नेभिगेशन
अर्थतन्त्र

पर्यटकको रोजाइ बन्दै इटहरीको तालतलैया,दैनिक २५ सयले गर्छन् भ्रमण

काठमाडौं ।  पूर्वी तराईमा गर्मी बढ्दै जाँदा सुनसरीको इटहरीस्थित तालतलैया आन्तरिक तथा भारतीय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । हरियाली वातावरण, जलाशय, बोटिङ सुविधा र मनोरञ्जनका विविध संरचनाका कारण तालतलैया यतिबेला गर्मीबाट राहत खोज्नेहरूको प्रमुख गन्तव्य बनेको हो । इटहरी उपमहानगरपालिका–२ र ३ मा फैलिएको करिब २१.५ हेक्टर क्षेत्रफलको तालतलैयामा पछिल्ला दिनमा पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढेको छ । तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर रायमाझीका अनुसार सामान्य अवस्थामा दैनिक पाँच सय हाराहारी पर्यटक आउने गरेकामा हाल गर्मी बढेसँगै दैनिक २५ सयभन्दा बढी पर्यटक पुग्न थालेका छन् । यहाँ आउने पर्यटकमध्ये उल्लेख्य संख्या सीमावर्ती भारतीय सहरको रहेको रायमाझीले बताए । साथै, सिरहा, सप्तरी, मोरङ, सुनसरीलगायतका जिल्लाबाट पनि ठूलो संख्यामा पर्यटक तालतलैया पुग्ने गरेका छन् । गर्मीका बेला शीतल वातावरण, हरियाली र जलाशयले आकर्षित गर्ने भएकाले परिवार, साथीभाइ तथा समूहगत रूपमा घुम्न आउनेको सङ्ख्या बढेको व्यवस्थापन समितिको भनाइ छ । तालतलैयाको मुख्य आकर्षणमध्ये बोटिङ सेवा एक हो । परिसरभित्र रहेका ६ वटा पोखरीमध्ये दुईवटा मोटरबोट सञ्चालनमा छन्, जसले पर्यटकलाई जलयात्राको अनुभव दिलाउने गरेको छ । शीतल हावा र हरियाली वातावरणबीच बोटिङको आनन्द लिन पाइने भएकाले यो सेवा पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ ।
तालतलैयामा खुला क्षेत्र, बोटिङ, फोटो खिच्न मिल्ने आकर्षक स्थान, चिडियाखाना, फूलबारी तथा बालबालिकाका लागि खेलकुद संरचना भएकाले परिवारसहित घुम्न उपयुक्त गन्तव्य बनेको पर्यटक रविना थापा बताउँछिन् । विगतमा भेडेटार जाने गरे पनि पछिल्ला दिनमा बोटिङको आकर्षणले तालतलैयातर्फ आकर्षित भएको उनले बताइन् । गर्मीमा पर्यटकलाई सहज बनाउन तालतलैयाभित्र विभिन्न चौतारा, बगैँचा र नर्सरी निर्माण गरिएका छन् । यहाँ रहेको चिडियाखानामा दुम्सी, मयुर, गिद्ध, चित्तल, बाँदर, हाँसलगायतका जीवजन्तु अवलोकन गर्न सकिन्छ।  बालबालिकाका लागि चिल्ड्रेन पार्क र पानीका फोहोरा पनि सञ्चालनमा रहेकाले विद्यालय बिदाका समयमा परिवारसहित आउनेको संख्या बढी हुने गरेको छ । तालतलैयाको पूर्वाधार विकासलाई पनि तीव्रता दिइएको छ । आर्थिक वर्ष २०८१÷८२ मा सहरी विकास मन्त्रालयबाट प्राप्त ८५ लाख रुपैयाँ बजेटमार्फत पर्यटकमैत्री संरचना, आधुनिक शौचालय तथा चिडियाखानाको स्तरोन्नति गरिएको व्यवस्थापन समितिले जनाएको छ । पर्यटकको बढ्दो आगमनले स्थानीय व्यवसायमा समेत सकारात्मक प्रभाव परेको छ । तालतलैया आसपासका होटल, रेस्टुरेन्ट तथा खाद्य परिकारका व्यवसायीको व्यापार उल्लेख्य रूपमा बढेको छ । विशेषगरी चटपटे, मःम, चाउमिन तथा चिसो पेय पदार्थको बिक्री गर्मी याममा उल्लेख्य बढ्ने गरेको स्थानीय व्यापारी इन्दु राणा बताउँछिन् ।
संघीय तथा प्रदेश सरकारको सहयोगमा यहाँ विभिन्न भौतिक संरचनाको मर्मत, जनावरको बासस्थान संरक्षण तथा कलात्मक संरचना निर्माण गरिएका छन् । एकैपटक ७० भन्दा बढी समूहले वनभोज गर्न सक्ने क्षमता रहेको तालतलैया पूर्वी नेपालकै प्रमुख मनोरञ्जन तथा वनभोज गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । पर्यटकको बढ्दो आकर्षणसँगै यस क्षेत्रले स्थानीय अर्थतन्त्र र पर्यटन प्रवद्र्धनमा समेत महत्त्वपूर्ण योगदान पु¥याइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्