नेभिगेशन
राजनीति

४७ दिनपछि गुरुङ फेरि गृहमा

महावीर पुन पनि मन्त्री, पाए नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका गोरखा–१ का सांसद सुधन गुरुङ पुनः गृह मन्त्रालयमै फर्किएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई पुनः गृहमन्त्री बनाएका हुन् ।
गुरुङ २७ दिन गृहमन्त्री थिए । सम्पत्ति विवरण सार्वजनिक गर्दा विवादमा परेपछि पदबाट राजीनामा दिएका थिए । मंगलबार गुरुङ पुनः गृहमन्त्री बन्दा स्वतन्त्र उम्मेदवारी दिएर म्याग्दीबाट प्रतिनिधिसभा सदस्य बनेका महावीर पुन पनि सरकारका सामेल भएका छन् । उनलाई शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिएका छन् । 
गुरुङ गृहमन्त्री रहेका बेला पक्राउ परेका विवादित व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी देखिएपछि विवादमा तानिएका थिए । आलोचना भएपछि वैशाख ९ गते उनले पदबाट राजीनामा दिएका थिए । त्यसपछि गुरुङमाथि लागेको अस्वाभाविक सम्पत्ति र भट्टसँगको व्यापारिक साझेदारीको विषयमा अध्ययन गर्न सरकराले समिति बनाएको थियो । उक्त गठित समितिले सरकारलाई मंगलबार प्रतिवेदन बुझाएको घोषणा गरिएलगत्तै उनलाई  गृहमन्त्रीमा शपथ ग्रहण गराइएको हो ।
शपथ ग्रहणको केहीबेरअघि सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले गुरुङको सम्पत्ति र लगानीका विषय उठेका सवालमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको र सरकारले त्यसलाई ग्रहण गर्ने निर्णय गरेको बताएका थिए ।    
४७ दिनपछि पुरानै जिम्मेवारीमा फर्किएका गुरुङले मन्त्रालय पुगेर पदभार ग्रहणलगत्तै विभिन्न निर्णय गरेका छन् । ०५८ जेठ १९ मा भएको राजदरबार हत्याकाण्डको थप छानबिन अघि बढाउने उनको निर्णय छ । ‘जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा लगाइएका फौजदारी अभियोजनका मुद्दाहरू फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिससहितको प्रतिवेदन पेस गर्न विशेष कार्यदल गठन गरिनेछ,’ गृहमन्त्री गुरुङको निर्णय छ, ‘ गृह मन्त्रालय र सुरक्षा निकायबाट हुने संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सूक्ष्म निगरानी गरी कारबाही गर्न सुरक्षा निकायमा सेन्सेटिभ इन्फर्मेसन भिजिलियन्स टिम (एसआईभीटी) गठन गरिनेछ ।’ यसैगरी उनले केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने, छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने  र हरेक फाइल खोल्ने निर्णय गरेको बताए । 
त्यस्तै, सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्री बनेका महावीर पुन प्रतिनिधिसभा निर्वाचनमा भाग लिन राजीनामा दिएर बाहिरिएका थिए । पुनले उम्मेदवारी दिएपछि उनलाई समर्थन गर्दै आफ्नो उम्मेदवारलाई उठ्न नदिएर निर्वाचनमा रास्वपाले सघाएको थियो । संसद्मा उनीमात्रै एक्ला स्वतन्त्र सांसद थिए । 
नवप्रवर्तनका पक्षमा लामो समय देखि वकालत गर्दैै आएका पुनलाई प्रधानमन्त्री शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनले तीन वर्ष मन्त्रालयको नेतृत्व गरेर थिति बसाएपछि बाहिरिने घोषणा गरेका छन् । मन्त्रालय पुगेर पदभार ग्रहणपछि उनले भने, ‘म यो मन्त्रीको पदमा धेरै बस्दिन, सरकार पाँच वर्षको भए पनि म बढीमा तीन वर्ष मात्रै बस्ने हो ।’ आफ्नो कार्यकालमा विज्ञान प्रविधिसम्बन्धी जग बसालेर नयाँ पुस्तालाई जिम्मेवारी दिने उनको भनाइ छ । ‘अरु मन्त्रालयको आआफ्नो नियम छ, मन्त्रालय र मन्त्री नयाँ भएको हुनाले शून्यबाट सुरु गर्नुपर्ने छ, नयाँ नियम बनाउनुपर्नेछ,’ उनले भने ।
दुई मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ । यसअघि मन्त्रिपरिषद्को सबैभन्दा जेष्ठ सदस्य उद्योगमन्त्री गौरीकुमारी ५४ वर्षकी थिइन् । अब ७२ वर्षीय पुन मन्त्रिपरिषद्का सबैभन्दा जेष्ठ सदस्य भएका छन् ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्