काठमाडौं, २४ भदौ - प्रधानमन्त्री केपी शर्मा ओलीले संयमता गुमाउँदा मंगलबार जेनजी प्रदर्शनबाट देशले ठूलो क्षति बेहोर्नु परेको छ । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायत धेरै संरचनामा दनदनी आगो लाग्यो । सरकारी सम्पत्ति मात्रै नभई निजी निजी सम्पत्तिमाथि पनि तोडफोड, लुटपाट र आगजनी भयो । अझ प्रमुख तीन राजनीतिक दलका नेता जोडिएका व्यवसाय प्रदर्शनकारीको निशानामा परे ।
प्रधानमन्त्री ओलीले मंगलबार बिहान राजीनामा गरेर भागेपछि परिस्थिति झन बल्झियो । देश नेतृत्वविहिन भयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना मुकदर्शक बने । यहीकारण प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिसँगै निजी सम्पत्तिमा तोडफोड र आगजनी गरे । जसबाट अर्बौं होइन खर्बौंको क्षति भएको छ । जसको लेखाजोखा गर्न निकै कठिन हुनेछ ।
प्रदर्शन उग्र रुपमा बढ्दै गएपछि राज्य संयन्त्र र केही जिम्मेवार व्यक्तिहरुले राज्यका सम्पत्तिमा क्षति नपुर्याउन आग्रह गरे । तर प्रदर्शनकारीले टेरेनन् । नेतृत्व विनाको प्रदर्शन भएर पनि होला प्रदर्शनकारीहरुले छानीछानी निजी संरचनाहरुमा आक्रमण, लुटपाट र आगजनी गरे ।
नक्साल स्थित हिल्टन होटल, सतुंगलस्थित चौधरी ग्रुपको इलेक्ट्रोनिक कारखाना, र थापाथलीस्थित सीजी मोटर्सको शोरुम तोडफोड गरे । एमाले अध्यक्ष केपी शर्मा ओली निकट क्याप्टेन रामेश्वर थापाको तिनकुने स्थित सिम्रिक एयरको कार्यालयमा तोडफोड र आगजनी गरे । यस्तै बत्तिसपुतलीस्थित मारवाडी सेवा समितिले सञ्चालन गरेको व्यावसायिक भवन, लगायतमा पनि तोडफोड गरे ।
निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले मुलुकभर भएको प्रदर्शनबाट हुन पुगेको क्षतिप्रति दुःख व्यक्त गरेको छ । अन्य संगठनहरुले पनि दु:ख प्रकट गरेका छन् । निजी क्षेत्रको सम्पत्ति माथि आक्रमण हुँदाको असर राजस्वमा पर्न जान्छ । जसले देशको अर्थतन्त्रमै ठूलो असर पार्ने एक उद्योगीले बताए ।
हिल्टन होटल
नक्सालस्थित हिल्टन होटलमा पनि आगजनी गरिएको छ । प्रदर्शनकारीहरुले मंगलबार दिउँसो हिल्टन होटलमा आगो लगाएका हुन् । यो होटलमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोराको लगानी छ भन्ने चर्चा थियो । त्यही विषयको आक्रोशस्वरुप प्रदर्शनकारीहरुले हिल्टनमा आगजनी गरी क्षति पुर्याएका हुन् ।
भाटभटेनी सुपरस्टोर
प्रदर्शनकारीहरुले नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा पनि आगजनी गरेका छन् । आगो लगाउनुअघि सुपरमार्केटबाट सामानहरु लुटपाट गरेको भाटभटेनीले जनाएको छ । सुपरमार्केट लगभग सबै जलेको छ ।
आगलागीबाट कति क्षति भएको छ भन्नेबारे यकिन नभएको सुपरमार्केट व्यवस्थापनले
जनाएको छ । यस्तै काठमाडौंको बालाजु, चितवन र विराटनगरमा रहेको भाटभटेनी स्टोरमा पनि तोडफोड भएको छ । भाटभटेनी चेन स्टोरको यो सबैभन्दा पहिलो स्टोर हो । भाटभटेनी नक्साल २०४३ सालमा व्यवसायी मीनबहादुर गुरुङले स्थापना गरेका हुन् ।
ग्लोबल कलेज
प्रदर्शनकारीहरुले बानेस्वरस्थित ग्लोबल कलेजमा पनि आगजनी गरेका छन् । नेताका छोराछोरी पढ्ने कलेज भन्दै प्रदर्शनकारीहरुले यो कलेजमा पनि तोडफोड गरेका थिए । त्यसपछि उनीहरुले आगजनी पनि गरेका हुन् ।
एनसेल टावर
प्रदर्शनकारीहरुले निजी क्षेत्रको दुरसञ्चार कम्पनी एनसेल पनि छोडेनन् । मंगलबार दिउँसो प्रदर्शनका क्रममा सरकारलाई कर नतिरेको भन्दै तोडफोड र आगजनी गरेका हुन् । एनसेल कर विवाद, स्वातित्व हस्तान्तरण, प्रतिस्पर्धात्मक व्यावसायिक अभ्यास लगायतका विवादमा तानिँदै आएको छ । तर एनसेलले नेपालको टेलिकम क्षेत्रमा उपभोक्तालाई राम्रो गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको थियो । जसको कारण सरकारी स्वामित्वको नेपाल टेलिकमलाई प्रतिस्पर्धामा जान बाध्य बनाएको छ ।
सिजी ग्रुपको कारखाना
कांग्रेस नेता एवं अर्बपति विनोध चौधरीले सञ्चालन गर्दै आएको चौधरी ग्रुप (सीजी)को काठमाडौंको सतुंगलस्थित कारखानामा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् । यो कारखानाबाट सीजीले टेलिभिजन, रेफ्रिजिरेटर, माइक्रो ओभन, वासिङ मेसिन लगायत घरायसी उपकरण उत्पादन तथा एसेम्बल गर्दै आएको थियो । प्रदर्शनकारीहरुले कारखानाभित्रबाट सामान निकाल्दै बाहिर ल्याएर जलाइरहेका थिए ।
राष्ट्रिय वाणिज्य बैंक
सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको बानेस्वरस्थित शाखामा तोडफोड र लुटपाट भएको छ । प्रदर्शनकारीहरुले बैंक तोडफोड गर्दै भित्र प्रवेश गरेका थिए । शाखामा कुनै कर्मचारी थिएनन् । त्यसैले त्यहाँबाट के कति पैसा लुटिएको छ भन्नेबारे यकिन भएको भने छैन । रातको १० बजेपछि पनि सो शाखामा लुटपाट गर्न गएका ५ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ ।
सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाएर लुटपाट गर्ने कोशिश भएको जनाएको छ । प्रदर्शनकारीहरुले सोमबार पनि यो शाखामा तोडफोड गरेका थिए ।
दमकको भ्युटावरमा पनि आगजनी
झापाको दमकमा रहेको भ्युटावरमा पनि आगजनी गरिएको छ । जेनजी आन्दोलनकारीले अर्बौं रुपैयाँ खर्च गरेर बनाइएको भ्यूटावरमा तोडफोड पछि आगलागी गरेका हुन् । करिब ५२ मिटर अग्लो यो भ्युटावर केपी शर्मा ओलीले निर्माण गर्न लगाएका थिए । तर त्यो भ्युटावरको प्रयोग हुन नसकेपछि ओलीको आलोचना हुने गरेको छ ।
भैरहवा विमानस्थलमा पनि आगजनी
प्रदर्शनकारीहरूले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गरेका छन् । विभानस्थलभित्र प्रवेश गरी उनीहरूले मंगलबार आगजनी गरेका हुन् । प्रदर्शनकारीहरूको आगजनीका कारण भैरहवा विमानस्थलमा पार्किङ गरी राखिएका ५ वटा चारपांग्रे र दुई वटा दुई पांग्रे सवारीसाधन जलेका छन् ।



तस्विर : नेपाल फोटो लाइब्रेरी