नेभिगेशन
राजनीति

‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई सदस्यका रूपमा नचिन्ने बताएका छन् । झापामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको क्रियाशील अद्यावधिक गर्नुको विकल्प नभएको बताए । 
पार्टीले क्रियाशील सदस्यहरूको विवरण डिजिटल बनाएको बताउँदै उनले सिस्टमले नै अब अद्यावधिक नगर्नेलाई पार्टी सदस्यका रूपमा नचिन्ने बताएका हुन् । विशेष महाधिवेशनबाट नेतृत्वमा आएको थापा नेतृत्वको समितिले क्रियाशील अद्यावधिक खुलाएको थियो । त्यस क्रममा विशेष महाधिवेशनमा सहभागी नभएको शेरबहादुर देउवा र शेखर कोइराला समूहका शीर्ष नेताहरुसहितका नेता कार्यकर्ताले क्रियाशील अद्यावधिक गराएका छैनन् । 
‘तपाईंहरूमध्ये कसैले क्रियाशील अद्यावधिक गर्नुभएको छैन भने मलाई क्षमा गर्नुहोला । अद्यावधिक नभएको कोही पनि साथीलाई कांग्रेसले सम्मान गर्छ, माया गर्छ तर पार्टी सदस्यका रूपमा चिन्दैन,’ सभापति थापाले भने,‘अब मैले के गर्ने ? मैले व्यक्तिगत रूपमा चिन्छु, जय नेपाल भन्छु तर अब सिस्टमले नै चिन्दैन, भोट हाल्ने बेला नाम वडामा आउँदैन ।’ 
त्यसैले अद्यावधिक नभएका सदस्यको नाम वडा अधिवेशनदेखि माथिल्लो तहका निर्वाचन प्रक्रियामा समावेश नहुने पनि उनले बताए । 
उनले पार्टीको प्रतिष्ठालाई केन्द्रमा राखेर पार्टीलाई मिलाएर लैजाने तर भागबन्डा नहुने बताए । दसौं लाख मानिस कांग्रेसलाई मत हाल्दै आएकाले उनीहरुले भरोसा गर्ने पार्टी कांग्रेसलाई बनाउने भन्दै थापाले भने, ‘साथ दिनुस् न, एक वर्षभित्र भरोसायोग्य पार्टी बनाउँछौं । घरघरमा जानुपर्छ, हामीहामी बसेर हुँदैन ।’
त्यस्तै, थापाले संस्थापनइतर पक्षले १४ औं महाधिवेशनबाट आएको र विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई मर्ज गर्ने कुरा विधानविपरीत हुने र त्यो काम आफूले गर्न नसक्ने पनि प्रष्ट पारे । १५ औं महाधिवेशन निष्पक्ष र पारदर्शी बनाउन सबै पक्षलाई समेटेर जान आफूहरू तयार रहेको उनले बताए । 
‘१४ औं महाधिवेशनका सबैलाई ल्याएर यहाँ मिसाउनुपर्छ भनेर नेताहरूले भन्नुहुन्छ भने क्षमा गर्नुहोला, त्यो म गर्न सक्दिनँ, मैले त्यो काम गरेँ भने मैले विधान मिचेको हुन्छ,’ सभापति थापाले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्