नेभिगेशन
अर्थतन्त्र

राहुघाट जलविद्युत आयोजनाको संरचनामा पानी भरेर परीक्षण

काठमाडौं । म्याग्दीमा निर्माण सम्पन्न ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको संरचनामा पानी भरेर परीक्षण सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक रघुगंगा हाइड्रोपावर कम्पनीले निर्माण गरेको यो आयोजनाबाट विद्युत उत्पादन गर्नुअघि संरचनामा पानी भरेर परीक्षण सुरु गरिएको हो ।
जिल्लाको रघुगंगा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा आयोजनाको बाँध तथा ६.२७० किलोमिटर लामो मुख्य सुरुङ निर्माण गरिएको छ । भौतिक संरचना निर्माण तथा उपकरण जडानको काम सकिएपछि परीक्षण सुरु गरिएको कम्पनीका प्रबन्ध सञ्चालक गणेश केसीले बताए । उनका अनुसार अहिले आयोजनाको बाँध, बालुवा थिग्राउने पोखरी (डिसेन्डर बेसिन) तथा मुख्य सुरुङमा पानी भरेर परीक्षण गर्ने कार्य थालिएको छ ।
उनले डिसेन्डरमा पानी भरिसकिएको र सुरुङमा पनि पानी पर्ने कार्य भइरहेको बताए । ‘निर्माण सकिएका बाँध र सुरुङका भौतिक संरचनाको परीक्षण गर्न थालिएको हो’, उनले भने, ‘भौतिक संरचना र विद्युतगृहका उपकरणहरूको सबै चरणको परीक्षण सकिएपछि आयोजनाबाट विद्युत उत्पादन हुनेछ ।’
तिल्केनीचौरमा आयोजनाको विद्युतगृह निर्माण सकेर रङरोगन गर्न थालिएको छ । विद्युतगृहमा २० मेगावाटका दुई वटा उत्पादन युनिट रहेका छन् । अहिले २० मेगावाटको पहिलो युनिट जडान भइसकेको र अर्को युनिटका उपकरण जडानको काम पनि अन्तिम चरणमा पुगेको केसीले बताए । 
केसीका अनुसार आयोजनाले उत्पादन गर्ने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण गरिएको ‘स्वीचयार्ड’ यसअघि नै सञ्चालनमा आइसकेको छ । आयोजनाले उत्पादन गर्ने विद्युत यति स्वीचयार्डमार्फत कालीगण्डकी करिडोर प्रसारण लाइनमा प्रवाह हुनेछ । 
भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१७ नोभेम्बर १७ विसं २०७४ मङ्सिर ६ गते) ६ अर्ब रुपैयाँ लागतमा यो आयोजनाको ठेक्का पाएको थियो । तर, ठेकेदार कम्पनीले पटक पटकको म्याद थपपछि मात्रै आयोजनाको निर्माण पूरा गरेको केसीले बताए । सन् २०२५ नोबेम्बरसम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो । यो अवधिभित्र पनि आयोजना सम्पन्न नभएपछि चौथो पटक पनि म्याद थपिएको थियो । ठकेदारले अहिले चौंथो पटक थपिएको म्यादभित्र रहेर काम गरिरहेको केसीले बताए । कोरोना महामारी, बाढी, पहिरो जस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए । यस्तै, भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता भएको थियो । भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्र्याक्ट (इपिसी) मोडलको ठेक्का गरिएको थियो ।
राहुघाट आयोजना पहिले नै निर्माण सम्पन्न भई सञ्चालनमा आइसक्नु पर्ने थियो । तर, कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार कम्पनीसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएकाले पनि सम्पन्न हुन लामो समय लागेको हो । पहिलो ठेक्का रद्द भई दोस्रो पटकको खरिद प्रक्रियाबाट छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यो आयोजना सञ्चालनमा आउँदा वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्न सकिनेछ । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा ९ अर्ब १७ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्