नेभिगेशन
राजनीति

‘नेतालाई भगवान बनाउने गल्ती नगरौं’

काठमाडौँ । रास्वपाको महाधिवेशमा शुभकामना दिन संसदमा रहेका अरु विपक्षी दलका प्रमुख नेता नजाने पक्का हुँदा प्रमुख विपक्षी दल कांग्रेसका सभापति के गर्लान् ? भन्ने चासो थियो । उनको सचिवालयले आइतबार विहानै सभापति थापा चितवन जाने बतायो । रास्वपा नेता कार्यकर्ताले पनि थापाको उपस्थितिलाई महŒवका साथ हेरेका थिए ।
सभापति थापाको रास्वपा महाधिवेशनमा जाने निर्णयलाई धेरैले सकारात्मक निर्णय भएको बताए । संसदमा रहेको विपक्षी दल एमाले अध्यक्ष केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ रास्वपाको महाधिवेशनमा गएनन् । संसदमा रहेको कांग्रेसका सभापति गगन थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनमात्रै उद्घाटनसत्रमा पुगे । 
संसदमा सरकारविरुद्ध कडा रुपमा प्रस्तुत भइरहेको प्रमुख विपक्षी दलका सभापति थापाको भाषण सुन्न रास्वपा कार्यकर्ता आतुर देखिन्थे । थापाले उद्घाटनसत्रलाईसम्बोधन गर्दै रास्वपालाई शुभकामना दिए । सरकारले गलत गर्दा विपक्षी दलका रुपमा जहिले पनि प्रश्न गर्ने र राम्रो गर्दा समर्थन गर्ने बताएका थापाले रास्वपाका कार्यकर्तालाई आफ्ना नेताहरूलाई ‘भगवान्’ नबनाउन सुझाव दिए । ‘तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन । हामीले आफ्नो दलका नेताहरुलाई भगवान र बा बनाएर गल्ती गरिसक्यौँ । तपाईँहरूले नगर्नुहोला । गल्ती गरेको बेला आफ्ना नेताहरुलाई पनि प्रश्न गर्नुहोला । हामीले ढिला ग¥यौँ, सजाय पनि पायौँ । हाम्रो पार्टी दास र लासको पार्टी होइन भनेर केही अघि भन्न सक्नुपथ्र्यो । सकेनौँ । हामीले ढिला ग¥यौँ । त्यसबाट तपाईँहरूले सिक्नुहोला,’ उनले रास्वपा कार्यकर्तालाई सुझाव दिँदै भने, ‘आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट र साहस गर्नुहोला । गल्ती गर्दा अरु पार्टीलाई भन्दा आफ्नै पार्टीलाई भन्न सक्नुपर्छ ।’
त्यस्तै, उनले कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको दुश्मन नभइ प्रतिस्पर्धी भएको बताए । उनले रास्वपाको अग्लाई देखेर लोभ लागेको भएपनि रास्वपालाई सानो बनाएर ठुलो हुन नचाहेको बताए । ‘तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौँ । बन्छौँ पनि एकदिन । तर तपाईंहरूलाई सानो बनाएर, खुट्टा काटेर होइन । मन, वचन र कर्मले इमानदारितापूर्वक काम गरेर हामी अग्लो बन्न चाहन्छौँ,’ गगनले भने ‘हामी सफा हुन चाहन्छौँ तर तपाईंहरूलाई फोहोर देखाएर होइन । हामी आफ्नो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौँ । हामी तपाईंहरूको दुश्मन होइनौँ । हामी संसद्मा प्रतिस्पर्धी छौँ । जहाँ प्रश्न उठाउनुपर्ने हो, औँला ठड्याउनुपर्ने हो त्यहाँ औँला ठड्याउँछौँ । जहाँ थपडी बजाउनुपर्ने हो त्यहाँ थपडी बजाउँछौँ ।’ 
कांग्रेस सभापति थापाले इतिहासलाई नकार्न नमिल्ने भन्दै बहुदल स्थापनापछि देशमा केही भएन भनेर नभन्न पनि आग्रह गरे । ‘३५ वर्षमा केही भएको छैन नभन्नुहोला र पञ्चायत विरुद्धको संघर्षलाई नबिर्सनुहोला,’ थापाले भने । गरिबी, अज्ञानता, विभेद र अक्षमता नै देशको मुख्य दुस्मन भएको उल्लेख गर्दै सबै मिलेर यसको विरुद्ध लड्नुपर्नेमा थापाको जोड थियो । 
सभापति थापाले विगतमा पुराना दल जनमतको उन्माद लागेका कारण दुर्घटनामा परेको स्मरण गर्दै रास्वपालाई त्यसबाट सिक्न सुझाए । ‘नेताहरूको अहंकारबीच टकराव भयो, व्यक्तिबीच टकराव भयो । जसको कारणले दुर्घटना भयो । जनमतले यसरी बुझियो जनमतले शक्ति दियो, शक्तिको सीमा हुन्छ भनेर बुझिएन । त्यसले सत्ताको उन्मादमा चढायो, जसका कारण हामी हामीले अप्रजातान्त्रिक व्यवहार गर्न थाल्यौँ । जसका कारण जनमत दुर्घटनामा प¥यो । रास्वपाले यी दुवै अवस्थाको सामना गर्न नपरोस् ,’ गगनले भने । 
अवसर सदुपयोग गर्न विपक्षी दलको शुभकामना
महाधिवेशनमा पुगेका अरु विपक्षी दलका नेताहरुले रास्वपालाई अहिले प्राप्त जनमतको सदुपयोग गर्न शुभकामना दिए । एमाले नेता प्रदीप ज्ञवालीले जनादेश प्राप्त गर्नु महŒवपूर्ण भए पनि त्यसको सदुपयोग कसरी हुन्छ भन्नेमा ख्याल गर्नुपर्ने बताए । उनले रास्वपाको काँधमा असीम जनमत रहेको र इतिहासका गलत शिक्षा होइन, यो जनादेशलाई लोकतन्त्रको सुदृढीकरणका लागि सदुपयोग गर्न सुझाव दिए । सरकारका प्रारम्भिक गतिविधिमा काम गर्ने हुटहुटी देखिएको पनि उनले बताए ।
‘गाडीभित्र एक्सिलेटरसँगै ब्रेक पनि हुन्छ । दुवैको सन्तुलन मिलेन भने दुर्घटना पनि हुन सक्छ,’ उनले भने, ‘न्यायालय कमजोर भयो भने, यदि राष्ट्रपति संस्था, संसद् कमजोर भए र आलोचना निषेध गरियो भने जनमत सधैं रहिरहन सक्छ भन्न सकिँदैन । रास्वपाको हातमा लोकतन्त्र सुरक्षित होस् भनेर आगामी दिनमा नेपाली जनता आश्वस्त हुन सकून् ।’ त्यस्तै, उनले भूराजनीतिक र जटिलता बुझेर सतर्क भएर राष्ट्रिय हितलाई ध्यानमा दिन पनि रास्वपालाई सुझाव दिए । 
अर्को विपक्षी दल नेकपाका नेता वर्षमान पुनले नयाँ राजनीतिक शक्तिका रूपमा छोटो समयमै उल्लेखनीय जनसमर्थन हासिल गरेको रास्वपामाथि देशको विशेष चासो र अपेक्षा रहेको बताए । ‘विशाल जनमतसहितको सत्तारुढ दलको यो महाधिवेशनलाई सिंगो देशले हेरिरहेको छ । यसकारण पनि तपाईंहरुको महाधिवेशनमाथि धेरैको आँखा छ कि महाधिवेशनबाट तपाईंहरुले कस्तो नेतृत्व, विचार, रणनीति र कार्यदिशा तय गर्नुहुन्छ भन्ने विषयले समग्र राष्ट्रिय जीवनलाई नै प्रभाव पार्दछ,’ उनले भने, ‘तपाईं र हामीबीचमा केही भिन्नताहरु छन् । ती भिन्नता केही आशंकाको तहमा, केही नीतिगत, केही व्यवहारगत र केही शैलीगत छन् । हामीलाई तपाईंहरुको नियतमाथि शंका छैन, तर सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरुबाट अझ उच्च तहको प्रतिबद्धता आइदेओस् भन्ने चाहन्छौं ।’ उनले महाधिवेशनले रास्वपामाथिको संविधान, लोकतन्त्र, स्थापित प्रणालीजस्ता विषयमा रहेका प्रश्न, आरोप र आशंकाहरुलाई मेटाउन सफल हुने विश्वास व्यक्त गरे । 
त्यस्तै, उद्घाटनसत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरुको मत पनि रास्वपाले पाएको बताए भन्दै बालेनले राजा ल्याउँछ भन्ने आशा जनतामा रहेको बताए । ‘राजा चाहिन्छ भन्नेहरुको भोट पनि तपाईंहरुलाई छ । राजा चाहिन्छ भन्ने पार्टी राप्रपा हुँदाहुँदै बालेनले राजा ल्याउँछ भनेर तपाईंहरुलाई भोट दिएका छन् । तपाईँहरुको विशिष्ट जिम्मेवारी छ । जनताको यो विशिष्ट चाहनालाई सम्वोधन गर्नुपर्ने छ,’ उनले भने । लिङदेनले समस्या नेतामा मात्र नभएर संविधान र संवैधानिक व्यवस्थामा पनि रहेको बताए । 
त्यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको विषय उठाउँदै त्यसको जिम्मेवारी रास्वपाको काँधमा रहेको बताए । ‘संविधानमा संघीयता, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षिता महŒवपूर्ण विषय भए पनि अधुरो, अपूर्ण छ,’ उनले भने, ‘संविधान संशोधन गरी, परिमार्जन गरी, विकृति र विसंगति हटाएर संशोधन गर्ने ऐतिहासिक जिम्मेवारी आइपुगेको छ ।’
जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले रास्वपा महाधिवेशनलाई क्रान्ति–उत्सवको भएको बताउँदै जेनजी आन्दोलनको मर्म नभुल्न आग्रह गरे । ‘यो एउटा महाधिवेशन मात्र होइन, यो क्रान्तिको महोत्सव होइन,’ उनले भने, ‘जुन सपना तपाईंहरूले देख्नु भएको छ त्यही सपना पनि मैले देखेको छु । म प्रतिस्पर्धी होइन सहयोगी र शुभेच्छुकका रूपमा उपस्थित भएको छु,’ उनले भने । 
त्यस्तै, महाधिवेशनलाई शुभकामना दिँदै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले रास्वपाले अब चुनाव चिह्नको लोकप्रियताभन्दा माथि उठेर सुशासन र विकासको परिणाम देखाउनुपर्ने बताए । ‘अब चुपचाप घण्टी छाप होइन, चुपचाप सुशासन र विकासतर्फ अपग्रेड गर्नुस्,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्