आधा दर्जन फिल्म निर्माण गरिसकेका सुशील पोखरेलले समयको नजाकत बुझ्दै नेपाली कला र संस्कृति झल्कने गरी नयाँ फिल्म सुटिङको तयारी गर्दै थिए । सबै कुरा ठीक हुँदै थियो तर जेनजी आन्दोलन यति ठूलो होला भन्ने उनले पनि अन्य धेरैजस्तो कल्पना गरेका थिएनन् ।
सुटिङका लागि उनका कलाकार र अन्य सहयोगीहरू म्याग्दी पुगिसकेका थिए । फिल्म खिच्ने युनिट चाहिँ सरसामग्रीसहित २३ गते जाने तयारीमा थियो । आन्दोलन यसरी चर्कियो कि उनको युनिट सम्हालिनै पाएन । उनी काठमाडौँमै तीन दिनदेखि उपत्यका छाड्ने बाटो खोजिरहेका छन् ।
यसअघि परदेशी, लभसब, राधे, यात्रा, जय शिव शंकर, मैदान, बडिगार्ड, जीवनदाताजस्ता फिल्म निर्माण गरेका उनले यसबीचमा सांस्कृतिकता र मौलिकता झल्काउने फिल्मलाई दर्शकले रूचाइरहेको देखेपछि फिल्म निर्माणको ट्रेन्ड बदलिएको भान भयो । त्यसैले यसपाला ’परालको आगो’ बनाउँदै थिए । यसका लागि उनले पुरानो परालको आगोका निर्देशक प्रताप सुब्बाकी पत्नीसँग आशीर्वाद पनि लिएर आएका थिए ।
’मंगलबार नै जाने कुरा थियो, उता खर्च भइरहेको छ यता हामी अड्किरहेका छौँ,’ निर्माता सुशील पोखरेलले भने । फिल्मलाई सुलक्षण भारतीले लेखेका छन् । कथा सुविख्यात गुरूप्रसाद मैनालीको क्लासिक कथालाई प्रयोग गरिएको छ । यसअघि नै प्रताप सुब्बाले बनाइसकेको फिल्मलाई नयाँ कलेबरमा, २०४० सालको सेरोफेरोमा निर्माण गरिँदैछ ।
कहिल्यै पुरानो नहुने कथा छानेपछि उनले नयाँ प्रविधिमा यो कथा बन्न आवश्यक भएकाले बनाएको बताउँछन् । फिल्ममा सौगात मल्ल, प्रकाश सपूत, सिर्जना अधिकारी लगायत अन्य छन् । फिल्मको बजेट २ करोड हाराहारी लाग्ने अपेक्षा गरिएको छ । अहिले नै रिलिज कुन समयमा गर्ने भन्ने लक्ष्य राखिएको थिएन ।
सुशील भन्छन्, ’पहिला फिल्म राम्रो बनाऔँ । जब फिल्म क्वालिटीको बन्छ, समय तोकूँला भन्ने छ ।’ म्याग्दीमा गएका २० दिनदेखि सेट बनाइसकिएको छ । घरबारी सबै बनाइसकेको र यही बेला ती दृश्य खिच्न नसकिए, एक वर्ष नै ढिला हुने उनले देखिरहेका छन् ।
सेट बनाउन मात्र करिब २५ लाख खर्च भइसकेको उनको अनुमान छ । एउटा पुरानो ग्रामीण समय पुनर्जीवित गर्न दशैं, जन्ती, बाजागाजा, पहिरनमा पनि ध्यान दिइएको उनको भनाइ छ । सरकारले अनुमति दिनेबित्तिकै उपत्यका छाड्ने मनस्थितिमा उनी छन् । यसअघि बनाएका फिल्महरूको अनुभवले भन्छ, हामी हलिउडजस्तो बनाउन सक्दैनौं, फिल्म पूरै नक्कली देखिन्छ । हिन्दी वा साउथजस्तो बनाउन पनि सक्दैनौं । दर्शकले हाम्रै चिज खोजिरहेको छ, माटोको सुगन्ध आओस् भन्ने चाहिरहेको छ । नेपालीपन नै खोजिरहेको भए हाम्रा पुराना कथा छानूँ भनेर यो फिल्म छानेको उनले बताए ।
उनले भने, ‘समय धेरै चेन्ज भइसक्यो । पहिलेजस्तो चिच्याएर फाइट, गीत राखेको मन पराउन छाडे । विशेष चिज नै खोज्छन् । विश्वभरका सिनेमा हेरेका नयाँ पुस्ता निकै स्मार्ट छन् । एक हिसाबले मेकरभन्दा बाठा छन् । उनीहरूको मन जित्नु चुनौती छ ।’ यही चुनौती मोलेर उनी सुटिङ हुने दिन कुरिरहेका छन् ।