नेभिगेशन
स्वास्थ्य

आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार

काठमाडौं । हिमालय उद्धार संघले वसन्त ऋतुमा हिमाल आरोहणका लागि जाने एक हजार ३६२ बिरामीको उपचार गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार गरिएको संघले जनाएको हो ।
    संघको विहीबार आयोजित ५३औँ वार्षिकोत्सव कार्यक्रममा पछिल्लो समय हिमाली क्षेत्रमा सञ्चालित विभिन्न स्वास्थ्य केन्द्रमा उपचार गराउने बिरामीको संख्या बढेको जानकारी दिइएको हो । संघका नवनिर्वाचित अध्यक्ष डम्बर पराजुलीले मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा उपचार गराउने स्वदेशी तथा विदेशी पर्वतारोहीको सङ्ख्या बढेको बताए ।

    संघका अनुसार सबैभन्दा बढी सगरमाथा आधार शिविरमा ६०६, फेरिचेमा ४२० र मनाङमा ३३६ बिरामीले सेवा लिएका छन् । सेवा लिएकामध्ये ९५० नेपाली र ४१२ जना विदेशी रहेका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । हिमाली क्षेत्रमा हुने आकस्मिक उद्धार र स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए ।

    संघको यही जेठ १८ गते भएको निर्वाचनबाट पराजुलीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । पराजुली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । कार्यसमितिको उपाध्यक्षमा सुशीलकृष्ण अधिकारी, महासचिवमा प्रयुश न्यौपाने, कोषाध्यक्षमा तुलसी गुरुङ, सदस्यमा ज्ञानेन्द्रकुमार श्रेष्ठ, विकास शाह रैनियार, डा सुभास दवाडी, नरबहादुर अस्तानी र दावा स्टिभेन शेर्पा निर्वाचित भएका छन् ।

    त्यस्तै, संस्थागत सदस्यमा थामसेर्कु ट्रेकिङ प्रालिका डा यादव अधिकारी र मोनतेरोसा ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिका गणेशबहादुर न्यौपाने निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई आजै शपथ ग्रहण गराएर प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरूलाई मुख्य निर्वाचन अधिकृत कुमारप्रसाद घिमिरेले प्रमाणपत्र प्रदान गरेका हुन् ।

    नेपालका हिमाली क्षेत्रमा पर्यटक तथा पदयात्रीको स्वास्थ्य र सुरक्षाका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संघले सोलुखुम्बुको सगरमाथा आधार शिविर, फेरिचे, मनाङको मनाङ गाउँ र जनैपूर्णिमाका अवसरमा रसुवाको गोसाइँकुण्डमा हेल्थ क्याम्प राखेर स्वास्थ्योपचार गर्दै आएको संघका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य