नेभिगेशन
राजनीति
रास्वपा महाधिवेशन लम्बियो

बन्द सत्र स-यो, नेतृत्वमा आकांक्षी थुप्रै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको बन्दसत्र महाधिवेशनमा सहभागी प्रतिनिधिको टुंगो नलाग्दा एक दिन लम्बिने भएको छ । सोमबार बिहानैदेखि बन्दसत्र सुरु गर्ने पूर्वनिर्धारित तालिका प्रभावित भएको छ । रोकिएको प्रक्रिया मंगलबार सुरु हुने भएको छ । महाधिवेशन प्रतिनिधिबीचको विवाद नटुंगिँदा बन्दसत्र सरेको  हो । सोमबार बिहान ९ बजे हुने भनिएको बन्द सत्र पटक–पटक सारिँदै करिब ९ घण्टापछि अन्ततः स्थगित भएको सूचना गरिएको थियो ।  
महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र कार्ड प्रिन्ट गर्ने काममा अपेक्षितभन्दा बढी समय लागेकाले बन्दसत्र निर्धारित समयमा हुन नसकेको पत्रकार सम्मेलन गर्दै रास्वपा प्रवक्ता मनिष झाले जानकारी गराए । ‘हामीले ९ गते नै सबै कार्यक्रम सक्ने लक्ष्य राखेका थियौं । तर प्रतिनिधिको ठूलो संख्या र उम्मेदवारीमा धेरैको आकांक्षाका कारण १० गतेसम्म लम्बिन सक्ने कुरामा हामी मानसिक रूपमा तयार थियौं,’ उनले भने । 
प्रतिनिधिका सबै कार्ड वितरण भइसकेपछि बन्दसत्रको कार्यक्रम सुरु गरिने रास्वपाले विज्ञप्तिमार्फत जनाएको छ । बन्दसत्रको सार्वजनिक कार्यतालिका अनुसार सुरुमा अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत हुनेछ । अनुशासन आयोगकातर्फबाट रमाकान्त रिमालले प्रस्तुत गरेको उक्त प्रतिवेदनमा छलफल हुनेछ । त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले प्रस्तुत गर्ने आर्थिक प्रतिवेदनमा छलफल हुनेछ । त्यसपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् । पार्टी सहमहामन्त्रीले विधानमाथिको छलफल अगाडि बढाउने छन् । विधान पारित भएपछि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । उक्त प्रतिवेदन पारित भएपछि अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा हुनेछ । त्यसलाई आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिनेछ । त्यसपछि बल्ल निर्वाचन प्रक्रियासम्बन्धी तालिका प्रस्तुत हुनेछ । 
घोषित कार्यतालिकाअनुसार बन्दसत्र अघि नबढेकोमा रास्वपाकै नेताहरूले असन्तुष्टि जनाएका छन् । ‘तालिका अनुरूप काम नहुनु दुखद,’ रास्वपा सांसद राजीव खत्रीले सामाजिक सञ्जालमा लेखेका छन् । आइतबार उद्घाटन भएको रास्वपाको पहिलो महाधिवेशन ९ गतेसम्मका लागि तोकिएको थियो । 
नेतृत्वमा आकांक्षीको ओइरो
रास्वपामा पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यका लागि चुनाव हुन्छ भनिएको थियो । सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा बालेन शाहको नाम सर्वसम्मत हुने निश्चित नै छ । पार्टी पदाधिकारी हुन पहिला केन्द्रीय समितिको निर्वाचन जित्नुपर्छ । रास्वपामा ९९ केन्द्रीय सदस्य पदमा चुनाव हुनेछ भने बाँकी मनोनीत हुनेछन् । केन्द्रीय समिति १५८ सदस्यीय हुन्छ ।  जसमा प्रदेश सभापतिहरू पदेन केन्द्रीय सदस्य रहनेछन् । 
करिब ४ हजार प्रतिनिधि पुग्ने अनुमान गरिएको रास्वपा महाधिवेशनमा नेतृत्वमा आउन चाहनेहरूको साख्या उल्लेख्य देखिएको छ । सोमबार महाधिवेशनस्थलमा केन्द्रियय सदस्यको आकांक्षी भन्दै प्रतिनिधिहरूसँग मत माग्ने नेताहरूको लामै लर्को देखिएको छ । उम्मेदवारी दर्तासम्म कतिले आफ्नो दाबी कायम राख्छन् त्यो भने हेर्न बाँकी छ । 
रास्वपा प्रवक्ता मनिष झाले सोमबार महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ‘देशले राखेको अपेक्षालाई सम्बोधन गर्न महामन्त्रीको जिम्मेवारी महŒवपूर्ण छ । मैले आफ्नो क्षमता, पृष्ठभूमि र साथीहरूको सल्लाहका आधारमा यस पदका लागि आफूलाई योग्य पात्र ठानेको छु,’ उनले सोमबार सञ्चारकर्मीहरूसँग भने । महामन्त्रीमा हालका महामन्त्री कविन्द्र बुर्लाकोटी र भूपदेव शाह दोहोरिने तयारीमा छन् । त्यस्तै, सभापति लामिछानेका विश्वासपात्र मानिने विपिन आचार्यले पनि महामन्त्रीमा आकांक्षा राख्दा यसपटक रास्वपाको महाधिवेशनमा महामन्त्रीको विषयले बढी चर्चा पाएको छ । महामन्त्री भूपदेव शाहले नेतृत्वमा सर्वसहमतिको प्रयास पनि भइरहेको बताए । ‘सबै एकै ठाउँमा आएरमात्रै दुई तिहाइ हासिल गर्न सम्भव भएको हो, सबै जना महाधिवेशनबाट पनि सम्मानित रूपमा आउने वातावरण बनाउन हामी अहोरात्र खटिरहेका छौं,’ उनले भने, ‘यदि सहमति हुन सकेन भने पनि लोकतान्त्रिक पद्धतिमा प्रतिस्पर्धात्मक माहोलबाट साथीहरू आउनुहुनेछ ।’ 

सिंहदरबारमा एक्लो मन्त्री महावीर
हाल सरकार रास्वपाको भएकाले प्रधानमन्त्रीदेखि सबै मन्त्री चितवनमा छन् । मन्त्रीहरूमा एक्लै महावीर पुन मात्रै सिंहदरबारमा छन् । उनी स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्य बनेकाले चितवन जानु नपरेको हो ।
रास्वपा वरिष्ठ नेता रहेका बालेन शाहसहित, अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, शिक्षा मन्त्री सस्मित पोखरेल, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, कानुन मन्त्री सोविता गौतमसहित रास्वपाका सबै मन्त्रीहरू महाधिवेशनका लागि चितवनमा छन् । अधिकांश मन्त्री पार्टी नेतृत्वमा दाबेदार समेत रहेकाले रास्वपाको महाधिवेशनभर सिंहदरबारको कमाण्ड विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री पुनले सम्हाल्ने भएका छन् । सोमबार सिंहदरबारमा मन्त्री पुन मात्रै पुगेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्