काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आफूमाथि संसद्मा उठेका प्रश्नहरुको जवाफ चितवनमा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो अधिवेशनको मञ्चबाट दिएका छन् । रास्वपा वरिष्ठ नेतासमेत रहेका शाहले आफूमाथि उठेका ३ प्रश्नको जवाफ दिएका हुन् । नेपाल–भारत सीमाबारे दिएको विवादित अभिव्यक्ति, बेलायतको मध्यस्थता खोजिएको सन्दर्भ र अख्तियार दुरुपयोग अनुसनधान आयोगका प्रमुख आयुक्तसहितलाई बालुवाटारमा बन्धक बनाइएको भन्ने विषयमा जवाफ दिए ।
प्रधानमन्त्री शाहले गत जेठ १७ गते प्रतिनिधिसभामा नेपाल–भारत सीमाबारे बोलेको कुरामा प्रतिपक्षी दलहरुले जवाफ मागेका थिए । संसदमा चर्को विरोध हुँदा पनि अनदेखा गर्दै आएका बालेनले पार्टीको प्रथम राष्ट्रिय राष्ट्रिय महाधिवेशनको मञ्चमा भने, ‘यहाँ सीमाका कुरा उठे । हामीसँग प्रमाण छन् । हाम्रा प्रमाणहरू लिएर कुरा गर्छौं । हामीले मधयस्थकर्ता गर्न खोजेको होइन । हामीसँग प्रमाण छैन भने त्यो खोज्न हामी ब्रिटिसकालको दस्तावेजसम्म पनि जानुपर्छ भनेको हो ।’
उनले यही विषयलाई लिएर आफ्नो राष्ट्रियतामाथि नै प्रश्न गरेकोप्रति जवाफ दिँदै भने, ‘मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन ।’ संसद्को रोस्ट्रमबाट शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको रहेछ, त्यो कुरा मैले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ’ भनेका थिए । त्यसबारे भने उनले प्रष्टीकरण दिएनन् । भारतले अतिक्रमण गरेको लिपुलेक र कालापानी नेपालको भूमि भएकाले आफूहरुले त्यसबारे संवाद गर्नसक्ने उनले बताए । बेलायतका बारे आफूले संसद्मा बोलेका कुरा उनले पार्टीको मञ्चबाट सच्याएका छन् ।
भारतसँगको सीमाना विवाद समाधान गर्न ब्रिटिश मध्यस्थताको विषयमा प्रधानमन्त्री शाहले प्रष्ट पारे । भारतसँग सीमा विवादको समाधानका लागि सरकारले बेलायतको मध्यस्थता नखोजेको पनि बताए । उनले भने, ‘ब्रिटिसले राज गर्दाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौँ । ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौं ।’
त्यस्तै, अहिले छानबिनमा रहेको इ–पासपोर्ट ठेक्का प्रकरणमा प्रधानमन्त्री शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरुलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर दबाब दिएको भन्दै सदनमा उठेको प्रश्नबारे पनि जवाफ दिए । उनले आफूहरु नियम कानुनको दायराभन्दा बाहिर नगएको दाबी गरे । विगतमा भएका गडबडीहरूलाई अनुसन्धान गर्ने क्रमम आवश्यक पर्छ भने ५ घण्टा होइन ५ वर्ष पनि ‘छलफल गर्ने’ उनले बताए । सरकारी सम्पत्तिको दोहन भएको विषयमा निहुँ खोज्नुपरे खोज्ने भनाइ उनले राखे । ‘निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने ५ घण्टा मात्रै होइन ५ वर्ष नै अख्तियारलाई राखेर सल्लाह गरिन्छ । हामी नियम भन्दा बाहिर जाँदैनौं,’ उनले भने ।
प्रधानमन्त्री शाहले यही कार्यकालमा सहकारी र सुकुम्बासी समस्या समाधान गर्ने भन्दै अर्को चुनावमा यही एजेन्डा बोकेर नजाने पनि घोषणा गरे ।
त्यस्तै, प्रधानमन्त्री शाहले उद्घाटनसत्रमा शुभकामना दिने क्रममा विपक्षी दलका नेताहरुले दिएको अभिव्यक्तिमाथि पनि टिप्पणी गरे । सरकारलाई गाडीसँग तुलना गर्दै व्यक्त भएका टिप्पणीप्रति लक्षित गर्दै उनले भने, ‘ब्रेक लगाउनुपर्ने चिन्ता लोकल रोडमा गुड्ने गाडीका लागि मात्र हो, जहाँ दायाँ–बायाँबाट मान्छे र गाडी आउँछन् । तर हाम्रो गाडी एक्सप्रेस–वेमा छ । यसको ब्रेक गन्तव्यमा पुगेपछि मात्रै लाग्छ ।’ उनले सरकार र पार्टीको सबै गतिविधि पूर्ण नियन्त्रणमा रहेको र सामाजिक सञ्जालमा देखिए जस्तो ‘आउट अफ कन्ट्रोल’ नभएको दाबी गरे । उनले रास्वपा कार्यकर्ताहरुलाई पद र गुट मोहमा नफस्न सतर्क गराए । कसैले कुनै पदमा पुगे केही गर्न सकिन्छ भन्ने लागेको खण्डमा त्यस्ता योजना ल्याउँदा पार्टी र सरकारले अघि बढाउने उनले बताए ।
पार्टी सभापति रवि लामिछानेले भने भावुक सम्बोधन गरे । प्रधानमन्त्री शाह र आफूबीच कुनै मतभेद नरहेको पुष्टि गर्न उनले समय खर्चिए । उनले बालेनसँगको सहमति इमान्दारिताका साथ पालना गर्ने बताएका हुन् । ‘सरकार सञ्चालनका लागि रास्वपाले निर्वाचनअघि नै बालेनको खुट्टामा बल पु¥याइसकेको छ, भटाभट गोल हान्ने जिम्मा बालेनजीको हो, उहाँले निरन्तरता पनि दिरहनुभएको छ,’ लामिछानेले भने, ‘झुक्किएर त्यो बल कहीँ आएछ भने त्यो बल त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो ।’
विगतका राजनीतिक दलका अनुभवबाट सिकेर पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरेर अघि बढ्नुपर्ने भनाइ पनि उनले राखे । कार्यकर्ताहरुलाई लक्ष्य गर्दै उनले पार्टी एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा नआउने पनि दाबी गरे ।
उनले महाधिवेशन पार्टीभित्र रहेका असमझदारी र मनमुटाव अन्त्य गर्ने अवसर बन्नुपर्ने बताए । ‘यतिबेला हामीले गुट उपगुटतिर नलागेर विगतका राजनीतिक दलका अनुभवहरुलाई हेरेर अगाडि बढ्ने हो भने रास्वपालाई लडाउने शक्ति अबको युगमा कोही पनि आउन सक्दैन । तर साथी हो, कहिलेकाँही के हुँदो रहेछ भने त्याग र बलिदान भनेको अरुले ग¥यो भने खुशी मान्ने आफूले ग¥यो भने दुःख मान्ने कुरा हुने रहेछ,’ लामिछानेले भने, ‘यसबाट सचेत रहनको लागि म अनुरोध गर्न चाहन्छु । यो ऐतिहासिक महाधिवेशनले हामी बीचमा पनि केही वैमनश्यता रहेछन् भने त्यसलाई अन्त्य गर्ने बिन्दु बनोस् ।’ उनले महाधिवेशनले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउने विश्वास पनि व्यक्त गरे ।
नेतृत्व चयन आज
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसहितको नयाँ कार्यसमिति सोमबार चयन हुनेछ । महाधिवेशनमा जानुअघि नै रास्वपामा यस्तो सहमति बनिसकेको छ । अरु पदका लागि भने सोमबार निर्वाचन हुनेछ ।
आइतबार बिहान ७ बजे महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन गरिसकिएको छ । पछिल्लो अपडेट अनुसार ४ हजार बढी महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिएको केन्द्रीय निर्वाचन उपप्रमुख राम गुरूङले बताएका छन् । उक्त नामावलीमा दाबी विरोधका लागि सोमबार बिहानसम्मको समय दिइएको छ । सोमबार विहान १० बजे निर्वाचन कार्यालयले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्ने छ । सोमबार १ बजेदेखि पहिलो चरणको निर्वाचन (पार्टी सभापति र केन्द्रीय सदस्य) का लागि उम्मेदवारी मनोनयनको फाराम वितरण गरिने छ । दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयनपत्र दर्ता सुरू गरिने छ । दर्ता ४ बजेसम्म गरिने छ । सोमबार साँझ ८ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिने छ ।
उम्मेदवारहरूविरूद्ध दाबी विरोध गर्ने समय प्रथम नामावली प्रकाशनपछि १ घण्टा दिइएको छ । ७ बजेदेखि ९ बजेसम्म ती दाबी परेका उम्मेदवारहरूबारे जाँचबुझ गरिने छ । सोमबार राति ९ बजेर १५ मिनेटसम्म उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिन पाउने अन्तिम समय तोकिएको छ । राति ११ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने छ । मंगलबार बिहान ७ देखि ८ः३० सम्म मौन अवधि तोकिएको छ । त्यसपछि ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदानको समय तय गरिएको छ ।
त्यसपछि दोस्रो चरणको (पार्टी पदाधिकारीका लागि) निर्वाचन प्रक्रिया सुरू हुने छ । तर दोस्रो चरणको कार्यतालिका भने पछि तोकिने छ ।