नेभिगेशन
अर्थतन्त्र

ट्रम्पको सम्पत्ति एक अर्ब बढी बढ्यो

न्युयोर्क, (एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष आफ्ना क्रिप्टोकरेन्सीसम्बन्धी व्यवसायबाट करिब १.२ अर्ब अमेरिकी डलर आम्दानी गरेको विवरण सार्वजनिक भएको छ । अमेरिकी अफिस अफ गभर्नमेन्ट एथिक्समा मंगलबार बुझाइएको आर्थिक विवरणअनुसार ट्रम्पका नयाँ क्रिप्टो व्यवसायले उनको परम्परागत रियल इस्टेट व्यवसायलाई समेत आम्दानीमा उछिनेका छन् । यद्यपि उनले बिक्री गरेका धेरैजसो क्रिप्टो टोकन र ‘मिम क्वाइन’को मूल्य अहिले भने उल्लेख्य रूपमा घटेको छ ।
विवरणअनुसार ट्रम्पको वल्र्ड लिबर्टी फाइनान्सियलले ‘गभर्नेन्स टोकन’ बिक्रीबाट ५० करोड डलरभन्दा बढी आम्दानी गरेको छ । त्यस्तै सीआईसी डिजिटल एलएलसीले ट्रम्पको तस्वीर अंकित ‘मिम क्वाइन’ बिक्रीबाट ६० करोड डलरभन्दा बढी राजस्व कमाएको देखिएको छ । तर यी दुवै डिजिटल सम्पत्तिको मूल्य बिक्रीपछि तीव्र रूपमा घटेको छ । वल्र्ड लिबर्टीका टोकनको मूल्य कारोबार सुरु भएयता करिब ८० प्रतिशत घटेको छ भने ट्रम्पको ‘मिम क्वाइन’ ७४ डलरभन्दा माथिबाट झरेर करिब १.६८ डलरमा पुगेको छ ।
क्रिप्टो बाहेक ट्रम्पले आफ्नै ब्रान्डका बाइबल, जुत्ता, घडीलगायत सामग्री बिक्रीबाट पनि लाखौं डलर आम्दानी गरेका छन् । ट्रम्प ब्रान्डको घडी बिक्रीबाट मात्रै ४.७ मिलियन डलर प्राप्त भएको विवरणमा उल्लेख छ ।
९२७ पृष्ठ लामो विवरणले ट्रम्पको सम्पत्ति तीव्र रूपमा बढेको देखाएको छ । फोब्र्सका अनुसार उनको कुल सम्पत्ति २०२४ मा २.३ अर्ब डलरबाट बढेर अहिले करिब ६ अर्ब डलर पुगेको अनुमान गरिएको छ ।
रियल इस्टेट व्यवसायबाट पनि ट्रम्पले उल्लेखनीय आम्दानी गरेका छन् । संयुक्त अरब इमिरेट्सको एक परियोजनाबाट १०.४ मिलियन डलर, साउदी अरेबियाबाट ९० लाख डलर तथा रोमानिया र कतारका परियोजनाबाट ५०–५० लाख डलर आम्दानी भएको विवरणमा उल्लेख छ । फ्लोरिडास्थित मारा–लागो रिसोर्टबाट आएको राजस्व पनि अघिल्लो वर्षको तुलनामा करिब ५० प्रतिशत बढेर ७ करोड ७० लाख डलर पुगेको छ । यद्यपि विवरणमा नाफाभन्दा राजस्व मात्र उल्लेख भएकाले वास्तविक कमाइ कति भयो भन्ने स्पष्ट छैन ।
ट्रम्पले राष्ट्रपति बनेपछि अघिल्लो प्रशासनको कडा क्रिप्टो नियमनलाई खुकुलो बनाउँदै उद्योगमैत्री नीति अघि बढाएका थिए । आलोचकहरूले भने ट्रम्पका व्यापारिक गतिविधि र सरकारी नीतिबीच स्वार्थ बाझिन सक्ने प्रश्न उठाएका छन् । ट्रम्पले आफ्नो व्यवसाय छोराहरूले व्यवस्थापन गर्ने ट्रस्टमा राखिएको र आफू निर्णय प्रक्रियामा संलग्न नरहेको बताउँदै आएका छन् ।
ह्वाइट हाउसकी प्रवक्ता आना केलीले ट्रम्प वा उनको परिवारले कहिल्यै स्वार्थ बाझिने काम नगरेको र राष्ट्रपतिका सबै निर्णय अमेरिकी जनताको हितका लागि भएको दाबी गरेकी छन् । तर विश्लेषकहरूले विशेष गरी विदेशमा भएका व्यापारिक सम्झौता र अमेरिकी विदेश नीतिबीच सम्बन्धबारे प्रश्न उठाइरहेका छन् । केही देशहरूले ट्रम्प परिवारसँग व्यापारिक सम्झौता गरेपछि अमेरिकाबाट महसुलमा राहत, प्रविधिमा पहुँच वा रक्षा सम्झौताजस्ता लाभ प्राप्त गरेको तथ्यले पनि यस विषयमा बहस बढाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्