नेभिगेशन
अर्थतन्त्र

म्याग्दीका ४५ वटै वडा सडक सञ्जालमा जोडिए

काठमाडौं । कुनै समय दुर्गमता, कठिन भूगोल र आधारभूत पूर्वाधारको अभावले चिनिने म्याग्दीको धवलागिरि गाउँपालिका अहिले सडक सञ्जाल विस्तारसँगै विकासको नयाँ यात्रामा अघि बढेकोे छ । वर्षौँसम्म पैदल यात्रामै सीमित रहन बाध्य स्थानीय बासिन्दाले अहिले आफ्नै गाउँसम्म सडकको पहुँच पाएपछि दैनिक जीवनमा उल्लेखनीय परिवर्तन अनुभव गर्न थालेका छन् । धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा गाउँ सडक सञ्जालमा जोडिएसँगै म्याग्दी जिल्लाका सबै ४५ वटै वडामा सडकको पहुँच पुगेको छ । विगतमा दुर्गम भूगोलका कारण विकासका अवसरबाट टाढा रहेको गुर्जा अहिले सडकमार्फत पालिका केन्द्रसँग जोडिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । 
‘यस वर्ष गुर्जासम्म सडक पु¥याउन सफल भएका छौँ । अब सडकलाई स्तरोन्नति गरेर नियमित सञ्चालनयोग्य बनाउने तयारी भइरहेको छ,’ उनले भने, ‘सडक विस्तारले स्थानीयलाई यातायात सुविधा उपलब्ध गराउनुका साथै कृषि तथा पशुजन्य उत्पादनको बजारीकरणमा समेत टेवा पुग्ने भएको छ ।’
स्थानीय तह निर्वाचनसम्म मुना र खोरियाबीचको अक्करे भिर क्षेत्रमा रोकिएको सडकलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले लुलाङ हुँदै गुर्जासम्म विस्तार गरेको हो । संघीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा निर्माण गरिएको करिब २२ किलोमिटर सडकको ट्र्याक हाल पूर्ण रूपमा खुलिसकेको छ । गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८०÷८१ देखि सुरु भएको सडक निर्माणका लागि विभिन्न चरणमा बजेट विनियोजन गरिएको थियो । पहिलो वर्ष संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा ६ करोड रुपैयाँ खर्च गरिएको थियो भने त्यसपछिका वर्षहरूमा थप बजेट परिचालन गरी सडक निर्माण सम्पन्न गरिएको हो । सडक सुविधा नहुँदा गुर्जाका बासिन्दाले पालिका केन्द्र मुना पुग्न एक दिनभन्दा बढी समय पैदल हिँड्नुपर्ने अवस्था थियो। अहिले भने एउटै दिनमा सरकारी सेवा लिएर घर फर्कन सक्ने अवस्था बनेको छ । सडकलाई थप सुरक्षित र सहज बनाउन लमसुङस्थित दरखोलामा मोटरेबल पुल निर्माणको काम समेत अघि बढाइएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनका अनुसार पछिल्लो चार वर्षमा सडक पूर्वाधार विस्तार धवलागिरिको सबैभन्दा ठूलो उपलब्धि बनेको छ । यस अवधिमा लुलाङ, गुर्जा, जलजला, गुर्जाघाट हुँदै ढोरपाटनसम्म सडक पहुँच विस्तार भएको छ । यसले स्थानीय आवागमन मात्र नभई पर्यटन र आर्थिक गतिविधिलाई समेत गति दिएको छ ।  मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्गका रूपमा हेरिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकले म्याग्दी, बागलुङ र पूर्वी रुकुमलाई जोड्ने महत्वपूर्ण यातायात सञ्जालको रूप लिँदै गएको छ । काठमाडौँ र पोखराबाट ढोरपाटन पुग्न यो छोटो दूरीको मार्गसमेत बन्ने अपेक्षा गरिएको छ । धवलागिरि–२ मरेनीदेखि ढोरपाटनको जलजलासम्म सडक ट्र्याक निर्माणको काम पनि हालै सम्पन्न भएको छ । यसैगरी, वडा नं. ४ मुदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको सहयोगमा खिबाङ, बगर, दोभान र चेचुङलगायतका बस्तीमा समेत सडक विस्तार भएको छ । केही बस्तीमा अझै सडक पु¥याउने काम जारी रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माका अनुसार आगामी आर्थिक वर्षका लागि संघीय समपूरक कोषबाट प्राप्त बजेटमार्फत भेडिखाल्टालगायत बाँकी बस्तीलाई पनि सडक सञ्जालमा जोडिनेछ । सडक पुगेपछि धवलागिरिका बासिन्दाको जीवनशैलीमा व्यापक परिवर्तन आएको छ । कृषि उपज ढुवानी, स्वास्थ्य सेवा, शैक्षिक पहुँच तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा सहजता आएको स्थानीय बताउँछन् । विकासको मूलधारबाट टाढा रहेका गाउँबस्ती अहिले क्रमशः आर्थिक तथा सामाजिक गतिविधिको केन्द्रतर्फ उन्मुख हुन थालेका छन् । कुनै समय दुर्गमताको पर्याय मानिने धवलागिरिमा अहिले सडक सञ्जालले विकासका नयाँ सम्भावना खोलिदिएको छ । गाउँगाउँमा पुगेको सडकले स्थानीयको जीवन सहज बनाउनुका साथै समृद्धिको यात्रालाई पनि गति दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्