नेभिगेशन
साहित्य

‘त्यो नेपाल’को फ्रान्सेली संस्करण

ददी सापकोटाद्वारा लिखित ‘त्यो नेपाल’ नामक पुस्तक काठमाडौँमा आयोजित एक कार्यक्रमबीच विमोचन गरियो । फ्रान्सेली भाषामा लेखिएको उक्त पुस्तक नेपाललाई कर्मथलो बनाएका फ्रान्सेली नागरिकको अनुभवका आधारमा तयार गरिएको जनाइएको छ । 
    पुस्तकमा नेपालप्रति फ्रान्सेली समुदायको दृष्टिकोण, अनुभव तथा उनीहरूले नेपालमा बिताएका विभिन्न क्षण समेटिएको बताइएको छ । पुस्तकको विमोचन आलियन्स फ्रन्सेका डिरेक्टर मस्यु सिल्भाँ श्वाँ, फ्रान्सका लागि नेपाली दूतावास पेरिसका पूर्वकूटनीतिज्ञ रामबाबु ढकाल, निरज भारी तथा लेखक सापकोटाले संयुक्त रूपमा गरेका थिए ।
    कार्यक्रमलाई सम्बोधन गर्दै डिरेक्टर सिल्भाँ श्वाँले पुस्तकले नेपाललाई कर्मथलो बनाएका फ्रान्सेलीको अनुभव प्रस्तुत गरेको उल्लेख गर्दै यसले पाठकलाई नेपालबारे थप जानकारी र नयाँ दृष्टिकोण प्रदान गर्ने विश्वास व्यक्त गरे ।
    लेखक ददीराम सापकोटाले पुस्तक लेख्ने क्रममा आफूले पेरिसका विभिन्न स्थानमा पुगेर नेपालसँग सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेको बताए । उनले व्यापक अध्ययन, अनुसन्धान र अनुभव सङ्कलनपछि पुस्तक तयार गर्न सफल भएको जानकारी दिए ।
    कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै पूर्वकूटनीतिज्ञ रामबाबु ढकालले नेपाल–फ्रान्स सम्बन्ध तथा सांस्कृतिक आदानप्रदानलाई पुस्तकले थप उजागर गर्ने विश्वास व्यक्त गरे । फ्रान्सेली भाषामा प्रकाशित ‘त्यो नेपाल’ नामक  पुस्तकले नेपाललाई आफ्नो कर्मभूमि बनाएका फ्रान्सेलीको अनुभव र दृष्टिकोणलाई पाठकमाझ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्