रियाशील नवीकरण भइसकेकाले त्यसैलाई मान्यता दिनुपर्ने र अध्यावधिक गर्न नपर्ने अडान राखिरहेको छ । तर, संस्थापन पक्षले अद्यावधिक नगर्नेलाई १५औं महाधिवेशनको प्रक्रियामा सहभागी हुन नदिने बताएपछि कांग्रेसभित्र विवाद जारी छ । 
कांग्रेसका सहमहामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइलीले पार्टीले कसैलाई पनि स्वतः क्रियाशील सदस्यता अद्यावधिक नगर्ने बताएका छन् । ‘कांग्रेस पार्टीभित्र कुनै पन व्यक्तिलाई अद्यावधिकमा छुट हुने वा स्वतः अद्यावधिक गरिदिने भन्ने हुँदैन, पार्टीले गरेको निर्णय सबैले मान्नुपर्छ, पार्टीका सबैलाई एकै नियम हो,’ उनले भने ।  गत पुससम्म क्रियाशील सदस्यता नवीकरण गरेकाहरूलाई थप विवरण माग गर्दै वैशाख १ देखि कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गरिरहेको छ । अद्यावधिक कार्य जेठ २८ गते मध्यरात १२ बजेसम्म गर्न सकिने उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्