नेभिगेशन
राजनीति

शशांक निवासमा कांग्रेसको दही–चिउरा, भने, 'नफुटौँ'

काठमाडौं । कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले पार्टीका नेता–कार्यकर्तालाई  एकताबद्ध हुन आग्रह गरेका छन् । धान दिवसका अवसर पारेर सोमबार महाराजगञ्जस्थित आफ्नो निवासमा दही–चिउरा खाने कार्यक्रममा भेला गरेका उनले विग्रहको अवस्थाप्रति चिन्ता व्यक्त गरे । 
पार्टी विभक्त अवस्था देखिएकाले मुलुकको हितका लागि कांग्रेसलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको उनले बताए । कोइरालाले आफू सधंै सिंगो कांग्रेसको पक्षमा रहेको भन्दै एकताका लागि जस्तोसुकै जिम्मेवारी लिन र त्याग गर्न पनि तयार रहेको बताए । 
उनले कृषि उत्पादनमा वृद्धि, किसानको सम्मान र समृद्ध नेपालको निर्माणमा सबैको साझा प्रयास सफल होस् भन्ने कामना गरे ।  किसानको हितमा काम गर्न सकेमात्र नेपालको समृद्धि सम्भव हुने भनाइ राखे । कोइराला निवास महाराजगञ्जमा भएको उक्त भेलामा कार्यकर्ता उल्लेख्य संख्यामा उपस्थित थिए । कार्यक्रममा पार्टीका महामन्त्री गुरुराज घिमिरे, संसदीय दलका नेता भीष्मराज आङदम्बे पनि पुगेका थिए । संस्थापनइतर समूहका नेता–कार्यकर्ताको बाक्लो उपस्थिति थियो । पूर्वमहामन्त्री कृष्ण सिटौला, पूर्वउपसभापति प्रकाशमान सिंह, नेताहरू एनपी साउद, चन्द्र भण्डारी, डा. मीनेन्द्र रिजाल, दिलेन्द्र बडु, शंकर भण्डारी, मोहन बस्नेत, दीपक खड्का, दीपक गिरी, रमेश लेखक, रामहरि खतिवडा, विभिन्न जिल्ला  सभापतिहरू, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूको उपस्थिति थियो । इतरसमूहका नेता शेखर कोइराला विराटनगरमा रहेको र पूर्णबहादुर खड्का भने शोकमा रहेकाले उपस्थित नभएको शशांकको सचिवालयले जनाएको छ ।
संस्थापनपक्षसँग दूरी बढिरहेका बेला इतरपक्षको असार १५ कै बहानामा भएको बाक्लो जमघटलाई कांग्रेसवृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्