काठमाडौं । विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन् । सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढेका स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक हिरादेवी निरौलाले पाँच वर्षमा क्यान्सरको उपचारबापत सहुलियत लिने बिरामी दोब्बरले बढेका जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा १५ हजार १८७ क्यान्सरका बिरामी रहेकामा आर्थिक वर्ष २०८१÷८२ मा २८ हजार ६७८ जना पुगेका छन् । उनले क्यान्सरको जनचेतना कमीले क्यान्सर रोग लाग्ने गरेको बताए । ‘क्यान्सरको जनचेतनाको कमीले क्यान्सर रोग लाग्ने गरेको पाइएको छ,’ उनले भने, ‘सरकार नागरिक समाज सबैले क्यान्सर रोगबाट बचाउन जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।’
यसैगरी, २०७८÷७९ मा १९ हजार ३१, २०७९÷८० मा १६ हजार ६९६ र २०८०÷८१ मा २२ हजार १५३ जना क्यान्सरका बिरामीले महाशाखाबाट उपचार खर्च लिएका महाशाखाका निर्देशक निरौलाले जानकारी दिए । महाशाखाले विपन्न नागरिक औषधि उपचार कोषबाट क्यान्सर पीडितका लागि रु एक लाखसम्मको औषधि उपचारको व्यवस्था गर्दै आइरहेको छ ।
यस्तै, प्रदेश सरकारले पनि थप रु एक लाखसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ । शरीरको कोष तथा कोषिकाको समूहको अस्वाभिक वृद्धि नै क्यान्सर रोग हो । यसलाई एक प्रकारको गिर्खा वा ट्युमर पनि भनिन्छ । नेपालमा देखिएका मुख्य क्यान्सरमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सर प्रमुख रहेका महाशाखाका निर्देशक निरौलाले जानकारी दिए । उहाँका अनुसार पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले अत्यधिक मद्यपान र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकिरणको प्रभाव, जीवाणुको कारण, वंशाणुगत कारण जस्ता मुख्य कारणले क्यान्सर निम्त्याउने बताए ।
‘भात, दाल, तरकारी, अचार नखाएर हामी बढीजसो फास्टफुड, जंकफुड, धुम्रपान, मद्यपान, पोलेका, सडेगलेका तथा बासी खानेकुरा खाँदा र व्यायाम नगर्दा धेरै नै क्यान्सर हुने जोखिम हुन्छ,’ उनले भने, ‘मोटोपनले गर्दा क्यान्सर हुने जोखिम दोस्रो कारक हो ।’ उनले खानपिन, आराम, व्यायाम, धुम्रपान, मद्यपान र मोटोपनलाई रोक्न सके क्यान्सरलाई कम गर्न सकिने बताए । नेपालमा सबभन्दा बढी फोक्सो र त्यसपछि महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रहेको छ । त्यसपछि स्तन क्यान्सर, पेटको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर र रगतको क्यान्सर पर्ने गर्दछन् ।
सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप किशोरीलाई निःशुल्क लगाउँदै आएको छ । सरकारकै तहबाट क्यान्सर रोग उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गरेको छ ।