नेभिगेशन
राजनीति

चार कम्युनिस्ट पूर्वप्रधानमन्त्री एउटै मञ्चमा

फेरि वाम एकताको संकेत

काठमाडौं । पछिल्लो समय तिक्त सम्बन्ध रहेका एमाले र नेकपाका शीर्ष नेताहरु आइतबार एउटै मञ्चमा देखिए । कम्युनिष्ट पार्टीका चार जना पूर्वप्रधानमन्त्री एउटै मञ्चमा आउने माहोल भने मदन भण्डारी फाउन्डेसनले जुराएको हो । भण्डारीको ७५औं जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल तथा सहसंयोजक माधवकुमार नेपाल एकै मञ्चमा देखिए । 
पछिल्लो निर्वाचनपछि एमाले र नेकपा दुवै दल रक्षात्मक बनिरहेका बेला एउटै मञ्चमा उनीहरु उभिँदा फेरि कम्युनिष्ट दलहरुको एकताको नयाँ बहस सुरु भएको छ । चारै नेताले आ–आफ्नो राजनीतिक धारणा प्रस्तुत गरे पनि उनीहरूको साझा सन्देश कम्युनिस्ट शक्तिबीच सहकार्य, कार्यगत एकता र वर्तमान राजनीतिक चुनौतीविरुद्ध संयुक्त रूपमा अघि बढ्नुपर्नेमा केन्द्रित देखिन्थ्यो । पूर्वराष्ट्रपति, मदन पत्नी विद्या भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो । अहिले भण्डारीको नेतृत्वमा एमाले र नेकपा एकता गर्न सकिने भन्दै त्यसका लागि एउटा समूहले गृहकार्य समेत गरिररहेको छ । भण्डारीप्रति सकारात्मक नदेखिएका एमाले अध्यक्ष ओली पनि पछिल्लो समय भण्डारीप्रति लचक देखिएका छन् । पार्टी एकताको चाहना नेताहरुले आ–आफ्नै शैलीमा व्यक्त गरे । 
सभागृहमा एमाले र नेकपाका नेता–कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
एकताको चाहना, कार्यगत सहकार्यमा जोड
पूर्वराष्ट्रपति भण्डारीले कार्यक्रममा लिखित सम्बोधन गर्दै पछिल्लो निर्वाचन परिणामबारे चर्चा गरिन् । ‘हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले कम्युनिस्ट शक्तिहरूका सामु आफ्ना कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई अझ प्रभावकारी बनाउने अवसर प्रदान गरेको छ,’ भण्डारीले भनिन्, ‘यस सन्देशलाई हामीले गम्भीरतापूर्वक ग्रहण गर्न आवश्यक छ ।’ तर कम्युनिस्ट आन्दोलन सकिएको अर्थमा चुनावी नतिजालाई नबुझ्न उनको आग्रह छ । कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निकर्ष निकाल्नु उचित नहुने उनको भनाइ छ । 
नेकपाका संयोजक पूर्वप्रधानमन्त्री प्रचण्ड कार्यक्रममा निक्कै उत्साही देखिए । उनले फाउण्डेसनको  कार्यक्रमलाई २०७४ सालको चुनावी सहकार्य घोषणा सँगै तुलना गर्दै भने,‘०७४ सालको निर्वाचन आउँदै थियो, हामीले यही हलमा कार्यगत एकता, निर्वाचनमा सहकार्यको घोषणा गरेका थियौं,’ उनले थप अगाडि भने, ‘त्यतिबेलाका प्रमुख दुई वटा पार्टीहरूका बीचमा र त्यहीबाट पार्टी एकतामा जाने उद्घोष पनि गरेका थियौं । आज फेरि हामी तिनै दुई वटा पार्टीका नेताहरू मात्रै छौं । हल यही नै हो ।’ प्रचण्डले पार्टी एकताको पुरानो सन्दर्भ चर्चा गर्दा हलमा रहेका सहभागिहरुले गड्गडाहट ताली बजाएका थिए । 
वामपन्थी र देशभक्तहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका उनले ढिलो नगरी राष्ट्रिय स्वाधीनताको पक्षमा, निरंकुशता ,फासीवाद र वैदेशिक दबाब हस्तक्षेपका विरुद्ध छिटो भन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्ने बताए । 
‘केही साथीहरूले पार्टी एकता गरिहाल्ने भन्यो बुझ्नै सकिएन भनेर पनि कुरा गर्छन् मलाई अनौठो लाग्छ,’ प्रचण्डले भने, ‘मैले कही पनि भोलि नै पार्टी एकता गरौं, बेलुका नै पार्टी एकता गरौं भनेको पनि छैन । सहकार्य चाहिँ आजै सकिन्छ भने आजै गरौं । भरे सकिन्छ भने भरे गरौं, भोलि सकिन्छ भने भोलि नै गरौं ।’
त्यस्तै, कार्यक्रममा एमाले अध्यक्ष ओलीले वर्तमान अवस्थामा समाजवाद निर्माणको बहसभन्दा प्रतिगमनलाई पराजित गर्नु प्राथमिक दायित्व भएको उल्लेख गर्दै सबै लोकतान्त्रिक र वामपन्थी शक्तिहरूबीच कार्यगत एकताको आवश्यकतमा जोड दिए । उनले विश्वभर अस्थिरतावाद र चरित्रहत्याको राजनीति बढिरहेको भन्दै लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि साझा प्रयास आवश्यक रहेको बताए । 
नेकपाका सहसंयोजक नेपालले पनि कम्युनिस्ट एकता हतारमा सम्भव नहुने भए पनि मिल्न सकिने विषयमा सहकार्य गर्दै भावनात्मक, वैचारिक र संगठनात्मक आधार बलियो बनाएर अघि बढ्नुपर्ने बताए । उनले दिगो र सिद्धान्तनिष्ठ एकतामात्रै सफल हुने धारणा व्यक्त गरे ।
पूर्वप्रधामन्त्री झलनाथ खनालले भने वाम एकताको पक्षमा लामै व्याख्या गरे । ‘एउटा देशमा एउटा कम्युनिस्ट हुन्छ, हजार हुँदैन, अब हामीले कम्युनिस्ट आन्दोलनलाई एकीकरण गर्ने संकल्प गरौं । त्यस अवधिसम्म कार्यगत एकता गरौं,’ उनले भने । 
ओली, प्रचण्ड , नेपाल र खनाल चारै नेताको अभिव्यक्तिमा तत्काल पार्टी एकीकरणको औपचारिक घोषणामा हतारो नदेखिएपनि तत्काल कार्यगत सहकार्य गर्नेमा भने सबै सकारात्मक सुनिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्