नेभिगेशन
अर्थतन्त्र

रसुवागढी नाका जोड्ने सडकको स्तरोन्नति हुँदै

काठमाडौं । नेपाल–चीनबीचको व्यापारिक तथा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित स्याफ्रुबेँसी–रसुवागढी सडक खण्डको स्तरोन्नति अघि बढेको छ । गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने करिब १६ किलोमिटर लामो यो सडक खण्डलाई आधुनिक, सुरक्षित र दिगो बनाउने लक्ष्यका साथ निर्माण भइरहेको हो । गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक आयोजना कार्यालयका अनुसार सडक स्तरोन्नतिका लागि चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको छ । यसअघि पनि उक्त सडक निर्माणमा चीन सरकारको सहयोग रहेको थियो । चिनियाँ निर्माण कम्पनीमार्फत सञ्चालन भइरहेको आयोजनाले उत्तरी व्यापारिक नाका रसुवागढीलाई थप व्यवस्थित र सुविधायुक्त बनाउने लक्ष्य लिएको छ । आयोजनाका स्थलगत अनुगमनकर्ता तथा इञ्जिनियर कुमार पराजुलीका अनुसार हाल सडक सुरक्षासम्बन्धी संरचना निर्माण, मेसिनरी टेवा पर्खाल निर्माण तथा पहरा कटिङको काम तीव्र रूपमा भइरहेको छ । विभिन्न स्थानमा निर्माण कार्य अघि बढे पनि लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भागमा रूख कटानको अनुमति समयमै प्राप्त हुन नसक्दा केही क्षेत्रमा काम प्रभावित भएको बताए । गत पुसबाट सुरु भएको स्तरोन्नति कार्य हालसम्म करिब सात प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ । निर्माण कम्पनीले रोङ्गा दोभानमाथि राजमार्ग नजिकै कामदार तथा प्राविधिकका लागि आवास निर्माण गरिसकेको छ । आवासीय व्यवस्थाले जनशक्ति परिचालन सहज भएपछि निर्माण कार्य दिनरात सञ्चालन भइरहेको इञ्जिनियर पराजुलीले बताए । 
‘नेपाल सरकारले स्थानीय खोलाबाट आवश्यक गिट्टी, बालुवा सङ्कलन गर्ने अनुमति दिइसकेको छ । तर, सडक विस्तारका क्रममा हटाउनुपर्ने रूखको स्वीकृति समयमा नआउँदा केही क्षेत्रमा कामको गति प्रभावित भएको छ,’ उनले भने । 
३९ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजनाले रसुवागढी नाकामार्फत हुने व्यापार, पर्यटन, पारवहन तथा जनस्तरको आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ । यसैबीच टिमुरे क्षेत्रमा विसं २०६५ मा अधिग्रहण गरिएको सडक क्षेत्रभित्र स्थानीयले पुनः निर्माण गरेका घरटहरा तथा अन्य संरचना हटाउन आयोजना कार्यालयले सम्बन्धित पक्षलाई सूचना जारी गरेको छ । गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढी तथा भोटेकोशी नदीको कटानका कारण सडकका विभिन्न भागमा क्षति पुगेपछि स्तरोन्नति कार्यलाई अझ प्राथमिकता दिइएको हो । तातोपानी डाँडा, घट्टेखोला, घट्टेखोलाको दक्षिणी भीर तथा टिमुरे गाउँमुनिका क्षेत्रहरूमा सडक संरचना कमजोर बनेकाले दीर्घकालीन समाधानका लागि निर्माण कार्य अघि बढाइएको आयोजनाले जनाएको छ । नेपाल र चीनबीचको पुरानो व्यापारिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वासका साथ अघि बढाइएको यो परियोजनाले उत्तरी नाकाको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । सडक स्तरोन्नति सम्पन्न भएपछि रसुवागढी नाकाबाट हुने द्विपक्षीय व्यापार विस्तार, पर्यटन प्रवद्र्धन र स्थानीय आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्