काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आज (आइतबार) चितवनमा उद्घाटन हुँदैछ । महाधिवेशनका लागि सभाहल निर्माण, मञ्च व्यवस्थापन, झण्डा सजावट तथा कार्यक्रम स्थल व्यवस्थापनका कामहरू सकिएको छ । उद्घाटन कार्यक्रम भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजना गरिने र बन्दसत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेगरी तयारी भएको छ । पार्टी स्थापनाको ४ वर्षपछि रास्वपाले महाधिवेशन गर्न लागेको हो । आइतबारदेखि सुरु भई तीन दिनसम्म चल्ने पहिलो महाधिवेशनमा देशभरबाट ३ हजारभन्दा बढी प्रतिनिधि, पार्टीका नेता, कार्यकर्ता तथा पर्यवेक्षकहरूको सहभागिता रहने जनाइएको छ ।
यसैबीच, पार्टीको केन्द्रीय निर्वाचन आयोगले उम्मेदवार तथा प्रतिनिधिहरूका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । महाधिवेशनका क्रममा हुने नयाँ नेतृत्व चयनका लागि रास्वपा केन्द्रीय निर्वाचन आयोगले विस्तृत कार्यतालिका सार्वजनिक गरेको हो ।
पहिलो चरणमा एक जना सभापति र ९९ जना सदस्यका लागि मतदान गरिने छ । निर्वाचित भएका सदस्यहरुबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि निर्वाचन गरिने छ ।
सोमबार रातिसम्ममा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन मंगलबार गर्ने गृहकार्य गरिएको छ । पदाधिकारीका लागि मात्र दोस्रो चरणको निर्वाचन हुने छ । महाधिवेशन सम्पन्न गर्न करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गर्दै पार्टीले प्रतिनिधि शुल्क, सदस्य तथा शुभेच्छुकबाट प्राप्त सहयोगलाई मुख्य आर्थिक स्रोत बनाउने भएको छ ।
यस्तो छ कार्यतालिका
महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली शनिबार राति साढे ८ बजे पार्टीको वेबसाइटमार्फत प्रकाशन गरेपछि दाबी–विरोधका लागि आइतबार बिहानसम्मको समय दिइएको छ । त्यस्तै उम्मेदवारी मनोनयनका लागि फाराम वितरण आइतबार दिउँसो १ बजेदेखि सुरु हुने जनाइएको छ । मनोनयन पत्र दर्ता दिउँसो २ बजेदेखि ४ बजेसम्मका लागि तय गरिएको छ । उम्मेदवारहरू विरुद्ध दाबी–विरोध साँझ ६ देखि ७ बजेसम्म र उम्मेदवारी फिर्ताका लागि राति सवा ८ बजेसम्मको समय तय गरिएको छ । उम्मेदवारहरूको अन्तिम नामावली आइतबार राति ११ बजे प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । मतदान सोमबार बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । मतदान सकिएको २ घण्टापछि नै मतगणना सुरु गरी परिणाम घोषणा गरिने कार्यतालिकामा छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले शनिबार सूचना जारी गर्दै विभिन्न पदका लागि लाग्ने शुल्क, आवश्यक प्रस्तावक, समर्थक र कागजातबारे जानकारी गराएको छ । आयोगका अनुसार सभापति पदका लागि उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क तोकिएको छ । सभापतिका उम्मेदवारका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरिएको छ ।
त्यसैगरी, पार्टी पदाधिकारीका लागि ४१ हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ । पदाधिकारी र केन्द्रीय सदस्य दुवै पदका लागि १ जना प्रस्तावक र २१ जना समर्थक हुनुपर्ने व्यवस्था छ । आयोगका अनुसार उम्मेदवारका प्रस्तावक र समर्थक बस्ने व्यक्तिहरूको नाम प्रतिनिधि नामावली सूचीमा समावेश भएको हुनुपर्नेछ ।
प्यानल बनाउन निषेध
रास्वपाले पार्टीभित्र गुटबन्दी बढ्न नदिन महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ । केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनलाई स्वच्छ, निष्पक्ष, भयरहित र मर्यादित बनाउन ४ बुँदे आचारसंहिता सार्वजनिक गर्दै प्यानल वा गुटबन्दीलाई पूर्ण रूपमा निषेध गरेको छ । आचारसंहिताअनुसार निर्वाचनका क्रममा कुनै पनि प्रकारको संयुक्त सूची बाँड्न, गठबन्धन गर्न वा गुटका आधारमा प्रचारप्रसार गर्न निषेध गरिएको छ । यस्तो गरेको पाइएमा उम्मेदवारी खारेजीसम्मको कारबाही हुने चेतावनी आयोगले दिएको छ । भौतिक प्रचार सामग्रीका हकमा अधिकतम ‘२८२’ फिट साइजको एउटा मात्र पोस्टर प्रयोग गर्न अनुमति दिइएको छ । महाधिवेशन स्थल र त्यसको आसपासका क्षेत्रमा प्लेकार्ड, ब्यानर, फ्लेक्स वा पर्चा वितरण गर्न पाइनेछैन ।
डिजिटल मिडिया र सामाजिक सञ्जालको प्रयोगका सम्बन्धमा पनि आयोगले कडा नीति अख्तियार गरेको छ । फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता माध्यमबाट भ्रामक सूचना सम्प्रेषण गर्न, सशुल्क विज्ञापन गर्न वा मत माग्न नपाइने व्यवस्था गरिएको छ ।
आचारसंहितामा पार्टी र सरकारको जिम्मेवारीमा रहेका बहालवाला पदाधिकारी, मन्त्री तथा सांसदहरूले आफ्नो पद, राजकीय वा दलीय स्रोत र प्रभावको प्रयोग गरी निर्वाचनको निष्पक्षतालाई प्रभावित पार्न नपाउने व्यवस्था गरिएको छ । तेस्रो बुँदामा मतदान तथा बन्द सत्रको मर्यादा सम्बन्धी व्यवस्था छ । मतदान कक्षभित्र मोबाइल फोन, क्यामेरा वा अन्य कुनै पनि प्रकारका इलेक्ट्रोनिक उपकरणहरू लैजान, फोटो खिच्न वा भिडियो बनाउन सख्त मनाही गरिएको छ । यसले मतदानको गोपनीयता र सुरक्षा सुनिश्चित गर्ने आयोगको विश्वास छ । आचारसंहिताको अन्तिम बुँदामा उजुरी र कारबाहीको प्रक्रिया स्पष्ट पारिएको छ । आचारसंहिता उल्लंघन सम्बन्धी उजुरी घटना घटेको २४ घण्टाभित्र वा नतिजा घोषणा हुनुअगावै लिखित रूपमा दर्ता गरिसक्नुपर्ने व्यवस्था छ ।
रविको जोड आन्तरिक लोकतन्त्रमा
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको औपचारिक सुरुवात हुनुअघि भरतपुरमा शनिबार अन्तिम केन्द्रीय समितिको बैठक बसेको छ । महाधिवेशनअघि बसेको अन्तिम बैठकमा सभापति लामिछाने आफ्नो धारणा राखेका थिए ।
सो क्रममा उनले पार्टीको आन्तरिक लोकतन्त्रलाई सबैभन्दा महŒवपूर्ण आधार स्तम्भ भएको बताए । ‘आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउनका निमित्त संस्थापक सभापतिका रूपमा मैले कति भूमिका निर्वाह गरेँ, त्यो यहाँहरूको मूल्यांकनको विषय हो । तर, मेरो लागि निष्ठा र आन्तरिक लोकतन्त्र कुनै सम्झौता गर्ने विषय होइनन् ।’ अहिले रास्वपा भित्र आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै विपक्षी दल र राजनीतिक विश्लेषकहरुले प्रश्न उठाउँदै आएका छन् ।
सभापति लामिछानेले बैठकको सुरुवातमै सबै निर्वाचित सदस्यहरूलाई शुभकामना दिँदै लोकतन्त्रप्रतिको आफ्नो प्रतिबद्धताबाट कहिल्यै विमुख नहुने प्रण गरेका छन् । महाधिवेशनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । उनले आफ्नो राजनीतिक जीवनभरि यिनै मूल्य र मान्यतामा अडिग रहने प्रतिबद्धतासमेत जनाए ।
लामिछानेले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र यहाँसम्म आइपुग्दा भएका त्याग र बलिदानको स्मरण गरे । उनले भने, ‘हामी हिजोका त्याग, बलिदान र संघर्षहरूको सम्मानको जगमा उभिएका छौं र हामीलाई यसमा गर्व छ । हिजोको बलिदानको उचाइकै कारण आज हामीले यति फराकिलो दृश्य देख्न पाएका हौँ ।’ उनले लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट आफू कहिल्यै विमुख नहुने प्रतिबद्धता पनि जनाएका छन् ।
सभापतिमा रवि र वरिष्ठ नेतामा बालेन पक्का
सभापतिमा रवि लामिछाने र विधानमै व्यवस्था गरेर वालेन्द्र शाहलाई सर्वसम्मत वरिष्ठ नेता बनाउन भद्र सहमति पार्टीभित्र बनिसकेको रास्वपा नेताहरुको दाबी छ । रास्वपामा सभापति र वरिष्ठ नेतामा अरु नेताले दाबी पनि नगरेकाले महाधिवेशनमा पनि लामिछाने र शाहकै सीट सुरक्षित छ । त्यसपछिको कार्यकारी भूमिका रहने शक्तिशाली पद महामन्त्रीमा भने यसपटक आकांक्षीहरु धेरै देखिएका छन् । बाहिर हल्ला नगरे पनि पार्टीको आन्तरिक छलफलमा रहर गर्ने अनुहार बढेका छन् ।
हाल रास्वपामा दुई महामन्त्रीमा कवीन्द्र बुर्लाकोटी र भूपदेव शाह छन् । बुर्लाकोटी गत असारमा महामन्त्री बनेका हुन् भने भूपदेव बालेन शाहको कोटाका हुन् । प्रतिनिधिसभा निर्वाचनमा उनी पराजित भएका हुन् । बालेन रास्वपा प्रवेश गरेपछि भूपदेवलाई गत वैशाख ७ मा महामन्त्री बनाइएको हो । अहिले बुर्लाकोटी र शाह दुवै महामन्त्रीका दोहोरिने तयारीमा छन् ।
यसपटक रास्वपाभित्र महामन्त्रीमा अरु नेताहरुको पनि चर्चा छ । नेताहरु विपिन आचार्य, दीपक बोहोरा, मनिष झा र हरि ढकालले महामन्त्रीमा आकांक्षा राखेको बताइन्छ । आचार्य हाल सहमहामन्त्री छन् भने झा पार्टी प्रवक्ता छन् । हाल प्रतिनिधिसभामा सांसद रहेका आचार्य, बोहरा, झा र ढकाल सबै सभापति लामिछाने निकट हुन् ।
त्यस्तै, ३ पद रहेको उपसभापतिमा पनि करिब दर्जन नेता आकांक्षी देखिएका छन् । रास्वपामा यसअघि दुई जना मात्रै उपसभापति रहने व्यवस्था थियो । गत वर्ष विधान संशोधन गरेर एक उपसभापति थप गरिएको हो । संशोधित विधान अनुसार ३ उपसभापतिमध्ये एक जना अनिवार्य महिला हुनुपर्ने व्यवस्था छ ।
उपसभापति डीपी अर्याल सभामुख बनेपछि रास्वपामा हाल स्वर्णिम वाग्लेमात्रै उपसभापति छन् । वाग्लेले उपसभापतिमै दोहोरिने चाहना राखेको रास्वपा स्रोत बताउँछ । हाल सरकारमा महŒवपूर्ण मन्त्रालय सम्हालिरहेका नेताहरुले पनि उपसभापतिमा आकांक्षा देखाएका छन् । परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, कानूनमन्त्री सोविता गौतम, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल उपसभापतिको आकांक्षी छन् ।
खनाल, श्रेष्ठ, गौतम र रावल सभापति लामिछाने निकट हुन् भने लम्साल प्रधानमन्त्री बालेन शाह निकट हुन् । त्यस्तै, संसद बाहिर रहेका प्रधानमन्त्री शाहका विश्वपास पात्र असिम शाह पनि उपसभापतिका सम्भावित दाबेदार हुन् । हाल शाह प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा संविधान संशोधन बहसपत्र तयारी कार्यदलका संयोजक छन् । त्यस्तै, विवेकशील साझा पार्टीबाट आएकामध्ये समीक्षा बास्कोटाले उपसभापतिमा दाबी गरेको बताइन्छ ।
त्यस्तै, हाल रास्वपा कोषाध्यक्ष रहेकी लिमा अधिकारी, डा. तोसिमा कार्की पनि महिला उपसभापति पदका आकांक्षी छन् ।
‘महाधिवेशनका लागि चन्दा उठाएका छैनौं’
रास्वपाका प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा संकलन नगरेको बताएका छन् । महाधिवेशन स्थलमा शनिबार सञ्चारकर्मीसँग उनले महाधिवेशनका नाममा व्यापारी र घराना समूहलाई रसिद पठाउने अभ्यास अन्त्य गरिएको बताए ।

‘हामीले आफ्नो व्यवस्था आफैं गरेका छौं,’ उनले भने, ‘महाधिवेशनका लागि नै भनेर कुनै घराना, व्यापारीलाई रसिद पठाएका छैनौँ ।’ महाधिवेशन सञ्चालनका लागि लाग्ने चार करोड रूपैयाँ सांसद, केन्द्रीय समिति, विभिन्न विभागका सदस्यबाट उठ्ने लेबी तथा महाधिवेशन प्रतिनिधिबाट उठ्ने झाले बताए ।
‘हामी सांसदले प्रति महिना १६ हजार ५०० रुपैयाँ उठाउँछौँ । त्यहाँबाट महिनामा ३२ लाख रुपैयाँ उठ्छ । केन्द्रीय सदस्यले वार्षिक २५ हजार संकलन गर्छौं,’ उनले भने, ‘महाधिवेशन प्रतिनिधिबाट नै डेढ करोड रुपैयाँ संकलन हुन्छ ।’ उनले शुभेच्छुकहरूलाई आन्तरिक रूपमा ‘क्युआर’ पठाइएको बताए ।
रास्वपामा लागेका अधिकांश व्यक्तिको आन्तरिक पेसा भएकाले चन्दा नै उठाउन नपरेको उनको भनाइ छ । रास्वपाका नेता तथा कार्यकर्ता यातायात र आवासको व्यवस्था आफैं गर्न सक्ने अवस्थामा रहेको प्रवक्ता झाले बताए । ‘हामीले महाधिवेशनमा आउने टिकटको व्यवस्था आफैं गरेका छौं । होटल बुक पनि आफैं नै गर्ने हो,’ उनले भने, ‘राजनीतिमा आउने व्यक्तिको वैकल्पिक पेसा हुनुपर्छ । कसैलाई चन्दा माग्ने हो भने उसले लाभ लिन खोज्छ ।’
व्यापारिक घरानामा रसिद पठाउने अभ्यास बन्द गर्नुपर्ने उनले बताए । ‘निर्वाचनका बेला पनि रास्वपाले पैसा माग्ने काम गरेन । जनताका लागि काम गर्न आयौँ भन्छौँ, तर जनता व्यापारीसँग उल्टै पैसा लिन थाल्छौँ, त्यो त राजनीति नै भएन नि !,’ उनले भने, ‘हामीले सहयोग माग्छौँ त्यो मान्छेको स्वार्थ हुन्छ ।’