नेभिगेशन
अर्थतन्त्र

४७ अर्ब ६१ करोडको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत

काठमाडौं । चालु आर्थिक वर्ष ( २०८२-८३ ) को ११ महिनामा नेपालमा ४७ अर्ब ६१ करोड रुपैयाँ बढीको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ । साउनदेखि जेठ महिनाको अवधिमा ९१४ वटा उद्योगमा ४७ अर्ब ६१ करोड ६९ लाख ४६ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको हो ।
उद्योग विभागअन्तर्गत विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाले सार्वजनिक गरेको जेठ महिनासम्मको प्रतिवेदनअनुसार ९१४ वटा उद्योगको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आउँदा देशभित्र २५ हजार ४५० जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।
विभागका अनुसार जेठ महिनामा मात्रै १८६ वटा उद्योगका लागि २ अर्ब २९ करोड ५३ लाख ४३ हजार रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ । त्यसमध्ये अटोमेटिक रुटमार्फत १७८ उद्योगमा १ अर्ब ९४ करोड ९५ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको  छ । यस्तै, स्वीकृति मार्ग (अप्रोभल रुट)मार्फत ८ उद्योगमा ३४ करोड ५८ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

कृषि क्षेत्रमा सबैभन्दा बढी लगानी प्रतिबद्धता
क्षेत्रगत आधारमा हेर्दा यो ११ महिनामा कृषि तथा वनजन्य क्षेत्रमा सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको छ । यो क्षेत्रका लागि १६ वटा परियोजनामा २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव गरिएको छ । यो लगानी प्रतिबद्धता कुल प्रतिबद्धताको करिब ४६ प्रतिशत हो । यस्तै, पर्यटन क्षेत्र दोस्रो स्थानमा रहेको छ । पर्यटन क्षेत्रका २०२ वटा परियोजनामा १२ अर्ब ९९ करोड ७४ लाख ५० हजार लगानी प्रतिबद्धता आएको छ । यो कुल लगानी प्रतिबद्धताको करिब २७ प्रतिशत हिस्सा हो ।
यसैगरी, सेवा क्षेत्रमा ६२ परियोजनाका लागि ४ अर्ब ५९ करोड ९० लाख रुपैयाँ, उत्पादनमूलक क्षेत्रमा ५२ परियोजनाका लागि ३ अर्ब ५७ करोड १० लाख रुपैयाँ, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा ५७७ परियोजनाका लागि २ अर्ब ३६ करोड ५८ लाख रुपैयाँ, पूर्वाधार क्षेत्रमा १ अर्ब ६५ करोड ४४ लाख रुपैयाँ, ऊर्जा क्षेत्रमा २३ करोड ४२ लाख ५० हजार रुपैयाँ तथा खनिज क्षेत्रमा  ११ करोड ५० लाख रुपैयाँ लगानी प्रस्ताव भएको विभागले जनाएको छ ।
परियोजनाको संख्यामा आईसीटी क्षेत्र अग्रस्थानमा
परियोजनाको संख्याका आधारमा भने सूचना तथा सञ्चार प्रविधि क्षेत्र अगाडि देखिएको छ । कुल ९१४ परियोजनामध्ये ५७७ वटा परियोजना (६३ प्रतिशत) आईसीटी क्षेत्रसँग सम्बन्धित छन् । पर्यटन क्षेत्रका २०२, सेवा क्षेत्रका ६२ र उत्पादनमूलक क्षेत्रका ५२ परियोजना स्वीकृत भएका छन् ।
साना उद्योगमा लगानी आकर्षण
जेठ मसान्तसम्म स्वीकृत ९१४ उद्योगमध्ये ८९४ वटा साना, ११ वटा मझौला र नौ वटा ठूला उद्योग रहेका छन् । जेठ महिनामा मात्रै स्वीकृत भएका १८६ उद्योगमध्ये १८३ साना र तीन मझौला उद्योग छन् भने कुनै पनि ठूलो उद्योग स्वीकृत भएको छैन । यसले नेपालमा विदेशी लगानी अझै साना तथा सेवा–आधारित व्यवसायतर्फ केन्द्रित रहेको देखाउँछ ।
विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा विदेशी लगानी स्वीकृत उद्योगको संख्या भने अघिल्लो वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०८१÷८२ को सोही अवधिमा २ हजार ६६ उद्योगमा विदेशी लगानी स्वीकृत भएको थियो भने चालु वर्षमा यो संख्या १ हजार ७७४ मा सीमित रहेको छ । अटोमेटिक रुटमार्फत स्वीकृत उद्योग संख्या ८६६ बाट ७३६ मा झरेको छ भने स्वीकृति मार्गमार्फत स्वीकृत उद्योग संख्या ३७२ बाट ३४५ मा झरेको तथ्यांकले देखाएको छ ।
विदेशी लगानीसँगै प्रविधि हस्तान्तरणसम्बन्धी गतिविधिमा पनि वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको जेठसम्म ५३ वटा प्रविधि हस्तान्तरण सम्झौता स्वीकृत भएका छन् । जेठ महिनामा मात्रै ६ वटा प्रविधि हस्तान्तरण सम्झौता स्वीकृत भएका छन् ।
यस्तै जेठ महिनामा विदेशी लगानीकर्तासँग सम्बन्धित विभिन्न श्रेणीमा भिसा सिफारिस गरिएको छ । विभागले ९ वटा विज्ञापन भिसा, ९५ लगानीकर्ता भिसा, ५१ प्रतिनिधि भिसा तथा ८५ आश्रित भिसाका लागि सिफारिस गरेको जनाएको छ ।
लाभांश र रोयल्टी फिर्ता बढ्दो
जेठ महिनामा विदेशी लगानीकर्ताले लाभांश, रोयल्टी तथा सेवा शुल्क शीर्षकमा रकम फिर्ता लैजाने प्रक्रिया पनि जारी राखेका छन् । विभागका अनुसार रोयल्टीबापत ४४ करोड ७५ लाख ४९ हजार, लाभांशबापत रु ७९ लाख ८६ हजार रुपैयाँ तथा अन्य शीर्षकमा पनि विभिन्न विदेशी मुद्रामा रकम फिर्ता लैजान स्वीकृति दिइएको छ । रोयल्टी शीर्षकमा अमेरिकी डलर ३ लाख ४२ हजार तथा भारतीय रुपैयाँ १९ करोड ४५ लाखभन्दा बढी रकम स्वीकृत भएको विभागले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्