नेभिगेशन
राजनीति
विराटनगरबाट कांग्रेस इतरपक्षको सन्देश

पार्टी एकता वा विभाजन ? बल संस्थापनको ‘कोर्ट’मा

विराटनगर । कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समर्थक र डा. शेखर कोइराला गुटका नेता र अगुवा कार्यकर्ताले आफ्नो उपस्थिति बलियो देखाउन आइतबार विराटनगरमा बृहत् भेला गरेका छन् । पार्टीमा उचित स्थानको ‘बार्गेनिङ’का लागि सभापति गगन थापामाथि दबाब बढाउन शक्ति प्रदर्शनका रुपमा भेला गरेका हुन् । पार्टीको आन्तरिक विवाद र नेतृत्वको कार्यशैलीप्रति संस्थापन इतर समूहका शीर्ष नेताहरूले तीव्र असन्तुष्टि जनाउँदै भेलाबाट आफूहरु संस्थापनविरुद्ध एकताबद्ध भएको सन्देश दिए । 
कांग्रेस राजनीतिमा अर्थपूर्ण मानिने विराटनगरमा प्रदेशस्तरीय भेला गर्दै इतरपक्षले पार्टी फुटाउने वा जुटाउने ? बल संस्थापनपक्षको कोर्टमा रहेको सन्देश दिएको छ । कोशी प्रदेशस्तरीय भेलामा संस्थापनइतर रहेको पूर्वसभापति देउवा समर्थक र नेता शेखर पक्ष एकै मञ्चमा देखिए ।  
कोशी प्रदेशस्तरीय एकता भेला भनिएको उक्त भेलालाई सम्बोधन गर्दै इतरपक्षीय नेताहरूले पार्टीभित्र निरंकुशता हाबी भएको, व्यावहारिक रूपमा पार्टी विभाजनको अवस्थामा पुगेको र नेतृत्वले निकासका लागि साहस देखाउन नसकेको आरोप लगाए । विराटनगरको सभामा अलग कित्तामा देखिँदै आएका बिपीपुत्र डा. शशांक कोइराला र नेता शेखर कोइराला एकै मञ्चमा देखिए भने पूर्व महामन्त्री कृष्ण सिटौला पनि सँगै देखिए । कोशीको राजनीतिमा मोरङका कोइराला र झापाका सिटौला एक ठाउँ उभिँदा संस्थापनपक्षलाई बलियो चुनौती हुने उनीहरुको विश्वास छ । 
भेलामा कांग्रेस नेता शेखरले मुलुकमा लोकतन्त्र धरापमा पर्दै गएको र पार्टीभित्र समेत आन्तरिक लोकतन्त्रको अभाव तथा निरंकुशतावादी चरित्र बढ्दै गएको दाबी गरे । विभिन्न जिल्लाका वडा सभापतिहरूलाई स्पष्टीकरण विना नै पदबाट हटाइनु र सदस्यता अद्यावधिक नगरेको बहानामा कारबाही गरिनु निरंकुशताको प्रस्थानविन्दु भएको उनको आरोप छ । ‘पार्टीभित्र र प्रदेश तहको राजनीतिमा अहिले त्रासको वातावरण सिर्जना गरिएको छ,’ उनले भने, ‘तर, कसैको धम्कीका कारण कांग्रेसीहरू डराउनु हुँदैन। तीव्र विवाद र मतभेद भए पनि कुनै पनि हालतमा कांग्रेस फुट्न र फुटाउन दिइने छैन ।’ उनले सभापति गगन थापातर्फ लक्षित गर्दै सस्तो लोकप्रियताको पछि कुद्नु चिन्ताजनक रहेको बताए । 

पूर्वमहामन्त्री डा.शशांकले कांग्रेस व्यावहारिक रूपमा फुटिसकेको बताए । सर्वोच्च अदालत र निर्वाचन आयोगको गलत निर्णयका कारण कांग्रेस व्यावहारिक रूपमा विभाजनको अवस्थामा पुगेको उनको भनाइ छ । लामो संघर्ष र ठुलो बलिदानबाट बनेको कांग्रेस आफैं नटुक्रिएको, बरु यसलाई टुक्राइएको उनले बताए । ‘यति धेरै पुराना र अनुभवी नेताहरू बाहिर रहँदा एक्लै पार्टी चलाउन सम्भव हुँदैन,’ उनले भने ‘अहिलेको परिस्थितिमा सबैभन्दा ठुलो आवश्यकता पार्टी एकता नै हो ।’
त्यस्तै, अर्का पूर्वमहामन्त्री सिटौलाले नेतृत्वले नाटक बन्द गरे १० मिनेटमै विवाद टुंगिने दाबी गरे । सिटौलाले पार्टीभित्र भइरहेको आन्तरिक कलह, कार्यशैली र महाधिवेशनको अन्योललाई चिर्न नेतृत्वले साहस देखाउनुपर्ने भन्दै अनावश्यक ‘नाटक’ बन्द गर्न आग्रह गरे । सिटौलाले उपसभापति विश्वप्रकाश शर्माले पत्रमार्फत ७ बुँदेबारे ध्यानाकर्षण गराएको विषयलाई ‘नाटक’ को संज्ञा भएको बताए । उनले भने, ‘विश्वप्रकाशजीले पत्र पठाएर, अनलाइनहरूमा पठाएर नाटक गरिरहनुभएको छ । त्यसो गर्नै पर्दैन । १० मिनेट भेटेर हृदयले कुरा गरे सबै कुरा मिलिहाल्छ ।’
विराटनगर भेलाबाट कोइराला दाजुभाइसहित सिटौला, विजयकुमार गच्छदार, बलबहादुर केसीसहितका नेताहरूले ‘कांग्रेसमा एकता अपरिहार्य रहेको र त्यसको सम्पूर्ण बल सभापति गगन थापा र टिमको कोर्ट’ मा रहेको सन्देश दिएका छन् । त्यसका लागि सबैजसो नेताहरूले जोड दिएको विषय भने एकै थियो ‘सम्मानजनक एकता ।’
विगतका कारबाही र आन्तरिक व्यवहारप्रति लक्षित गर्दै उनले आफ्नै साथीहरूमाथि गरिएको व्यवहार निन्दनीय र अमानवीय भएको टिप्पणी गरे । जस्तोसुकै अपराधीलाई पनि कानुनी प्रक्रिया अपनाइनुपर्ने मान्यता लोकतन्त्रवादीको हुने भन्दै उनले पार्टीभित्र देखिएको व्यवहार अनौठो भएको बताए । सभापति थापाले फागुन २१ को निर्वाचन परिणामपछि राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेताबाट सिटौलालाई हटाएका थिए । विशेष महाधिवेशनपछि रुष्ट सिटौला उक्त निर्णयपछि संस्थापनपक्षसँग थप चिढिएका छन् । 
विराटनगर भेलाबाट भने उनीहरुले आफूहरुका कारण पार्टी विभाजन नहुने सन्देश दिएका छन् । देशको लोकतन्त्र र संवैधानिक व्यवस्था नै संकटमा परेको बेला कांग्रेसले आफ्नो आन्तरिक विवादलाई छिटो टुंग्याएर बलियो बन्नुपर्ने र संस्थापन पक्ष जिम्मेवार भएर अघि बढेमात्रै देशको संकट समाधान हुनेमा जोड दिएका छन् । औपचारिक भाषणमा अधिकांश नेताहरुले पार्टी विभाजनको चर्चा नगरेपछि प्रदेश भेलालाई इतरपक्षको नयाँ पार्टी बनाउने गृहकार्यका रुपमा हेरिएको छ । भेलामा नेताहरु एनपी साउद, डा.मीनेन्द्र रिजाल, बलबहादुर केसी, गुरु बराल, सरिता प्रसाई, मोहनबहादुर बस्नेत, विजयकुमार गच्छदार, कुन्दनराज काफ्लेलगायत सहभागी थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्