नेभिगेशन
अर्थतन्त्र

फ्रन्टलाइन हस्पिटललाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन निर्देशन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र श्रम तथा रोजगार कार्यालयले काठमाडौंस्थित फ्रन्टलाइन हस्पिटललाई एक साताभित्र सामाजिक सुरक्षा कोषमा आबद्ध हुन निर्देशन दिएको छ । मन्त्रालय र रोजगार कार्यालयबाट अनुगमनका लागि गएको टोलीले फ्रन्ट लाइन अस्पतालको निरीक्षण गरी त्यहाँ कार्यरत श्रमिकहरूको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी अनुगमनपछि सामाजिक सुरक्षा कोषमा आबद्ध हुन निर्देशन दिएको हो । 
अस्पताललाई एक साताभित्र सबै कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराई प्रमाण पेश गर्न निर्देशन दिइएको छ । निरीक्षणमा गएको टोलीले अस्पतालमा कार्यरत कर्मचारीहरूको न्यूनतम पारिश्रमिक, सेवा सुविधा तथा श्रमसम्बन्धी कागजातहरूको अध्ययन गरेको थियो ।
अनुगमनका क्रममा अस्पतालले सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गरेको पाइएको भए पनि सामाजिक सुरक्षा कोषमा कर्मचारीहरूको आबद्धता निकै न्यून रहेको भेटिएको छ । अस्पताल प्रशासनले ६० वर्षे उमेर हद र कोषको रकम झिक्ने प्रक्रियासम्बन्धी अन्योलका कारण कर्मचारीहरूको सहभागिता कम रहेको जनाएको छ । तर, कर्मचारीहरूले भने अस्पताल प्रशासनले कोषमा रकम जम्मा गरिदिने आश्वासन दिए पनि कार्यान्वयन नगरेको गुनासो गरेका छन् ।
श्रम कार्यालयले देखिएका कमीकमजोरी सुधार गर्न निर्देशन दिँदै सात दिनभित्र सामाजिक सुरक्षा कोषमा आबद्धताको प्रमाणसहित १० बुँदे विवरण पेस गर्न अस्पताललाई भनेको छ । माग गरिएका विवरणमा सम्पूर्ण कर्मचारी तथा प्रशिक्षार्थीहरूको नामावली, २०८३ वैशाख महिनाको पारिश्रमिक तथा सेवा सुविधाको विवरण, सामाजिक सुरक्षा कोषमा जम्मा गरिएको रकमको अभिलेख, कर्मचारी सेवा नियमावली तथा सुरक्षा र स्वास्थ्य नीतिसम्बन्धी कागजात समावेश छन् । कारखाना निरीक्षक विवेक यादवले अस्पताल क्षेत्रमा ओभरटाइम काम र त्यसबापतको सुविधा नपाएको विषयमा गुनासो बढेपछि अनुगमन थालिएको बता ए। श्रमिकहरूको कानुनी अधिकार सुनिश्चित गर्न आगामी दिनमा पनि विभिन्न क्षेत्रका प्रतिष्ठानमा यस्ता अनुगमनलाई निरन्तरता दिइने उनले जानकारी दिए । अनुगमन टोलीले तत्काल सुधार गर्नुपर्ने विषयमा मौखिक निर्देशनसमेत दिएको छ भने माग गरिएका कागजात र प्रमाण प्राप्त भएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्