नेभिगेशन
राजनीति

पौडेलको गिरफ्तारी गैरकानुनी र प्रतिशोधपूर्णः एमाले

काठमाडौं । एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई सरकारले गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढंगले पक्राउ गरेको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले पौडेल पक्राउको भत्र्सना गरेको छ । 
एमाले प्रमुख सचेतक ऐन महरले पौडेललाई पक्राउ गर्नु कानुनी राज्य र विधिको शासनको बर्खिलापमा रहेकाले अविलम्ब बिनासर्त रिहाइ गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको बताए । फरक राजनीतिक विचार राख्ने पार्टीका नेता कार्यकर्ताहरूलाई शृंखलाबद्ध र योजनाबद्ध तरिकाले सरकारले प्रतिशोध साँधेको उनको आरोप छ । 
सरकारको यस्तै रवैया जारी रहे त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवार स्वयं सरकार नै हुने एमालेले चेतावनी दिएको छ । बैठकले सशक्त, रचनात्मक र एकदम जिम्मेवार प्रतिपक्षीको रूपमा सदनमा भूमिका खेल्ने र त्यसका लागि पार्टीसँग सहकार्य र समन्वय गर्ने प्रस्ताव पारित गरेको छ भने सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा हिँडिराखेकाले यसका विरुद्ध सदनबाट संघर्ष गर्ने निर्णय समेत गरेको प्रमुख सचेतक महरले जानकारी दिए । 
बैठकले चिया निर्यातको समस्या समाधान गर्न, पेट्रोलियम पदार्थहरूको मूल्यवृद्धिका कारण उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ भने प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि राज्यका निकायहरूलाई तयारी अवस्थामा रहन र सहज रूपमा मलको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको प्रमुख सचेतक महरले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्