नेभिगेशन
अर्थतन्त्र

तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणाधीन

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलाशय जलविद्युत आयोजनामार्फत् ७ योजना निर्माणाधीन अवस्थामा छन् । आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्व अन्तर्गत ७ वटा योजना कार्यान्वयनमा गएका हुन् । वैशाख महिना मात्रै दुई वटा योजना सम्पन्न भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनका अनुसार तनहुँ जलविद्युत आयोजनाको आर्थिक सहयोगमा म्याग्दे गाउँपालिका–३ स्थित किल्चोक शाखा सडकमा नाला निर्माण र ऋषिङ गाउँपालिका–१ होक्सेटारमा खानेपानी मुहान तथा पाइप सुधार योजना सम्पन्न भएका छन् । 
आयोजनामार्फत् हालसम्म प्रभावित क्षेत्रमा ९६ योजना सम्पन्न भइसकेको भण्डारीले बताए ।  आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रहरुमा उपभोक्ता समितिहरुमार्फत् सामुदायिक विकास तथा जीविकोपार्जन पुनस्र्थापन कार्यक्रम सञ्चालनमा रहेको भण्डारीले बताए । उपभोक्ता समितिहरुमार्फत् सञ्चालित योजना वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकबाट नियमित रुपमा अनुगमन गरिएको छ ।     
यस्तै, ऋषिङ गाउँपालिका–७ स्थित माछदाङ टुनीबोट ट्रेल पुलसम्मको पहुँच सडक, भिमाद नगरपालिका–५ स्थित फेदीखोला मोटरेवल पुल निर्माण भइरहेको छ । यस्तै, ऋषिङ गाउँपालिका–७ स्थित डाडीवन चुलेसी पहुँच मार्ग, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिका जोड्ने सेती नदीमाथि चुलेसी, टुनीबोटे, ब्ल्याङ र टुटुवामा गरिने चारवटा झोलुङ्गे पुलका लागि लठ्ठा आपूर्ति तथा ढुवानीको काम भइरहेको छ । भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण तथा म्याग्दे गाउँपालिका–५ फूलबारीस्थित सामुदायिक भवन संरक्षणका लागि पर्खाल लगाउने कार्य र ऋषिङ गाउँपालिका–१ गैराखुदीस्थित दीपक माध्यमिक विद्यालय भवन निर्माण कार्य पनि भइरहेको भण्डारीले जानकारी दिए । 
आयोजना निर्माणका लागि समुदायको महत्त्वपूर्ण भूमिका रहने भएकाले सामाजिक कामलाई प्राथमिकता दिइएको भण्डारीको भनाइ छ । ‘समुदायसँग सहकार्य गर्दै आयोजनालाई सम्पन्न गराउनेतर्फ हामी लागिपरेका छौ, विभिन्न सामाजिक काममा आयोजनाको तर्फबाट सहयोग रहँदै आएको छ,’ उनले भने । आयोजनाको प्याकेज १ अन्तर्गत बाँध लगायतका संरचना (हेडवक्र्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा सम्बन्धित उपकरणहरु र प्याकेज ३ अन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण लाइनको काम भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्