नेभिगेशन
अर्थतन्त्र

२२ लाख रुपैयाँ नगदसहित क्रिप्टो कारोबारमा संलग्न दुई पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको २२ लाख रुपैयाँ नगदसहित क्रिप्टो मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको म्यगङ गाउँपालिका–५ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ बस्दै आएका ४७ वर्षीय तारालाल विश्वकर्मा र पर्वतको मोदी गाउँपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–१६ मा बसोबास गर्दै आएका ५० वर्षीय होमबहादुर केसी रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित एक बारमा अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले तारालाल विश्वकर्माले बोकेको झोलाको खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा स्रोत नखुलेको २२ लाख रुपैयाँ नगद, ४० अमेरिकी डलर तथा रकम उल्लेख नगरिएका तर, हस्ताक्षर गरिएका चार वटा चेक बरामद गरेको जनाएको छ । अनुसन्धानका क्रममा विश्वकर्माले प्रयोग गर्दै आएको मोबाइल फोनमा रहेको ‘बाइनान्स’ खातामार्फत करिब दुई हजार यूएसडीटी बराबरको क्रिप्टो मुद्राको कारोबार भएको विवरण समेत फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्