नेभिगेशन
अर्थतन्त्र

एनसेल ट्रिप टर्बो सहकार्यः बस, आन्तरिक हवाई टिकटमा ८ हजारसम्म छुट

काठमाडौं । एनसेलका ग्राहकहरूले अब बस टिकट, आन्तरिक हवाई यात्रा तथा विभिन्न साहसिक गतिविधिहरूमा आकर्षक छुट पाउने भएका छन् । यसका लागि एनसेलले यात्रा तथा सेवा प्लेटफर्म ट्रिप टर्बोसँग सहकार्य गर्दै नयाँ सुविधा सुरु गरेको छ । दुवै संस्थाबीच भएको सहकार्यपत्रअनुसार अब एनसेल एपमार्फत यात्रा तथा मनोरञ्जनसम्बन्धी सेवा प्रयोग गर्दा ग्राहकहरूले ८ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो सुविधा  ९९  रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्याकेज खरिद गर्ने एनसेल ग्राहकहरूका लागि उपलब्ध हुनेछ । एनसेलका अनुसार ट्रिप टर्बोमार्फत बस टिकट बुकिङ, आन्तरिक हवाई यात्रा तथा साहसिक गतिविधिहरू लिँदा ग्राहकले विभिन्न किसिमका छुट पाउनेछन् । पहिलो पटक आन्तरिक हवाई टिकटमा २०० रुपैयाँ, त्यसपछि प्रत्येक उडानमा १४० रुपैयाँ तथा बस टिकट बुकिङमा १११ रुपैयाँ छुट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी, साहसिक तथा मनोरञ्जनात्मक गतिविधिहरूमा ग्राहकहरूले ८ हजार रुपैयाँसम्मको छुट पाउने कम्पनीले जनाएको छ । यी सुविधाहरू एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ अन्तर्गत रहेको ट्रिप टर्बो खण्डमार्फत प्रयोग गर्न सकिनेछ । उक्त खण्डले प्रयोगकर्तालाई यात्रा, मनोरञ्जन तथा साहसिक गतिविधिसम्बन्धी सेवाहरू सजिलै खोज्न र प्रयोग गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ । सहकार्यबारे प्रतिक्रिया दिँदै एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपांग दत्तले कनेक्टिभिटीसँगै जीवनशैलीसँग सम्बन्धित सेवा र सुविधालाई नजिक ल्याएर ग्राहकलाई थप मूल्य प्रदान गर्ने लक्ष्य रहेको बताए । उनले ट्रिप टर्बोसँगको सहकार्यले एनसेल एपमार्फत यात्रा र अन्य गतिविधिमा बचत गर्न सकिने व्यवस्था मिलेको उल्लेख गरे । एनसेलले यस सहकार्यलाई डिजिटल जीवनशैली सेवातर्फको आफ्नो यात्राको महत्वपूर्ण कदमका रूपमा लिएको छ । कम्पनीका अनुसार एनसेल एप इकोसिस्टममा नयाँ सेवा र साझेदार अफरहरू समावेश गर्दै ग्राहक अनुभवलाई थप सहज र उपयोगी बनाउने प्रयास भइरहेको छ । ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट, बस टिकट, होटल बुकिङ, छुट्टी प्याकेज तथा ग्राहकको आवश्यकता अनुसार तयार गरिएका यात्रा सेवाहरू प्रदान गर्दै आएको छ । यो सहकार्यले डिजिटल नवप्रवर्तनमार्फत दैनिक जीवनलाई सहज बनाउने एनसेलको उद्देश्यलाई थप बल पु¥याउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्