नेभिगेशन
राजनीति

‘चिया निर्यातको गतिरोध खुलाउ’

काठमाडौं । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले चिया क्षेत्रमा हाल देखिएको समस्या तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार सिंहदरबारस्थित समितिको हलमा बैठक बसेको थियो । उक्त बैठकमा समिति सभापति कृष्णप्रसाद पौडेलले चिया क्षेत्रका देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै, समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न पनि सरकारलाई निर्देशन दिएको छ । चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैँची, सुपारी, बेसार, अदुवा, कफीलगायत अन्य नगदेबालीको मूल्य निर्धारण तथा बजार व्यवस्थापन प्रभावकारी बनाउन सरकारलाई सभापति पौडेलले आग्रह गरेका छन् । हाल भारतीय पक्षले चियाको मापदण्डमा नयाँ नियम ल्याएपछि असार १ यता नेपालको चिया भारत निर्यात भएको छैन । नेपाली उद्यमीले चिया उद्योगहरु नै बन्द गरेका छन् ।
सभापति पौडेलले नगदेबाली उत्पादन गर्ने किसानले उचित मूल्य र सुनिश्चित बजार नपाएको भन्दै यी बालीहरूको व्यवस्थित बजार प्रणाली विकास गर्न आवश्यक कानुनी व्यवस्था गर्न समेत सरकारसमक्ष आग्रह गरे । ‘चिया किसान र चिया बगानमा काम गर्ने श्रमिकहरूको  समस्या तुरुन्त समाधान गर्नको लागि म आग्रह पनि गर्न चाहान्छु र यो समितिको तर्फबाट निर्देशन पनि दिन चाहन्छु,’ उनले भने, ‘अन्य नगदेबालीहरू अलैँची, सुपारी, बेसार, अदुवा, कफी आदीको मूल्य निर्धारण र बजार व्यवस्थापन गर्नको लागि समेत सरकारले काम गरोस् । यी नगदेबालीहरूको बजार व्यवस्थापनका लागि यही अधिवेशनभित्र एउटा कानून पनि ल्याउन म आग्रह गर्न चाहन्छु । ’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्