नेभिगेशन
राजनीति

रास्वपाले बोलायो सर्वदलीय बैठक, फुक्ला त गाँठो ?

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार बस्नेगरी सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह पूर्वसूचनाविनै संसद्मा आएर प्रश्नोत्तरमा भाग लिँदै गैरजिम्मेवार अभिव्यक्ति दिएर गएयता विपक्षीले लगातार विरोध गरिरहेका छन् । सभामुख डीपी अर्यालले न ‘प्रधानमन्त्री शाहलाई सदनमा आएर माफ माग्नुस्’ भन्ने सकेका छन्, न त विपक्षीलाई चित्तबुझ्दो जवाफ दिएर बैठक सञ्चालनको बाटो खोल्न सकेका छन् । सभामुख सत्तापक्षकै कार्यकर्ता जसरी प्रस्तुत भइरहँदा बैठक चल्नै नसक्ने अवस्था छ । दायित्वअनुसार गतिरोध फुकाउन सभामुख अर्यालले तदारुकता देखाउन नसकेपछि लामिछाने अघि सरेका हुन् । 
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने गरी सर्वदलीय बैठक बोलाइएको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।  बैठक बिहान ९ बजे बस्नेछ । 
समसामयिक राजनीतिका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको बुर्लाकोटीले बताए । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष÷सभापतिसहित दुईजना सहभागी हुन आमन्त्रण गरिएको छ ।  
आइतबार सभापति लामिछानेले पार्टी वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री  शाह भेट्न उनको सरकारी निवास बालुवाटार पुगेका थिए । शाहसँगको भेटलगत्तै उनले सर्वदलीय बैठक आह्वान गरेका हुन् । 
प्रधानमन्त्री शाहले नेपाल–भारत सीमाका विषयमा दिएको विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले प्रश्न उठाएपछि गत मंगलबार बैठक स्थगित भएपछि जेठ २५ गते सोमबार ११ बजे बस्ने भनिएको थियो । त्यतिैबला रास्वपा सभापति लामिछाने भारत भ्रमणमा थिए । 
विपक्षी दलहरुले प्रधानमन्त्री शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले रोष्ट्रमबाट सार्वजनिक माफी माग्नुपर्ने अडान राखिरहेका छन् । तर, संसद् बैठक स्थगन गरे पनि सभामुख अर्यालले विपक्षी दलहरुसँग सदनको अवरोध हटाउनेबारे छलफल गरेका छैनन् । सभामुख अर्यालको भूमिका तटस्थ नदेखिएको र विपक्षीलाई पेल्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेससहितले गत सोमबार सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकनै बहिष्कार गरेका थिए । कांग्रेस र एमालेले संसदीय समिति समेत बहिष्कार गरेका थिए । आज बस्ने संसद् बैठक पनि आफ्ना माग पूरा नभए अवरोध गर्ने विपक्षीको तयारी छ । ‘राष्ट्रियता र सीमाका बारेमा कांग्रेस प्रष्ट छ । राष्ट्रिय हित नै सर्वोपरि स्थानमा छ । देशलाई कुनै पनि सौदाबाजीको विषय बनाइनुहुन्न भन्नेमा हाम्रो प्रष्ट अडान छ,’ कांग्रेस प्रवक्ता देवराज चालिसेले भने, ‘संसद्मा हामीले उठाएका विषयमा हाम्रो अडान कायम छ ।’
संसद्को अवरोध हटाउन सभामुख अर्यालले बैठक स्थगित भएको ५ दिनसम्म पनि कुनै पहल गरेका छैनन् । रास्वपा सभापति लामिछानेले  समसामयिक राजनीतिक विषयमा सर्वदलीय बैठक बोलाएका हुन् । 
विपक्षी दलहरुले प्रधानमन्त्री शाहको विवादित अभिव्यक्ति सच्चिए संसद्को अवरोध खुलाउन तयार रहेको बताएका छन् । विपक्षी दलहरुले प्रधानमन्त्री शाहको विवादित अभिव्यक्तिमा सत्तारुढ दलको रास्वपाको धारणा समेत माग गरिरहेका छन् । 
भारत भ्रमणबाट फर्किएलगत्तै लामिछानेले शुक्रबार प्रधानमन्त्री शाहको  विवादित भनाइबारे परराष्ट्र मन्त्रालयले बोलिसकेपछि थप अघि नबढ्नुपर्ने बताएका छन् । ‘परराष्ट्र मामिलासँग सम्बन्धित विषय, परराष्ट्र सम्बन्धका विषय, कुनै देशसँगको सम्बन्धको विषय, परराष्ट्र नीतिजस्ता विषय त्यो पार्टी विशेष हुँदैन । देशको हुन्छ,’ लामिछानेको भनाइ छ, ‘परराष्ट्र मन्त्रालयले हामीले भन्न खोजेको के हो, त्यसको वास्तविकता यो हो भनेर आधिकारिक रुपमा जानकारी गराइसकेपछि त्यो भन्दा धेरै खोज्नपर्ने जस्तो लाग्दैन ।’ लामिछानेको यो भनाइले उनी विपक्षी दलले माग गरेजस्तो अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले माफी माग्नुपर्ने पक्षमा देखिँदैनन् । तर, विपक्षी दल आफ्नो मागमा कायम रहेका बेला उनले बोलाएको सर्वदलीय बैठक औपचारिकता मात्र बन्छ वा बढ्दै गएको विवाद समाधान गर्न सफल हुन्छ ? चासोका साथ हेरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्