नेभिगेशन
राजनीति

बालेन सरकारका ८ मन्त्री रास्वपा केन्द्रीय समितिमा निर्वाचित हुँदा श्रममन्त्री यादव पराजित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारका आठ जना मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा निर्वाचित भएका छन्। श्रममन्त्री रामजी यादव भने केन्द्रीय सदस्यको निर्वाचनमा पराजित भएका छन्।
रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय सदस्य निर्वाचनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानूनमन्त्री सोविता गौतम र परराष्ट्रमन्त्री शिशिर खनालले सर्वाधिक मत प्राप्त गर्दै विजयी भएका छन्। उनीहरू महाधिवेशनमा सबैभन्दा बढी मत ल्याउने शीर्ष तीन नेतासमेत बनेका छन्।
केन्द्रीय सदस्यमा निर्वाचित हुने अन्य मन्त्रीहरूमा बिराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, सीता वादी, निशा मेहता र गीता चौधरी रहेका छन्।
यता, सरकारका अन्य छ मन्त्रीले भने केन्द्रीय सदस्य निर्वाचनमा उम्मेदवारी दिएका थिएनन्। प्रधानमन्त्री बालेन्द्र शाह भने पार्टीको वरिष्ठ नेता पदमा निर्विरोध चयन भएका छन्।
गृहमन्त्री सुधन गुरुङ, पर्यटनमन्त्री खडकराज पौडेल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल र उद्योगमन्त्री गौरीकुमारी यादवले चुनावी प्रतिस्पर्धामा भाग लिएनन्। उनीहरू मनोनित केन्द्रीय सदस्य बन्न सक्ने सम्भावना रहेको बताइएको छ।
श्रममन्त्री रामजी यादव खुला केन्द्रीय सदस्य पदमा उम्मेदवार बने पनि ८६९ मत प्राप्त गर्दै पराजित भए। केन्द्रीय सदस्यमा विजयी भएका अन्य मन्त्रीहरूले १ हजार ५ सयभन्दा बढी मत प्राप्त गर्दा यादवले अपेक्षाकृत कम मत ल्याएका हुन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्