नेभिगेशन
अर्थतन्त्र

नेपाली चिया निर्यातको अवरोध हटाउन कूटनीतिक पहल तीव्र बनाउन महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटाउन सरकारसँग कूटनीतिक पहललाई तीव्र बनाउन आग्रह गरेको छ । महासंघका अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरी भारतीय चिया बोर्डले लागू गरेको नयाँ व्यवस्थाका कारण नेपाली चिया उद्योगले भोग्नुपरेका समस्याबारे ध्यानाकर्षण गराएको हो । भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाली चिया निर्यातमा देखिएको समस्या समाधानका लागि भारतीय पक्षसँग कूटनीतिक संवाद भइरहेको बताए । उनले समस्याको व्यवहारिक समाधान खोज्न नेपाल सरकारले सम्बन्धित भारतीय निकायसँग निरन्तर छलफल गरिरहेको उल्लेख गर्दै भारतीय पक्षबाट प्राप्त संकेतअनुसार चाँडै सकारात्मक निकास निस्कने अपेक्षा गरिएको बताए। चियासँगै अन्य निर्यातजन्य वस्तुमा पनि बेला–बेलामा देखिने यस्ता अवरोधको दीर्घकालीन समाधानका लागि समेत भारतसँग संवाद भइरहेको उनको भनाइ थियो । महासंघका अध्यक्ष श्रेष्ठले वार्षिक १२ देखि १४ अर्ब रुपैयाँ बराबरको कारोबार हुने चिया क्षेत्र संकटमा पर्दा त्यसको प्रत्यक्ष असर अर्थतन्त्र, रोजगारी र लाखौं नागरिकको जीविकोपार्जनमा पर्ने बताए। उनले तत्काल समस्या समाधानका लागि कूटनीतिक पहल प्रभावकारी बनाउन आग्रह गर्दै दीर्घकालीन समाधानका लागि नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला स्थापना गर्नुपर्ने आवश्यकता औंल्याए । भेटमा सहभागी सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुली र उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले चिया निर्यातमा देखिएको समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन दुवै उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए । वाणिज्य सचिव कृष्णबहादुर राउतले पनि प्रक्रियागत सहजीकरणका लागि मन्त्रालयले आफ्ना विभिन्न माध्यमबाट पहल गरिरहेको र निकट भविष्यमा सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताए । महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, उपाध्यक्ष नरेशलाल श्रेष्ठ, पूर्वउपाध्यक्ष हेमराज ढकाल, नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीलगायत उद्योगी व्यवसायीले भारतीय चिया बोर्डले हालै लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) का कारण नेपाली चिया निर्यात थप जटिल बनेको बताएका थि ए। उनीहरूले नेपाली चियाको गुणस्तरमा कुनै प्रश्न नरहेको उल्लेख गर्दै द्विपक्षीय व्यापारिक संयन्त्रमार्फत यो विषयलाई उच्च प्राथमिकताका साथ उठाउनुपर्ने धारणा राखेका थिए । भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्ड र प्रत्येक खेपमा परीक्षणको व्यवस्था पछि नेपाली चिया निर्यातकर्ताले अतिरिक्त समय, लागत र प्रशासनिक झन्झट बेहोर्नुपरेको उद्योगीहरूको गुनासो छ । यसले नेपालको प्रमुख निर्यातजन्य वस्तुमध्ये एक मानिने चिया क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता प्रभावित हुने चिन्ता सरोकारवालाहरूले व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्